Nepal Times
Nepal Times
3
Shares

शिक्षिकाको कुटाइबाट ६ वर्षीय बालकको आँखा फुट्यो

शिक्षिकाको कुटाइबाट ६ वर्षीय बालकको आँखा फुट्यो

२८ पुष , विराटनगर।

गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात्परब्रह्मा तस्मैव श्री गुरुवेनमः । हामी गुरुकै माध्यमबाट ज्ञानको प्रथम ज्योति पाउँछौँ । गुरु बाँच्ने आधार हो, जब हामी जीवन सङ्घर्षमा थाकेर त्यसदेखि विमुख हुन खोज्छौँ, तब गुरुस्मरणले हामीलाई हौसला दिन थाल्छ ।

’गुरु मातापिता, गुरु बन्धु सखा….’ अर्थात् हाम्रो जीवनमा गुरुको स्थान मातापिता र साथीको जस्तै हुन्छ । आमाको जस्तो ममता, बाबुको जस्तो कर्तव्य तथा साथीको जस्तो प्रेम गुरुमा हुने हुनाले नै गुरुको स्थान उच्च रहेको हो ।

यस्तो उच्च स्थानमा रहेकाबाट कुनै भूल हुने, गलत क्रियाकलाप हुने, हिंसा हुने हामीले कल्पना पनि गर्न सक्दैनौं । तर कहिलेकाँही गुरुका भेषमा राक्षस प्रवृत्ति पनि भेटिने गरेको छ । ति राक्षस प्रवृत्तिले कहिले आफ्ना विद्यार्थीमाथि नै बलात्कार, दूव्र्यवाहार गर्ने गरेका छन् त कहिले मरणासन्न हुने, अंगभंग, घाइते हुने गरी मारपिट गर्ने गरेका छन् ।

पछिल्लो पटक एक अवोध छात्र, मात्रै युकेजीमा पढ्ने एक साना बालकलाई उनका गुरुआमाले आँखा फुटाउने गरी दण्ड दिएको खबरले सबैलाई स्तब्ध बनाएको छ । यो घटना हो, पश्चिम नवलपरासीको ।

जहाँ शिक्षिकाको कुटाइबाट एक जना विद्यार्थीको आँखा फुटेको छ । प्रतापपुर गाउँपालिका– १ स्थित एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा उक्त विद्यालयको युकेजीमा अध्ययनरत ६ वर्षीय प्रशान्त चौधरीको आँखा फुटेको हो ।

यो घटना गत मंसिर १८ गतेको भए पनि प्रहरीमा ढिलोमात्रै उजुरी परेपछि सार्वजनिक भएको हो । पुस १९ गते मात्र प्रहरीले शिक्षिकाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको थियो । अहिले ती शिक्षिका फरार रहेको प्रहरीले जनाएको छ ।

एक महिनाभन्दा पुरानो यो प्रकरणमा दुई पक्षबीच दुई पटकसम्म छलफल भइसकेको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । आफूहरूले बालकको उपचारलाई पहिलो प्राथमिकता दिएको उनको भनाइ छ ।

’यो घटनामा हामीले सबभन्दा पहिले उपचार गराउनुप¥यो भनेर परासी, भैरहवा हुँदै काठमाडौं पठायौँ । उहाँहरू उपचारको क्रममै हुनुहुन्छ,’ गाउँपालिका अध्यक्ष यादवले भने, ’मेरो जानकारीमा दुईपटक उहाँहरू (विद्यालय र पीडित पक्ष) बीच छलफल भएको छ ।’

तर, सहमति हुन नसकेपछि प्रहरीकोमा जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएपछि प्रहरीले शिक्षिका चौधरीविरुद्ध पक्राउ पुर्जी पनि जारी गरिसकेको छ । अहिले उनी प्रहरीको खोजीमा रहेकी छन् ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मंसिर १८ गते कक्षामा दुई विद्यार्थी बीचको झगडा छुट्याउने क्रममा शिक्षिका चौधरीले प्लास्टिकको लठ्ठीले हानेकी थिइन् । त्यहीक्रममा बालक प्रशान्तको आँखामा चोट लागेको विद्यालयका प्रिन्सिपल सुजित कुमार गुप्ता बताउँछन् ।

त्यसपछि विद्यालयले नै प्रशान्तलाई नजिकैको गोपीगञ्ज बजारमा उपचारका लागि लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि अभिभावकहरुले परासी, रणअम्बिका आँखा अस्पताल भैरहवा हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पताल पु¥याए ।

तर चिकित्सकले बालकको नानी फुटेकाले आँखा देख्न नसक्ने बताएको प्रशान्तका बुवा नरेन्द्रप्रसाद चौधरी बताउँछन् । अभिभावकका अनुसार वायाँ आँखाको चोटले दायाँ आँखा पनि राम्रोसँग खोल्न र हेर्न मिल्दैन ।

चिकित्सकले एक वर्षसम्म उपचार गर्नुपर्ने भनेकाले बेलाबेलामा अस्पतालमा फलोअपमा आउन भनेको बुवा नरेन्द्र बताउँछन् । काठमाडौंमा बालकको उपचार गराएर फर्किएपछि बाबु नरेन्द्रले पुस १६ गते उपचारका कागजातसहित इलाका प्रहरी कार्यालय बर्दघाटमा शिक्षिका सन्जुविरुद्ध उजुरी दिएका छन् ।

त्यसलगत्तै अनुसन्धान प्रक्रिया अघि बढाएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले बताए । डिएसपी बोहराले भने, ‘अभिभावकहरु विद्यालयसँगै छलफल गर्दै, उपचार गराउँदै गर्नु भएको रहेछ, त्यसैले प्रहरीमा ढिलोमात्रै उजुरी आयो ।

त्यसपछि अदालतमा मुद्दा दर्ता गरी कानुन बमोजिम अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’ यद्यपि अहिलेसम्म प्रहरीले ती शिक्षिकालाई नियन्त्रणमा लिएको छैन । ‘ती शिक्षिकाको घर गाउँमा खोजतलास गर्दा फेला पार्न सकेका छैनौं । फेला पार्नासाथ नियन्त्रणमा लिन्छौं,’ प्रहरी प्रवक्ता बोहराले भनेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.