Nepal Times
Nepal Times
3
Shares

‘कृत्रिम सूर्य’मा चीनले पायो नयाँ सफलता, रेकर्ड ब्रेक प्रकाश प्रवाह

‘कृत्रिम सूर्य’मा चीनले पायो नयाँ सफलता, रेकर्ड ब्रेक प्रकाश प्रवाह

११ माघ , काठमाण्डौ।

विश्व भूराजनीति, आधुनिक शस्त्रअस्त्रदेखि विश्वकै शक्ति सम्पन्न बन्ने होडमा दौडिरहेको छिमेकी राष्ट्र चीनले लामो समयदेखि कृत्रिम सूर्य निर्माण गरिरहेको छ । सूर्यबाट निष्कने प्रकाश भन्दा अधिक प्रकाश निकाल्ने अभियानमा रहेका चिनियाँ वैज्ञानिकले पछिल्लो समय ‘कृत्रिम सूर्य’ परियोजनामा उल्लेखनीय अर्काे सफलता हासिल गरेका छन् ।

समाचार संस्था सिन्ह्वाका अनुसार चीनको अनहुई प्रदेशको हेफेई केन्द्रमा जनवरी २०, २०२५मा गरिएको परीक्षणले ‘फ्युजन पावर जेनेरेसन’लाई १०६६ सेकेन्ड दिगो उचाइमा पु¥याएको द एक्सपेरिमेन्टल एडभान्स सुपरकन्डक्टिङ टोकामक (इष्ट) को दाबी छ ।

१००० सेकेन्डको प्लाज्मा प्रवाह परीक्षणको लक्ष्य भएपनि कृत्रिम सूर्यले १०६६ सेकेन्ड प्रवाह गरेको थियो । यो सफलता पछि उनीहरूले यसअघिको आफ्नै ४०३ सेकेन्डको रेकर्ड ब्रेक गरेका हुन् ।

‘इष्ट’ चाइनिज एकेडमी अफ साइन्स अफ प्लाज्मा फिजिक्स (सिएएसआईपीपी) को प्रभाग हो । यसले ‘म्यागनेटिक फ्युजन् इनर्जी’ को अनुसन्धान गर्दै आएको छ । ‘इष्ट’ ले सन् २००६ बाट यस सम्बन्धी अध्ययन अनुसन्धान सुरु गरेको थियो ।

सन् २०२३ मा ४०३ सेकेन्डको परीक्षण गरिएको थियो । त्यसको तुलनामा यसपटकको परीक्षण करिब ३ गुणा ठूलो हो । चीनको यो परियोजनालाई सामान्यतः ‘कृत्रिम सूर्य’ बनाउने योजना भन्ने गरिएको छ ।

यो प्रयत्न सफल हुँदा सौर्य प्रणाली बाहिरबाटै अनन्त हरित तथा स्वच्छ उर्जा स्रोत प्राप्त हुने छ । पछिल्लो परीक्षणमा कृत्रिम सूर्यले १० करोड डिग्री सेल्सियस तापक्रम उत्पादन गरेको थियो । जबकी सूर्य केन्द्रको तापक्रम क्षमता १ करोड ५० लाख डिग्री सेल्सियस मानिन्छ ।

यसका आधारमा परीक्षण गरिएको कृत्रिम सूर्यको तापक्रम झण्डै ६ गुणा बढी हो । वैज्ञानिकहरूले यस क्षेत्रमा विगत ७० वर्षदेखि अध्ययन अनुसन्धान गर्दै आएका थिए । तर, यो स्तरको सफलता पहिलोपटक प्राप्त भएको हो ।

चीन अन्तर्राष्ट्रिय थर्मोन्युक्लियर एक्सिरिमेन्टल रियाक्टर (आईटिइआर) कार्यक्रमको सातौँ सदस्य राष्ट्र हो । ७ आणविक उर्जा शक्ति राष्ट्रले सन् २००६ मा यस्तो सम्झौता गरेका थिए । आईटिइआरको सबैभन्दा ठूलो परीक्षण केन्द्र दक्षिणी फ्रान्समा निर्माणाधीन छ ।

चुम्बकीय शक्तिलाई प्लाज्मा प्रवाहमा रूपान्तरण गर्ने यन्त्रलाई ‘टोकामक’ भनिन्छ । रुसी वैज्ञानिक ओलेग लेभेरेन्टिभले सन् १९५० को एक कार्यपत्रमा यस सम्बन्धी अवधारणा अघि सारेका थिए ।

चर्चित रुसी वैज्ञानिक आन्द्रेई साखारोभले यसको सैद्धान्तिक अवधारणा परिमार्जन गरेका थिए । सन् १९५४ मा रुसी वैज्ञानिकहरूले पहिलोपटक ‘टोकामक’ बनाएका थिए । चीनका अतिरिक्त रुस, अमेरिका, भारत, दक्षिण कोरिया, जापान र युरोपेली सङ्घको युरोपियन एटोमिक इनर्जी कम्युनिटी ‘आईटिइआर’ का सदस्य छन् ।

यो परियोजनाको मुख्य उद्देश्य भविष्यका लागि दिगो स्वच्छ उर्जा स्रोतको खोजी गर्नु हो ।यस्तै चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट ‘नयाँ उपग्रह समूह’ अन्तरिक्षमा पठाएको छ ।

आठ उपग्रहहरूको यो समूहले ‘स्पेससेल कन्स्टेलेसन’ गठन गर्नेछ । स्पेससेल कन्स्टेलेसन अन्तरिक्षयानको एउटा समूह हो, जसले सूर्यको प्रकाशको शक्ति प्रयोग गरेर अन्तरिक्षमा यात्रा गर्न सहयोग गर्दछ ।

साङ्घाई एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीद्वारा विकसित रकेटलाई अक्सिजन र केरोसिन प्रोपेलेन्टको साथ इन्धन गरिएको थियो, जुन प्रदूषणमुक्त छ । रकेट निर्माताका अनुसार सन् २०२५ मा १० भन्दाबढी अन्तरिक्ष प्रक्षेपण कार्यक्रम हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.