२० माघ, काठमाण्डौ ।
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंलाई बिदा गरेको छ । क्यानले देसाईको सम्झौता थप नगर्ने निर्णय गरेको छ । एक विज्ञप्ती जारी गर्दै क्यानले प्रशिक्षक देसाईलाई धन्यवाद दिदै बिदाइ गरेको हो ।
उनको प्रशिक्षणमा नेपाली पुरुष टोलीले गरेको उत्कृष्ट प्रदर्शन र टिमको सफलतासँग जोडिएका प्रशिक्षणमा देसाईलाई क्यानले धन्यवाद दिएको छ । देसाईलाई दुई वर्ष कार्यकाल रहने गरि नियुक्त गरिएकोमा सम्झौता सकिएको र क्यानले सो सम्झौता नवीकरण नगर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
मोन्टीको प्रशिक्षणमा नेपालले ओडीआइ मान्यता जोगाउनुका साथै विश्वकप छनोट, एसिया कप र दोस्रो पटक टी–२० विश्वकप खेलेको थियो । क्यानले उनलाई सन् २०२३ देखि टोलीको मुख्य प्रशिक्षक रहने गरी नियुक्त गरेको थियो ।
त्यतिखेर क्यानले उनीसँग दुई वर्षको कार्यकाल रहने गरी सम्झौता गरेको थियो । तर, उनी त्यो सम्झौता लम्बाएर चार वर्षमा पु¥याउन चाहन्थे । यद्यपि, ओडिआई मान्यता गुम्ने खतरासँगै दोस्रोपल्ट एसिया कप छनोट र इमर्जिङ टिम्स एसिया कप खेल्ने अवसर गुमाएसँगै उनलाई क्यानले बिदा दिएको हो ।
क्यानले बिदाइ गरेपछि मोन्टीले भने यो आफ्नालागि विदाइ नभएको बताएका छन्। उनले भनेका छन्, प्रिय नेपाल , यो बिदाइ होइन, तर हृदय देखि धन्यवाद! १० जनवरी, २०२३ मा, मैले नेपाल क्रिकेट संघसँगको अवसरलाई अँगालेको छु।
यी दुई वर्ष अविस्मरणीय छन्, मनमोहक पलहरू र साझा कोशेढुङ्गाहरूले भरिएका छन्। टियु मैदानमा भएको एसिया कप छनोट, जहाँ फ्यानहरू रुखमा चढेर छाता लिएर उभिएका थिए र मुलपानीमा भएको विश्वकप छनोट, जहाँ विद्युतीय भीड थियो । यसले नेपालको जोश र लचिलोपनलाई परिभाषित गर्यो ।
उनले थप भनेका छन्, म क्यान व्यवस्थापन, चयनकर्ता, खेलाडी, प्रशिक्षक, अफिसियल, स्कोरर, ग्राउन्ड्सम्यान, क्यामेरामेन, कमेन्टेटर र मेरो कप्तान रोहित पौडेलको साथमा सानो भूमिका खेलेकोमा आभारी छु। प्रत्येक व्यक्तिले आ–आफ्नो तरिकाले योगदान गर्यो र हामीले निर्माण गरेको सौहार्दतालाई म गहिरो मूल्याङ्कन गर्छु।
उनले खेलाडीहरूका बारेमा भनेका छन्, तिमी लाखौको सपना बोक्छौ। मैदानमा रहनुहोस्, एक बल युद्ध मानसिकता अँगाल्नुहोस् र सीमाहरू धकेल्नुहोस्। सम्बन्ध, खुलापन, एकता र उत्तरदायित्वमा निर्मित ह्याप्पी ड्रेसिङ रुम दर्शन सधैं तपाइँको शक्ति हुनेछ।
यस्तै सहयोगी कर्मचारीहरूलाई मोन्टीले भनेका छन्, पर्दा पछाडिको तपाईंको अथक प्रयास अमूल्य छ । मेरा मागहरू हामीलाई उत्कृष्टतातर्फ धकेल्ने मात्र थिए । मेरो छेउमा उभिनु भएकोमा धन्यवाद।
यस्तै फ्यानहरूलाई पनि उनले सन्देश दिएका छन् । तपाईंको अटल समर्थन हाम्रो सबैभन्दा ठूलो शक्ति भएको छ । यस टोलीमा विश्वास राख्नुहोस् । यस्तै क्यान व्यवस्थापकका लागि उनले लेखेका छन्, नेतृत्व गर्ने अवसरको लागि धन्यवाद । जग तयार भयो ! एकजुट भएर नेपाललाई गौरवान्वित बनाउ ।
अन्त्यमा देसाईले नेपाली जनताका लागि भनेका छन्, नेपाल मेरो घरभन्दा टाढाको घर हो । यहाँ क्रिकेट एक खेल भन्दा बढी छ; यो एक भावना हो जसले यो राष्ट्रलाई एकताबद्ध गर्दछ ! उनको प्रशिक्षणमा नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जितेको थियो ।
योसँग नेपालले आगामी चार वर्षका लागि ओडिआई मान्यता जोगाएको थियो । उनकै प्रशिक्षणमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन् २०२३ मा आयोजना भएको एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो ।
यस्तै, गत वर्ष नेपालले उनकै प्रशिक्षणमा छनोट चरण पार गर्दै सन् २०१४ पछि पहिलोपल्ट आइसिसी टी–२० विश्वकपसमेत खेल्यो । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भएको विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
मोन्टीको प्रशिक्षणमा पछिल्लो समय नेपाली टोलीको प्रदर्शन खराब लयमा छ । नेपालले १२ खेल खेलेको छ । तीमध्ये आठ खेलमा पराजय बेहोरेको छ । दुईमा जित र दुई नतिजाविहीन छ ।आठ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल ६ अंक जोड्दै सातौं स्थानमा छ ।
यस्तै, नेपाली टोलीले टी–२० फम्र्याटमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । ओमानमा गत वर्ष भएको एसिसी प्रिमियर कपमा नेपाल युएईसँग ६ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो । तेस्रो स्थानका लागि भएको खेलमा पनि नेपाल हङकङसँग चार विकेटले पराजित भएको थियो ।