२८ माघ , काठमाण्डौ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । काठमाडौंमा आइतबारदेखि जारी महाधिवेशनमा आज नेतृत्व चयन हुन लागेको हो । नेसपाको अध्यक्षमा डा.बाबुराम भट्टराईसँगै नेत्रप्रसाद चापागाईंले उम्मेदवारी दिएका छन् ।
आज दिउँसो ३ बजेदेखि मतदान सुरु हुने जनाइएको छ । त्यस्तै उपाध्यक्ष खस आर्यमा जनकराज शाह र ईश्वर रिजालको उम्मेदवारी परेको छ । उता महिला उपाध्यक्षमा भने मानुषी यमि भट्टराईको मात्रै उम्मेदवारी परेको छ ।
आदिवासी जनजाति उपाध्यक्षका लागि भने रामबहादुर घले, टेकबहादुर बाठामगर, अनुप सिं सुवाल र दलबहादुर लिम्बुको उम्मेवारी परेको छ । दलित उपाध्यक्षमा भने दुर्गा सोबको एकल उम्मेदवारी परेको छ । त्यस्तै मधेशी थारु उपाध्यक्षका लागि उमेश शाह र चिनक कुर्मी मैदानमा उत्रिएका छन् भने घमान सिंह गुरुङ, सोनाम सिं स्याङ्तान र राजु नेपाल महसचिवका लागि मैदानमा उत्रिएका छन् ।
नेसपामा ११ सदस्यीय पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति हुनेछ । त्यसमध्ये ९० जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ९ जना भने मनोनीत हुनेछन् । निर्वाचन आयोगका प्रमुख रामकुमार पुरीका अनुसार ९९ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि साढे ३ सय भन्दा धेरैको उम्मेदवारी परेको छ ।
बाबुरामलाई चुनौती दिने चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनमा अध्यक्षसमेत भइसकेका नेता हुन् । पार्टीका संस्थापक सदस्य चापागाईं अन्नपूर्ण गाउँपालिका–६ कास्कीका हुन् । उनको प्रस्तावकमा गोरखा अजिरकोटका कृष्ण अधिकारी प्रस्तावक र कास्की–२७, पोखराका विशाल तिमिल्सिना समर्थक छन् ।
महाधिवेशनको उद्घाटन सत्रपछि आयोजित सचिवालय बैठकमा भट्टराई आफैंले नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्ने र आफू वैचारिक नेताको भूमिकामा बस्ने प्रस्ताव गरेका थिए । तर उनलाई अध्यक्ष नै रहन पार्टीका नेताहरुले सुझाव दिने गरेका छन् ।
त्यसैले भट्टराईले पनि अध्यक्षमा उम्मेदवारी दिएको उनी निकटका नेताले बताएका छन् । तर यता पार्टी अध्यक्षका लागि पूर्वविद्यार्थी नेता नेत्र चापागाईंले दाबेदारी प्रस्तत गरे । उनले डा भट्टराईलाई चुनौती दिनेगरी राजनीतिक प्रस्ताव पनि तयार गरेका छन् र भट्टराईका कमजोरीहरू औँल्याएका छन् ।
वैकल्पिक शक्ति पार्टी नबन्नुमा चापागाईंले डा भट्टराईलाई बढी जिम्मेवार मानेका छन् । उनी भट्टराईको खरो आलोचक देखिएका छन् । यता डा भट्टराईले १० वर्षे सशस्त्र विद्रोह गरेको दल नेकपा माओवादी ९ असोज २०७२ मा परित्याग गरेका थिए ।
३० जेठ २०७३ मा ठूलै तामझामसहित वैकल्पिक शक्तिका रूपमा नयाँ शक्ति स्थापना गरेका थिए । नयाँ शक्तिबाट गोरखा–२ मा २०७४ को प्रतिनिधिसभा चुनावमा कांग्रेससँग सहकार्य गरेर भट्टराई लडेर चुनाव जिते, उनका दलका अन्य उम्मेदवारहरूले चुनाव हारे ।
पछि उपेन्द्र यादव नेतृत्वको दलसँग एकता गर्दै अन्ततः तत्कालीन राजपासँग पनि एकता गरेर जसपा बनाए । त्यो पार्टीबाट पनि डा. भट्टराई अलग भए । त्यसपछि नेसपा गठन गरेका उनले पछिल्ला दिनमा नेसपा (नयाँ शक्ति) भन्दै आएका छन् ।