४ फागुन , एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लेस्टर सिटीलाई हराएको छ । आर्सनलले लेस्टर सिटीलाई २–० गोलले हराएको हो । उसका मिकेल मेरिनोले खेलको दोस्रो हाफमा दुई गोल गरे । तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलको २५ खेलमा ५३ अङ्क भएको छ ।
पराजित लेस्टर सिटी समान २५ खेलमा १७ अंकका साथ १९ औं स्थानमा छ । अर्को खेलमा म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई चार गोलले हरायो । उसका ओमर मार्मुसले ह्याट्रिक गोल गरे । त्यस्तै जेम्स मेकाटीले चौथो गोल थपे ।
जितसँगै सिटीले २५ खेलबाट ४४ अङ्क बनाएको छ । सिटी तालिकाको चौथो स्थानमा छ । पराजित न्युकासलको समान २५ खेलमा ४१ अङ्क छ । अरू खेलमा वेस्ट ह्याम ब्रेन्टफोर्डसँग १–०, साउथह्याम्पटन बर्नमाउथसँग ३–१, नटिङघम फरेस्ट फुलहमसँग २–१ र क्रिस्टल प्यालेस एभर्टनसँग २–१ गोलले पराजित भएको छ ।
एस्टन भिला र इपस्विच टाउनले एक–एक गोलको बराबरी खेलेका छन् ।
प्रिमियर लिगमा लिभरपुल ५७ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । आज लिभरपुल र उल्भ्स तथा टोटनहम र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ । उता स्पेनिस ला लिगाको शीर्ष स्थानमा रियल म्याड्रिड अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ ।
१० खेलाडीमा सिमित रियललाई शनिवार ओसासुनाले १–१ को बराबरीमा रोकेको हो । ओसासुनाको घरेलु मैदानमा भएको खेलमा रियलका लागि केलियन एमबाप्पे गोल गरे । घरेलु टोलीका लागि भने आन्टे बुडिमिरले गोल गरे ।
खेलको १५औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाए । ३९औं मिनेटमा जुड बेलिंघमले रातो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बन्यो । रेफ्रीमाथि अपशब्द प्रयोग गरेको आरोपमा बेलिंघमलाई सोझै रातो कार्ड दिइएको थियो ।
५८औं मिनेटमा आन्टे बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियलसँग अंक खोसे । रियलको २४ खेलमा ५१ अंकका साथ शीर्ष स्थानमा यथावत छ । ओसासुना समान खेलमा ३२ अंकसहित सातौं स्थानमा छ ।
यसबीच बायर्न म्युनिखले बुन्डेसलिगा १६ वर्षपछि खराब प्रदर्शन दोहो¥याएको छ । शनिबार भएको खेलमा बायर्नले बायर लेभरकुजेनसँग गोलरहित बराबरी खेलेको हो । खेलभरि लेभरकुजेनले बायर्नलाई दबाबमा राखे पनि गोल गर्न असफल रह्यो ।
सेन्ट्रल फरवार्ड पाट्रिक सिक र भिक्टर बोनिफेस बेन्चमा बस्दा लेभरकुजेनले लगातार दोस्रो खेलमा गोल गर्न सकेन । बायर्नका कप्तान तथा गोलकिपर मानुएल नोयरले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई हारबाट जोगाए ।
लेभरकुजेनका प्रशिक्षक जाबी आलोनसोले सिकलाई खेलको दोस्रो हाफको इन्जुरी समयमा मात्र मैदान प्रवेश गराएका थिए । यसअघि फ्लोरियन वित्र्जले निर्णायक मौका गुमाए । उनको प्रहार नोयरले बचाएका थिए ।
बायर्नले पूरै खेलभरि एउटा पनि सट अन टार्गेट राख्न सकेन । बुन्डेसलिगा इतिहासमा बायर्नसँग यस्तो घटना दोस्रो पटक मात्र भएको हो । यसअघि सन् २००८ मा वोल्फ्सबर्गविरुद्ध बायर्नले यस्तो खराब प्रदर्शन देखाएको थियो ।
यद्यपि, तालिकाको शीर्ष स्थानमा आठ अंकको अग्रता कायम गरेको छ । २२ खेल खेलेको बायर्नको ५५ अंक छ । समान खेलबाट लेभरकुजेनको ४७ अंक पुगेको छ ।