मधेशका मुख्यमन्त्रीको स्टिङ अप्रेशन, चालक बनेर गार्डलाई फोन

४ फागुन ८१, सोमबार

५ फागुन , विराटनगर।

Advertisement

एकातर्फ दुवैतर्फ बन्दुक बोकाएर डनशैलीमा परेड देखाएपछि जनमतकै प्रतिनिधिसभा सदस्य अब्दुल खानको आलोचना भइरहेको छ भने अर्कातर्फ जनमतबाटै मधेशका मुख्यमन्त्री बनेका सतिशकुमार सिंहको भने प्रशंसा भइरहेको छ ।

मधेशका मुख्यमन्त्री सिंहले जनकपुरधामका अवैध निजी अस्पतालविरुद्ध कडा कारबाही थालेका छन् । अस्पतालहरूको अनुगमन गर्दै उनले अनियमितता उजागर गरिरहेका छन्। उनको स्टिङ अप्रेशन शैलीको यो कदमको सर्वत्र प्रशंसा भइरहेको छ ।

Advertisement

आइतबार उनले थप चार अस्पताल— जनक मेमोरियल, जनकपुर गोदावरी हस्पिटल, जनकपुर मोडल, कृष्णा हस्पिटल— अवैध रूपमा सञ्चालन भइरहेको भेटे। यी अस्पतालहरू दर्ता नगरी चलाइएका कारण आफैं बन्द गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

Advertisement

अनुगमनकै क्रममा साँझ जनकपुर मोडल हस्पिटल पुग्दा मुख्यमन्त्री सिंहले अस्पतालमा बाहिरबाट ताला लागेको देखे। तर, भित्र बत्ती बलिरहेको थियो। उनलाई शंका लाग्यो— कतै अस्पताल सञ्चालकहरूले बिरामीहरूलाई भित्रै थुनेर अनुगमन छल्ने प्रयास त गरिरहेका छैनन् ? यसपछि उनले स्थानीयसँग सोधपुछ गरे।

एकजनाले अस्पतालका गार्डले बाहिरबाट ताला लगाएर गएको बताए। मुख्यमन्त्री सिंहले तत्कालै ती गार्डको नम्बर पत्ता लगाएर फोन गरे। उनले आफू एम्बुलेन्स चालक भएको बताउँदै बिरामी लिएर आएको नाटक गरे।

मुख्यमन्त्रीको फोनपछि सार्वजनिक भिडिओमा गार्डले सोधेका छन्, “तपाईं को?“ मुख्यमन्त्रीले आफू ३११२ नम्बरको एम्बुलेन्स ड्राइभर ‘सरोज’ भएको बताए। उनले गार्डलाई अस्पतालमा ‘राम्रो पार्टी’ अर्थात बिरामी ल्याएको भन्दै राख्न आग्रह गरे। अनि गार्ड झस्किए।

उनले जवाफ फर्काए, “अहिले अनुगमन भइरहेको छ, म बिरामी राख्न सक्दिनँ। गोदावरी हस्पिटलमा लग्नुस्।“ मुख्यमन्त्रीले थप जाँच्न गार्डसँग सोधे, “गोदावरीले कति दिन्छ?“ गार्डले सजिलै जवाफ दिए, “कुरा गरेपछि!“

यो कुराकानीबाट स्पष्ट भएको छ कि, जनकपुरधामका अवैध अस्पतालहरूले बिरामी ल्याउने एम्बुलेन्स चालकलाई कमिसन दिने चलन छ। मुख्यमन्त्री सिंहले अस्पतालका गार्डसँग गरेको यो स्टिङ अप्रेशनको भिडिओ ‘सीएम सतिश सिंह’ नामक फेसबुक पेजमा राखेका छन्।

उनको साहसिक कामको सर्वत्र प्रशंसा भइरहेको छ। नेपाली कांग्रेस मधेसका पूर्वसांसद नरेश यादवले भिडियो सेयर गर्दै लेखेका छन्, “यस्तो कामको लागि धेरै धेरै धन्यवाद। तपाईँ जस्तो मुख्यमन्त्री मात्रै होइन, प्रधानमन्त्री भए देश भ्रस्टाचारमुक्त हुने थियो! जय हो मुख्यमन्त्री सतिश सिंह जी!“

मुख्यमन्त्री सिंह र स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंहले अहिलेसम्म तीन दर्जनभन्दा बढी अस्पतालहरूको अनुगमन गरिसकेका छन्। जसअन्तर्गत मापदण्डविपरीतका पाँच अस्पताल बन्द भइसकेका छन्।

प्रदेश संरचनालाई लिएर प्रश्न उठिरहेका बेला मधेशका मुख्यमन्त्रीको यस अभियानलाई जनताले निकै सकारात्मक रूपमा लिएका छन्। अब यो पहल केही दिनका लागि मात्रै प्रशंसामा सिमित हुन्छ कि स्थायी सुधारमा रूपान्तरण हुन्छ त्यो भने हेर्न बाँकी नै छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top