५ फागुन ,काठमाण्डौ।
पछिल्लो समय नेपालमा संघीय राजधानीसहित बाहिरका शहरहरुमा पनि क्यान्सर, मृगौला, मुटु रोग लगायतका घातक रोगहरुका लागि पनि आधुनिक प्रविधिसहित राम्रो उपचारसेवा सुरु भएका छन् । सरकारी अस्पतालको तुलनामा नीजिस्तरमा खुलेका मेडिकल कलेज, नर्सिंग होमहरुको संख्या र उपचार पनि अब्बल देखिएको छ ।
तर नेपालमा आगलागीमा परी घाइते भएकाहरूको उपचार भने जटिल बन्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार बर्सेनि विश्वमा एक करोड १० लाख मानिस गम्भीर प्रकारका जलेर घाइते हुन्छन् । नेपालमा मात्र प्रत्येक वर्ष झन्डै ६५ देखि ७५ हजारको हाराहारीमा आगो र एसिडबाट जलेका घटना आउने गरेका छन् ।
स्वास्थ्य सेवा विभागको तथ्याङ्कलाई नै हेर्ने हो भने पनि गएको एक वर्षमा मात्र ७६ हजारभन्दा धेरै मानिस आगो र एसिडको जलनबाट प्रभावित भएको उल्लेख छ । यो तथ्यांकमा एकआध चाँही नेताहरु वा उच्चपदस्थहरु समेत पर्ने गरेका छन् ।
यद्यपि, उनीहरु प्रायलाई भने उपचारका लागि विदेश पठाउने गरिएको छ । यसबीच शनिवार पोखरामा कार्यक्रम उद्घाटन गर्ने क्रममा बेलुन पड्किँदा भएको घटनामा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि घाइते भए ।
उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भई रहेकोमा आज अर्थमन्त्री पौडेल डिस्चार्ज भए । मेयरको भने स्वास्थ्यमा सुधार भए पनि उनलाई अझै केही दिन चिकित्सकको निगरानीमा राख्नु पर्ने अस्पतालले जनाएको छ ।
यसबीच कीर्तिपुर अस्पतालमा भीभीआईपीहरुको घुँइचो लाग्यो । वर्षेनी हजाराँैको संख्यामा सर्वसाधारण जलनमा पर्दा कहिल्यै कुनै नेताहरुले चक्कर नलगाएको, कथम कदाचित लगाइहाले पनि पब्लिसिटीका लागि हुने गरकोमा कीर्तिपुर बर्न अस्पतालमा यसपटक अर्थमन्त्री र मेयर जलनमा परेपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रमेश लेखक हुँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेल सम्म अस्पताल पुगे ।
उनीहरूले बिरामीलाई भेटेर स्वास्थ्य लाभको कामना त गरे तर अस्पतालमा अन्य नागरिकको उपचार कसरी भई रहेको छ । अस्पतालमा अन्य सेवा सुविधा कस्ता छन् भन्ने बारे सामान्य चासो समेत लिन भ्याएनन् ।
कोही पनि बिरामी पर्दा अस्पतालमा भेट्न जानु राम्रो कुरा हो । तर जटिल बन्दै गएको जलन उपचारमा राज्यका प्रमुख व्यक्ति उदासीन देखिनु भने लज्जाको कुरा हो । केही वर्षदेखि नेपालमा जलनका घटनाहरू धेरै भई रहेको तथ्याङ्कले देखाउँछ ।
तर उपचार टाढा मात्र हैन जटिल पनि उतिकै छ । सङ्घीय राजधानीमा उपचार गरी रहेका अस्पतालहरू समेत आधुनिक सेवा दिन नसकी रहेको बेला काठमाण्डौं बाहिर रहेका जलन अस्पतालहरूको अवस्था कस्तो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
सङ्घीय सरकार मात्र हैन आफ्नो नजिकमा जलनको उपचार सुरु गरेका अस्पतालहरूको गुणस्तरमा सुधार ल्याउने तर्फ प्रदेश र स्थानीय सरकारहरू कानमा तेल हालेर बसेका छन् । जनताको मत लिएर कुर्सीमा पुगेकाहरूलाई जनताको जिउ जल्दा अलिकति पनि मन पोल्ने गर्दैन ।
जलनका घटनामा सरकार गम्भीर बन्न नसक्दा संविधानले प्रत्याभूत गरेको अधिकारीबाट आम नागरिक वञ्चित बन्नु परिरहेको छ । बेला बेला प्रतिनिधि सभाको बैठक र अन्य सभामा सांसद चन्द्र भण्डारी जो स्वयं जलनमा परेका थिए, उनले त कुरा उठाउँछन् तर उनको कुराले सरकारका कानमा बतास भने लागेको देखिन् ।
आफै जलनमा परेका सांसद भण्डारीले धेरै पटक सदनमा कुरा उठाइ रहेका छन् । उनलाई सरकारले हैन उनकै सहयात्री माननीयहरूले समेत साथ दिएको देखिन् । मुलुकमा सङ्घीयता आएसँगै तिन तहका सरकार छन् तर केन्द्र प्रदेश र स्थानीय तिनै तहका सरकारले जलन उपचारका बारेमा खासै चासो दिएको देखिन् ।
घटना भएको दुई चार दिन जलन अस्पतालको चर्चा हुने गर्छ त्यसपछि बिरामी निको हुनु भन्दा पहिला सरकारमा बसेकाहरूले बिर्सन्छन् । अस्पतालको कमीका कारण दुर्गम क्षेत्रका घाइतेले समयमा उपचार पाउन नसक्दा जीवनभर अङ्गभङ्ग हुनुपर्ने तथा ज्यानै गुमाउनुपर्ने अवस्था छ ।
देशका आठ वटा अस्पतालमा मात्र जलनको उपचार हुन्छ । यीमध्ये चार वटा अस्पताल त काठमाडौँमा मात्रै छन् । जलनको घाइतेको पूर्ण उपचार कीर्तिपुर, सुष्मा कोइराला मेमोरियलमा हुने गरेको छ । त्यस्तै त्रिवि शिक्षण (टिचिङ), पाटन र वीर अस्पतालमा सामान्य जलनको मात्र उपचार हुन्छ ।
त्यहाँ छ वटा शय्याको जलन विभाग छुटाइएको छ । दुर्गमका नागरिकलाई जलनको उपचार गराउन निकै नै सास्ती छ । समयमै अस्पतालमा पुग ९५ प्रतिशतसम्म जलेको बिरामीलाई पनि निको पार्न सकिन्छ । काठमाडौँ बाहिर पाल्पामा मिसन अस्पताल, धुलिखेल, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पतालमा उपचार हुन्छ ।
घाइतेहरूको कसरी र कहाँ उपचार गर्ने, सुरुमा प्राथमिक उपचार कसरी गर्ने ? यस्तो घटनामा परेकाहरूको कहाँ र कसरी उपचार हुन्छ ? भन्ने जानकारी समेत सर्वसाधारणलाई नहुन सक्छ । आगोले शरीरमा ७० प्रतिशतदेखि माथि पोलिएको अवस्थामा खतराजनक हुन्छ । यस्तै अनुहारमा पोलेको छ भने पनि प्राणघातक हुन्छ ।
तेजाबले पोल्दा पनि त्यस्तै खतरा हुन्छ । करेन्ट लाग्दा सिधै मुटुमा असर पर्ने र त्यसले मुटुको धड्कन रोकिदिने भएकाले घाइते व्यक्तिको तत्काल निधन हुने जोखिम हुन्छ । पोल्ने बित्तिकै घाउमा पानी पार्नु हुँदैन भन्ने गलत मानसिकता धेरैमा पाइन्छ ।
आगो वा कुनै पनि कुराले पोलेपछि त्यसमा प्रयोग गर्ने मुख्य कुरा पानी नै हो । पानी असाध्यै चिसो पनि होइन, पोलेको भागलाई सामान्य तापक्रम भएको धारामा बगेको पानीले २० देखि ३० मिनेटसम्म चिस्याउनुपर्छ ।
चिकित्सकका अनुसार यदि खोल्ने धारा छैन भने बाल्टिनमा पानी राखेर चिस्याउने गर्दा पनि हुन्छ । त्यो पनि छैन भने कपडालाई पानीमा भिजाउँदै पोलेको ठाउँमा राखेर चिस्याउनु पर्छ । २० देखि ३० मिनेटसम्म पानीले चिस्याएपछि सफा कपडाले छोपेर तुरुन्तै नजिकैको अस्पताल लैजानुपर्छ ।
साना–साना जलन जसको कुनै गहिराइ पनि छैन भने साना फोका निस्केर आठ÷दश दिनमा निको हुन्छ, त्यस्तो अवस्थामा घिउकुमारी, गोलभेँडा लगाएर पानीले चिस्याएको पनि हामीले देखेका छौं । पोलेपछि वा जलन भएपछि घाइतेको पोलेको ठाउँबाट धेरै पानी निस्कने हुन्छ ।
त्यस्तो अवस्थामा स्लाइन चढाउनुपर्ने हुन्छ । कोही आगोले जलिरहेको अवस्थामा छ भने त्यस्तो अवस्थामा आत्तिएर दौडने गर्नुहुँदैन । त्यस्तो अवस्थामा व्यक्तिलाई रोकिन लगाउने, निभाउने बस्तु केही छैन भने भुईँमा लडीबडी गर्न लगाउने र आगो निभाउनु पर्छ ।
बाक्लो कम्बल छ भने त्यसले झ्याप्प छोपेर पनि आगो निभाउन सकिन्छ । त्यसपछि पानीले चिस्याएर प्राथमिक उपचारका लागि अस्पताल लैजानुपर्ने हुन्छ । जलनबाट प्रभावित भएकाहरुको विजोग र दर्दनाकपूर्ण अवस्था हेर्दा यसका लागि सरकारले विभिन्न ठाउँमा उपचार सेवा विस्तार गर्नै पर्छ ।
प्रत्येक प्रादेशिक अस्पतालहरूमा बर्न युनिट राख्ने, स्वास्थ्यकर्मीहरूलाई दक्ष तालिम दिने जस्ता काममा सरकार लाग्नुको विकल्प छैन । देशभरि नै जलनका घटना भयो भने कहाँ उपचार गर्ने भन्ने, कहाँ जाने भन्ने सूचना प्रणालीलाई सामान्य जनता सम्म पु¥याउनु आवश्यक छ ।