२७ फागुन , एजेन्सी ।
विश्वकै धनाढ्य, खर्बपति व्यापारी इलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्स सोमबार २४ घण्टामा चार पटक अवरुद्ध भयो । यसको पछाडी साइबर आक्रमण भएको खुलेको छ ।
मस्कले नै एक्स सोमबार “ठूलो साइबर आक्रमण“ को सिकार भएको बताएका छन् । अमेरिका र बेलायतलगायत विश्वका धेरै भागमा सेवा अवरुद्ध भएको गुनासो आएपछि मस्कले भविष्यमा पनि आक्रमण जारी रहन सक्ने बताएका छन् ।
‘हामीमाथि हरेक दिन आक्रमण हुन्छ, तर यो धेरै स्रोतसाधन प्रयोग गरेर गरिएको थियो’, मस्कले एक्समा लेखेका छन् । उनले यस आक्रमणमा ठूलो समूह वा देश नै संलग्न रहेको दाबी गरेका छन् ।
प्लेटफर्म आउटेज मनिटर डाउन डिटेक्टरले सोमबार प्लेटफर्मलाई असर गर्ने प्राविधिक समस्याबारे अमेरिकी प्रयोगकर्ताहरूबाट हजारौँ गुनासा प्राप्त भएपछि मस्कको यो बयान आएको हो ।
सोमबारको अवरुद्ध भएका बेला धेरै प्रयोगकर्ताले प्लेटफर्ममा पहुँच पु¥याउन तथा यसका एप र डेस्कटप साइटमा फिड रिफ्रेस गर्ने प्रयास गर्दा लोडिङ आइकन देखाइरहेको थियो।
वेबसाइट र अनलाइन सर्भिसको समस्यालाई रियल टाइममा ट्र्याक गर्ने उक्त वेबसाइटका अनुसार सोमबार पहिलोपटक दिउँसो साढे ३ बजे आसपास आधा घण्टासम्म र दोस्रोपटक साँझ ७ बजे आसपास एक घण्टासम्म एक्स डाउन भएको थियो ।
तेस्रोपटक राति पौने नौ बजेदेखि करिब साढे १० बजेसम्म र राति १२ बजेदेखि करिब साढे १२ बजेसम्म पनि एक्स डाउन भयो । धेरै प्रयोगकर्ताले लगइन गर्न समस्या भएको जनाएका थिए ।
उनीहरुले एप र वेबसाइट दुवैमा समस्या रहेको गुनासो गरेका थिए । युके, अष्ट्रेलिया, क्यानडा, भारत, नेपालसहित देशका प्रयोगकर्ताले एक्समा पहुँच स्थापित हुन नसकेको भनेर अन्य सामाजिक सञ्जालहरुमा लेखेका थिए ।
डाउन डिटेक्टरका अनुसार ४० हजार भन्दा बढी प्रयोगकर्ताबाट एक्स नचलेको गुनासो प्राप्त भएको थियो । ५० प्रतिशत प्रयोगकर्ताले वेबसाइटमा र ४० प्रतिशत प्रयोगकर्ताले एपमा समस्या रहेको जनाएका थिए ।
बाँकीले सर्भरमा समस्या भएको सूचना दिएका थिए । यसअघि २६ अप्रिल र २१ डिसेम्बरमा पनि एक्समा समस्या आएको थियो । एक्स (पुरानो नाम ट्वीटर)लाई सन् २००६ मा लन्च गरिएको थियो ।
एलन मस्कले सन् २०२२ मा यसलाई खरिद गरेका थिए । मस्कले एक्समार्फत् पटक–पटक साइबर आक्रमणको चुनौति झेलिरहेको जनाएका छन् । दिनहुँजसो साइबर आक्रमण हुने गरेकाले प्रयोगकर्तालाई लगइनमा समस्या भएको उनको भनाइ छ ।
स्टाटिस्टाका अनुुसार विश्वभर मासिक ६१.१ करोड जनाले एक्स चलाउँछन् । हरेक दिन ५० करोडभन्दा बढी पोष्ट हुने गरेको छ ।