२७ फागुन , काठमाण्डौ ।
युगान्डामा जारी वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले दोस्रो हार व्योहोरेको छ । सोमबार भएको खेलमा हङकङसँग नेपाल २ रनले पराजित भएको छ । नेपालको तेस्रो खेलमा जीतका लागि हङकङले दिएको एक सय एक रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९८ रनमात्र बनाउन सक्यो ।
नेपाललाई जितको लागि अन्तिम बलमा चार रन चाहिएको थियो । तर, ईश्वरी विष्टले एक रन मात्रै लिन सकेपछि नेपालले प्रतियोगितामा दोस्रो हार बेहोरेको हो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन् ।
पूजा महतोले १९ र बिन्दु रावलले १४ रन जोडे । बलिङतर्फ मारिको हिलले २ विकेट लिइन् । त्यसअघि युगान्डाको एन्टेबे क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ७ विकेटको क्षतिमा एक सय रन बनाएको थियो ।
उसका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाइन् । मारिको हिलले २१ र क्यारी चानले १२ रन जोडे । नेपालकी इन्दु बर्मा र इश्वरी विष्टले २÷२ विकेट लिए । पूजा महतो र रचनाकुमारी चौधरीले १÷१ विकेट लिए ।
पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो । हङकङले भने लगातार दोस्रो जित हात पारेको हो ।
पहिलो खेलमा हङकङ युगान्डासँग आठ विकेटले पराजित भएको थियो । अर्को खेलमा भने हङकङले नामिबियालाई चार विकेटको जित निकालेको थियो । चार देश सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा रहने २ टोली उपाधिका लागि खेल्नेछन् ।
फाइनल खेल चैत ३ गते हुनेछ । नेपालले बुधबार नामिबियासँग खेल्नेछ । अहिलेसम्म सहभागि सबै चार टीमले समान ३–३ खेल खेल्दा युगान्डा र हङकङले २–२ जित निकाल्दा नेपाल र नामिबयाले समान १–१ जित निकालेका छन् ।