२७ फागुन , काठमाण्डौ।
कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को सात महिनाको तथ्यांकअनुसार निर्यात उल्लेख्य बढेको हो। यो अवधिमा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको निर्यात भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६६.९ प्रतिशत, ८.६ प्रतिशत र ३.५ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर यार्न र थे्रड, चिया, अलैंची, पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल जिंक शिट, अदुवा, जडिबुटी, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
यता, आयाततर्फ भने आर्थिक वर्ष २०८१÷८२ को सात महिनामा कुल वस्तु आयात १०.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.३ प्रतिशतले कमी आएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ११.२ प्रतिशत र १७.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पाट्र्स, खाने तेल, स्पञ्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपूर्जा, केराउ, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०८१÷८२ को सात महिनामा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ६१ अर्ब ३८ रुपैयाँ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले कमी आएको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.९ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो । समिक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १०३ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८८ अर्ब १८ करोड रुपैयाँ बराबरको भएको थियो । यो अवधिमा देशको विदेशी मुद्रा सञ्चिति १७ अर्ब डलर नाघेको छ । गत असार मसान्तसम्म १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिति माघ मसान्तमा १७ अर्ब ५ करोड रुपैयाँ पुगेको हो ।
डलर सञ्चितिको वृद्धिदर ११.७ प्रतिशत रहेको छ । नेपाली रुपैयाँमा भने यस्तो मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ । जुन असार मसान्तसम्मको २० खर्ब ४१ अर्ब १० करोडभन्दा १६.१ प्रतिशत बढी हो ।
यस्तै चालु आर्थिक वर्षको पहिलो सात महिनामा ९ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको रिपोर्टअनुसार साउनदेखि माघ मसान्तसम्म ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो रेमिट्यान्स रकम ७.३ प्रतिशत बढेको हो । अमेरिकी डलरमा भने ५.३ प्रतिशत मात्रै रेमिट्यान्स वृद्धि भएको छ ।