२७ फागुन , काठमाण्डौ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीको सांसद पद जोगिएको छ । कार्कीको उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।
न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेद्वारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो । त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेद्वारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट उनी निर्वाचित भएकी थिइन् ।
२०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा मेडिकल काउन्सिल सदस्य सार्वजनिक पद भएकाले राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भनी आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।
सर्वोच्चले अन्तरिम आदेश दिएपछि उम्मेदवारी जोगिएको थियो । पछि उनले कानुन व्यवसायीको सल्लाहमा मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी थिइन् । सर्वोच्च अदालतको यो फैसलापछि उनको पद सुरक्षित बनेको छ ।