५ चैत , एजेन्सी ।
नेपालका विपिन जोशीसहित अझै कयौं बन्धकहरु हमासको कब्जामा रहेकै बेला इजरायली सेनाले गाजापट्टीमा ठूला आक्रमण गरिरहेको बताएको छ । सेनाले विज्ञप्ति जारी गर्दै हमासको ‘आतंकवादी लुक्ने ठाउँ’लाई लक्ष्य गरेर हमला थालिएको बताएको छ ।
रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मध्य गाजाको देइर अल–बलाहमा तीन घरलाई निशाना बनाइएको बताएको छ । साथै खान युनिस र रफाहमा पनि भवन लक्ष्य गरेर आक्रमण गरिएको छ ।
इजरायलको प्रधानमन्त्री कार्यालयले एक प्रतिक्रिया दिँदै भनेको छ– प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा रक्षामन्त्री इजराइल काट्जले मंगलबार बिहान गाजा पट्टीमा आक्रमण गर्ने आदेश दिएका थिए ।
हमासले इजरायली बन्धकहरू रिहा गर्न इन्कार गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि विटकोफ र अन्य मध्यस्तकर्ताले गरेको प्रस्ताव अस्वीकार गरेपछि गरिएको इजरायलले जनाएको छ ।
‘हाम्रा बन्धकहरूलाई रिहा गर्न हमासले निरन्तर अस्वीकार गरेको र अमेरिकी राष्ट्रपतिका विशेष प्रतिनिधि विट कोच र अन्य मध्यस्थकर्ताहरूले गरेका प्रस्तावहरूलाई अस्वीकार गरेपछि यो आक्रमण भएको हो,’ विज्ञप्तिमा भनिएको छ ।
अलजजिराले प्रकाशित गरेको समाचारमा उक्त आक्रमणमा परी ३ सय भन्दा बढीको मृत्यु भएको जनाइएको छ । उक्त समाचारमा भनिएको छ– प्यालिस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा महिला र बालबालिका गरी ३०० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा उक्त भूभागमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वत्था पनि रहेको बताइएको छ । उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई पनि निसाना बनाइएको थियो ।
इजरायल र हमासबीच युद्धविराम भएयताको गाजामा इजरायलले गरेको यो सबैभन्दा ठूलो आक्रमण हो । युद्धविराम अघि बढाउने विषयमा दुई पक्षबीचको वार्तामा रुकावट आएको समयमा इजरायलले आक्रमण गरेको हो ।
इजरायली आर्मीले गाजामा हमास बसेको ठाउँमा आक्रमण गरिएको जनाएको छ । इजरायली सेनाले एक टेलिग्राम पोस्टमा भनेको छ– गाजापट्टीमा हमास बसेको ठाउँमा ठूलो संख्यामा आक्रमण गरिएको छ ।
स्थानीय चिकित्सकहरूले भने उक्त आक्रमणमा परी सर्वसाधारण, महिला तथा बालबालिक पनि आक्रमणको निशानामा परेको बताएका समाचारहरूमा जनाइएको छ ।आक्रमणपछि हमासले भने इजरायलले युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ ।
साथै यसले बन्धकहरुको जीवन खतरामा पार्ने चेतावनी दिएको छ । यता एक इजरेली अधिकारीले उक्त आक्रमण आवश्यक रहुन्जेल जारी रहने र हवाई हमलामा मात्रै सीमित नरहने बताएका छन् ।
इजरायलले विज्ञप्तिमा लेखेको छ, “अब उप्रान्त इजरेलले थप सैन्य शक्तिसहित हमासविरुद्ध कदम चाल्ने छ।“ यो युद्धमा हालसम्म ४८, ५०२ जनाभन्दा बढीको मृत्यु भएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा अधिकांश गैरसैनिक छन् ।
गाजाको २१ लाख जनसङ्ख्या कैयौँ पटक विस्थापित भएको छ । त्यहाँका करिब ७० प्रतिशत भवन क्षतिग्रस्त भएका छन् वा भग्नावशेषमा परिणत भएका छन् भने स्वास्थ्य सेवा, पानी र सरसफाइ प्रणाली ध्वस्त भएको छ । मानिसहरूले खानेकुरा, इन्धन, औषधि र आवासको अभाव खेपिरहेका छन् ।