६ चैत , काठमाण्डौ ।
घरेलु बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको खबरका साथ हामी नेपाल टाइम्स समाचारमा उपस्थित भएका छौं । अघिल्लो दिन अर्थात मंगलबारको रेकर्डलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई चुमेको हो ।
सुनको भाउ अहिलेसम्मकै उच्च भएर तोलाको एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा आठ सय रुपैयाँले बढेको हो ।
सुनको भाउ बढेर हिजो पनि कीर्तिमान बनाएको थियो । हिजो सुनको भाउ तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ ।
चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ५० रुपैयाँ थियो । यसैगरी अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य आज अल टाइम हाईको उचाईमा पुगेको छ ।
आज सुनको मूल्य १.२६ प्रतिशत अर्थात ३७.८८ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस ३७.७३ डलरमा कारोबार भईरहेको छ । मध्यपूर्व क्षेत्रमा बढेको तनाव र विश्वभर बढेको व्यापार अनिश्चितताका कारण सुनको मूल्य बढेको हो ।
अमेरिकी राष्ट्रपतिको ट्यारिफ नीतिका कारण आर्थिक सुस्तता छाउने र यसले अन्नतः आर्थिक मन्दी निम्तिने खतरा समेत बढेकाले लगानीकर्तामा भयको अवस्था सिर्जना भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज चाँदीको मूल्य समेत बढेको छ ।
चाँदीको मूल्य आज ०.२३ डलरले बढ्दै प्रतिऔंस ३४.०२ डलर कायम भएको छ । केही सातादेखि सुनको मूल्यमा क्रमिक वृद्धिको क्रम जारी छ, जसले लगानीकर्ताहरूलाई थप आकर्षित गरेको छ । सुनको मूल्य विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु कारकहरूका कारण बढ्ने वा घट्ने गर्छ।
यसको मुख्य कारणहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभाव हो । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुन्छ। यदि अमेरिका, चीन वा अन्य ठूला अर्थतन्त्रमा अस्थिरता आउँछ भने लगानीकर्ताहरू सुरक्षित सम्पत्तिको रूपमा सुनमा लगानी गर्छन्, जसले यसको मूल्य बढाउँछ।
यस्तै अमेरिकी डलर बलियो हुँदा सुनको मूल्य घट्छ, जबकि डलर कमजोर हुँदा सुनको भाउ बढ्छ। यस्तै बैंकहरूले ब्याजदर घटाउदा लगानीकर्ताहरू सुनमा बढी लगानी गर्छन्, जसकारणले पनि मूल्य बढाउँछ।
अहिले विश्वभर नै सुनको मूल्य नयाँ रेकर्ड बनाइरहेको छ। अमेरिका र चीनबीचको व्यापार तनाव, युक्रेन–रूस युद्ध तथा मध्यपूर्वमा अस्थिरता जस्ता कारणले लगानीकर्ताहरू सुनतर्फ आकर्षित भएका छन्।