विराटनगर : प्रदेश सभामा दुई तिहाई रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रदेश १ को संसदीय दलको पुर्ण बैठकमा स्थायी राजधानी र नामाकरणको विषयले औपचारिक प्रवेश पाएको छ ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि प्रदेश १ मा नेकपाको संसदीय दलको दोस्रो पुर्ण बैठक सोमबारदेखि सुरु भएको हो ।
विराटनगरको हाटखोलास्थित फन एण्ड फुड रिसोर्टमा सुरु भएको बैठकको अध्यक्षता गर्दै संसदीय दलका नेता एवम् मुख्यमन्त्री शेरधन राईले बैठकको प्रमुख एजेण्डाका रुपमा प्रदेश १ को स्थायी राजधानी तथा नामाकरणको विषयलाई औपचारिक रुपमा प्रवेश गराएका हुन् ।
स्रोतका अनुसार मुख्यमन्त्री राईले प्रदेश सरकारको गठनपछिको प्रमुख चुनौतीका रुपमा स्थायी राजधानी , नामाकरण, संसदीय दलको विधान मस्यौदा समिति गठन र प्रदेश सभाको सातवटा विषयगत समितिमा सभापतिको चयन गरी चारवटा प्रमुख एजेण्डा दर्ता भएको जानकारी दिए । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।