हिमनदीहरु मेटिदै ,पग्लिए ग्लेशियरहरु ,

११ चैत, एजेन्सी ।

संयुक्त राष्ट्रसंघले २०२४ मा विश्वका सबै १९ वटा हिमनदी क्षेत्रहरूमा लगातार तेस्रो वर्ष अत्यधिक क्षति भएको जानकारी दिएको छ। संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ कि अब हिमनदीहरूको संरक्षण गर्नु हाम्रो “अस्तित्व“ को सवाल बनेको छ।

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले विश्व हिमनदी दिवसका अवसरमा भनेको छ कि विगत छ वर्षमध्ये पाँच वर्षमा हिमनदीहरू अहिलेसम्मकै तीव्र गतिमा पग्लिएको रेकर्ड गरिएको छ।

Advertisement

विश्व मौसम विज्ञान संगठनकी प्रमुख सेलेस्टे साउलोले भनेकी छन् , “हिमनदीहरूको संरक्षण केवल वातावरणीय, आर्थिक र सामाजिक आवश्यकता मात्र होइन, यो भविष्यको विषय हो।“

राष्ट्रसंघका अनुसार ग्रीनल्यान्ड र अन्टार्कटिका जस्ता ठूला हिमक्षेत्रहरूको अलावा, विश्वभर २ लाख ७५ हजार भन्दा बढी हिमनदीहरू करिब ७ लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएका छन्।

Advertisement

तर, जलवायु परिवर्तनका कारण यी हिमनदीहरू तीव्र रूपमा संकुचित भइरहेका छन्। डब्लुएमओले भनेको छ, “२०२४ लगातार तेस्रो वर्ष हुनेछ, जसमा सबै १९ हिमनदी क्षेत्रहरूमा नोक्सानी देखिएको छ।“

स्विजरल्याण्डस्थित विश्व हिमनदी अनुगमन सेवाले नयाँ तथ्यांकहरूलाई उद्धृत गर्दै, कुल ४५० अर्ब टन हिमनदी हराएको बताइएको छ। साउलोका अनुसार, “२०२२–२०२४ बीचमा तीन वर्षको अवधिमा अहिलेसम्मकै ठूलो हिमनदी नोक्सानी भएको छ ।

विगत वर्ष क्यानडाको आर्कटिक र ग्रीनल्यान्डका हिमनदीहरूमा गिरावट देखिएको थियो, तर स्कान्डिनेभिया, नर्वेको स्वालबार्ड टापु समूह र उत्तरी एशियाका हिमनदीहरूले आफ्नो इतिहासमै सबैभन्दा खराब अवस्था भोगेका छन्।

डब्लुएमओले भनेको छ कि हालको पग्लने दरअनुसार पश्चिमी क्यानडा, संयुक्त राज्य अमेरिका, स्कान्डिनेभिया, मध्य युरोप र न्यूजिल्यान्डका धेरै हिमनदीहरू अत्यन्तै जोखिममा छन्। एजेन्सीका अनुसार, हिमक्षेत्रहरूसँगै हिमनदीहरू विश्वको करिब ७० प्रतिशत पिउने पानीको स्रोत हुन्।

अग्ला पहाडी क्षेत्रमा रहेका यी हिमनदीहरू “जल मीनार“ को रूपमा काम गर्छन्। यदि ती हराए भने, तिनका फेदीमा रहेका लाखौँ मानिसहरूको पानी आपूर्तिमा गम्भीर संकट आउन सक्छ। संयुक्त राष्ट्रसंघले विश्वव्यापी तापमान वृद्धिविरुद्ध तुरुन्तै कदम चाल्नुपर्ने बताएको छ ।

डब्लुएमओका जल तथा हिम वैज्ञानिक स्टीफन उहलेन ब्रुकले भनेका छन्, “हामी धेरै कुरामा सम्झौता गर्न सक्छौँ, तर हिमनदी पग्लने विषयमा सम्झौता गर्न सक्दैनौँ।“ पहिलो विश्व हिमनदी दिवसको अवसरमा विश्व हिमनदी अनुगमन सेवाले पहिलो पटक एक अमेरिकी हिमनदीलाई “वर्षको हिमनदी“ घोषणा गरेको छ।

वाशिङटनस्थित दक्षिण कास्केड हिमनदी १९५२ देखि लगातार निगरानी गरिँदै आएको छ। हिमनदी भनेको स्थिर रूपमा बग्ने ठूलो बरफको संरचना हो, जुन लामो समयसम्म भारी हिउँ परेको कारणले बन्ने गर्छ।

जब हिउँको मात्रा वर्षौंदेखि थुप्रिँदै जान्छ, यसले आफ्नो तौल र गुरुत्वाकर्षणका कारण बिस्तारै बग्न थाल्छ। हिमनदीहरू प्रायः उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा पाइन्छन् र यी पृथ्वीको सबैभन्दा ठूलो ताजा पानीको भण्डार मानिन्छन्।

हिमनदीहरू जलवायु परिवर्तनको कारण तीव्र रूपमा पग्लिरहेका छन्, जसले समुद्री सतह बढाउने, नदीहरूको बहाव परिवर्तन गर्ने र पानी आपूर्तिमा असर गर्ने जस्ता प्रभाव पार्छ। नेपालमा करिब ३,२५२ हिमनदीहरू रहेका छन्, जसले ५,३२१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेका छन्।

नेपालका महत्वपूर्ण हिमनदीहरूमा खुम्बु हिमनदी (एभरेस्ट क्षेत्र), लांगटाङ हिमनदी, अन्नपूर्ण हिमनदी, माछापुच्छ्रे हिमनदी, रोल्वालिङ हिमनदी, तिब्बती हिमनदीहरूबाट जोडिएका केही हिमनदीहरू रहेका छन् ।

नेपालका हिमनदीहरू पनि जलवायु परिवर्तनका कारण तीव्र रूपमा पग्लिरहेका छन्। अनुसन्धानका अनुसार, पछिल्ला २०–३० वर्षमा नेपालको हिमनदी क्षेत्र २४ प्रतिशतसम्म संकुचित भइसकेको छ। यसले हिमतालको संख्या बढाइरहेको छ, जसले बाढी र पहिरोको जोखिम बढाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top