१५ चैत ,एजेन्सी।
म्यान्मारको मध्यभागमा आएको ७.७ म्याग्निट्यूडको भूकम्पका कारण म्यान्मार र सीमावर्ती थाईल्यान्डका ब्याङ्ककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु सगाइङ सहरबाट १६ किमि टाढा छ ।
उक्त भूकम्प जमिनभन्दा १० किमि तल उत्पन्न भएको यूएसजीएसले जनाएको छ । यो भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् ।
थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ ।
केही मिनेटपछि सोही क्षेत्रमा ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो । यसैबीच थाइ अधिकारीहरूले बैंककमा आपत्कालीन अवस्था घोषणा गरेका छन् । म्यान्मारमा केन्द्रीत भूकम्पले बैंकक सहरलाई आक्रान्त पारेपछि प्रधानमन्त्री सिनावात्राले शुक्रबार आपत्कालीन अवस्था घोषणा गरिएको बताए ।
भूकम्पका कारण म्यान्मारको राजधानी नेपिएडोमा केही क्षति पुगेको विवरण छ । थाईल्यान्डबाहेक दक्षिणपश्चिम चीन, भारत र बंगलादेशमा पनि धक्का महसुस गरिएको थियो । ब्याङ्ककमा भवनहरूमा क्षति पुगेको छ भने म्यान्मारको राजधानीमा सडकहरू भत्किएका छन् ।
ब्याङ्ककमा भुइँचालो थेग्न सक्ने गरी भवन निर्माण नगरिएका हुनाले ठूलो क्षति पुगेको हुन सक्ने ठानिएको छ । घरका भित्तामा चिरा परेको र पौडीपोखरीबाट पानी छचल्किएको भिडियोहरु सामाजिक संजालमा देखिएका छन् ।
भूकम्पका कारण थाइल्यान्डमा एक जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् । भूकम्पले म्यानमारको मण्डलेको इरावदी नदीमा रहेको लोकप्रिय अवा पुल पनि भत्किएको बताइएको छ ।
म्यान्मारमा सैन्य शासकहरूले पहिलादेखि नै सञ्चारमाध्यम र इन्टर्नेटमा नियन्त्रण गरेका हुनाले त्यहाँबाट सूचना आउन सकेको छैन । एउटा भिडिओमा म्यान्डलेस्थित विमानस्थलको धावनमार्गमा मानिसहरू भूकम्प जाँदा चिच्याएको र निहुरेर बसेको देखिएको छ ।
सन् १९३० देखि १९५६ सम्म ’सगाइङ फल्ट’को छेउछाउमा छवटा ठूला भूकम्पहरू गइसकेका छन् । उक्त फल्ट म्यान्मारको मध्यभागमा रहेको समाचारसंस्था एएफपीले यूएसजीएसलाई उद्धृत गर्दै जनाएको छ ।
थाईल्यान्ड भूकम्पीय क्षेत्रमा पर्दैन । त्यहाँ महसुस गरिने अधिकांश भूकम्पको केन्द्रबिन्दु छिमेकी देश म्यान्मारमा हुन्छ ।