असोज १६, विराटनगर
आज जितिया पर्व मनाईंदैछ । मध्यतराईका महिलाले विशेष रुपमा मनाउने यो पर्वको विधिवत सुरुवात भने हिजोदेखि भैसकेको छ । जितिया पर्वको मुख्य दिन आज निराहार व्रत बसेर भोलि विधिवत रुपमा पर्वको समापन गरिनेछ ।
जितिया पर्व मुख्यतः नवलपरासी पूर्वको तराईका जिल्लामा मनाउने गरिएको भए पनि पछिल्ला वर्षमा काठमाडौँमा समेत मनाउन थालिएको छ । हिन्दू नारीले तीजमा जस्तै थारू महिलाले पनि हरेक वर्ष असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म जितिया मनाउँछन् । परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । जितियामा निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै बहुजाती, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मूल्य र मान्यतासहित संस्कृति, कला, भेषभूषा, गीत सङ्गीतलाई संरक्षण गर्ने कुरा नै हाम्रो मौलिकता बनेको बताएकी छिन । राष्ट्रपति भण्डारीले नेपाली महिलाले पारिवारिक सुख, खुशियाली र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाइने सांस्कृतिक यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धि कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गरेकी छिन ।