तन्त्रका नाममा जनता भिडाउने प्रपन्च

तन्त्रका नाममा जनता भिडाउने प्रपन्च

१८ चैत, काठमाण्डौ ।

नेपालको वर्तमान राजनीतिक परिदृश्य राजावादी र गणतन्त्रवादी शक्तिहरूबीचको तीव्र ध्रुवीकरणतर्फ अघि बढिरहेको छ। समाजवादी मोर्चाले चैत १५ गते राजावादीहरूले सञ्चालन गरेको आन्दोलनलाई “जंगली चरित्रको“ भएको निष्कर्ष निकाल्दै, यस्तो गतिविधिहरूलाई नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।

साथै जनतालाई जागरुक गरेर खतराप्रति सचेत गरी जनता परिचालन गर्ने योजना सोच्नुपर्ने निस्कर्ष निकालेको छ ।माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकले उक्त आन्दोलनलाई आततायी र उग्र रूपमा व्याख्या गर्दै, गणतन्त्रको रक्षा गर्न आवश्यक रणनीति निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ।

मोर्चाका नेताहरूले चैत १५ गतेकै दिन समाजवादी मोर्चाले गरेको कार्यक्रमलाई सशक्त र शालीन भएको दाबी गरेका छन्। नेकपा (माओवादी केन्द्र) का प्रवक्ता खड्गबहादुर विश्वकर्माले समाजवादी मोर्चाको विरोध सभाले गणतन्त्रको रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

साथै, उनले राजावादी आन्दोलन योजनावद्ध ढंगले गरिएको आरोप लगाउँदै त्यसलाई नियन्त्रण गर्न सरकार र गणतन्त्रवादी शक्तिहरूलाई सक्रिय हुनुपर्ने धारणा राखेका छन्। समाजवादी मोर्चाले आन्दोलनको मुख्य योजनाकारहरूलाई कानूनी कारबाही गर्नुपर्ने माग गर्दै सरकारले तीनकुने घटनामा भएको भौतिक क्षतिको क्षतिपूर्ति आन्दोलनकारीहरूसँग असुल गर्नुपर्ने निर्णय गरेको छ।

यसैबीच, समाजवादी मोर्चाले देशको वर्तमान परिस्थितिमा विदेशी शक्तिहरूको पनि प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको आशंका व्यक्त गरेको छ। गणतन्त्रवादी राजनीतिक दलहरूको बैठकमा गणतन्त्रको रक्षा गर्नुपर्ने, षड्यन्त्रको भण्डाफोर गर्दै कारबाही गर्नुपर्ने निष्कर्ष निकालिएको भए पनि, सरकारको धारणा भने उक्त घटनाको महत्त्वलाई कम आँकलन गर्ने खालको देखिएको समाजवादी मोर्चाले उल्लेख गरेको छ।

दोस्रोतर्फ, राजावादी समूहहरू अझ संगठित हुँदै आन्दोलनलाई निरन्तरता दिने योजनामा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २६ गते काठमाडौंमा प्रदेशस्तरीय जनप्रदर्शन गर्ने तथा वैशाख ७ गतेबाट राजधानी केन्द्रित आन्दोलन सञ्चालन गर्ने निर्णय गरिसकेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण रूपमा राजसंस्था र हिन्दू राष्ट्रको पुनस्र्थापनाको पक्षमा संघर्ष गर्ने समूहहरूसँग सहकार्य गर्ने घोषणा गरेका छन्। साथै, संघीयताको विरोध गर्दै निरन्तर सडक आन्दोलन गर्ने योजना बनाएको छ।

समाजवादी मोर्चा र राजावादी समूहहरूबीचको यी परस्पर विरोधी गतिविधिहरूले देशमा राजनीतिक तनाव बढाउने संकेत दिएका छन्। समाजवादी मोर्चाले जनता परिचालन गर्दै राजावादीहरूको क्रियाकलापलाई पूर्ण रूपमा नियन्त्रण गर्ने योजना बनाएको छ भने, राप्रपाले सडक संघर्षलाई तीव्र बनाउने घोषणा गरिसकेको छ।

यस्तो अवस्थामा, दुवै पक्ष आक्रामक रूपमा सडकमा उत्रिन थालेमा सशस्त्र झडपको सम्भावना समेत देखिएको छ। राजावादी र गणतन्त्रवादी समूहहरूबीचको यो प्रतिस्पर्धाले नेपालमा स्थायित्व कायम गर्न झन् चुनौती थप्नेछ।

मुलुकको राजनीतिक स्थायित्व भत्किनु, आर्थिक रूपमा अस्थिरता बढ्नु र आम नागरिकले हिंसात्मक झडपको मार सहनु पर्ने अवस्था आउन सक्ने जोखिम देखिन्छ। राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि, तन्त्रको नामको आन्दोलन आम नागरिकका लागि हानिकारक हुन सक्ने संकेत देखिन्छ।

इतिहासले देखाएको छ कि जुनसुकै राजनीतिक व्यवस्थामा पनि हिंसात्मक झडपको मूल्य सर्वसाधारण नागरिकले नै चुकाउनु पर्ने हुन्छ। त्यसैले, राजावादी र गणतन्त्रवादी दुवै पक्षले शान्तिपूर्ण रूपमा आफ्नो विचार राख्नुपर्ने तथा सरकार र सुरक्षाकर्मीहरूले तटस्थ र संयमित भई शान्ति सुव्यवस्था कायम गर्नुपर्ने देखिन्छ।

नेपालको वर्तमान राजनीतिक परिदृश्य हेर्दा, यदि दलहरू सहमतिमा आउन सकेनन् भने, देश पुनः अस्थिरताको भूमरीमा फस्न सक्छ। यसबारे बेलैमा सचेत रहनुपर्ने विश्लेषकहरु बताउछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.