१८ चैत, काठमाण्डौ।
सहकारी प्रकरणमा कानूनी लडाइँकै बीच साढे ५ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्किएका रवि लामिछाने घण्टी घरमा प्रवेश गरेसँगै प्रमुख सत्तारुढ दलहरुविरुद्ध खनिएका छन् ।
सहकारी प्रकरणमा जोडिएपछि लामो समय बोल्न समय नआएको भन्दै प्रतिक्षा गर्न अनुरोध गर्दै आएका रविले पार्टी कार्यालयमा पुगेर कांग्रेस–एमालेले लुटतन्त्र मच्चाएको आरोप लगाए ।
नेता कार्यकर्ता र शुभचिन्तकको भिडलाई छिचोल्दै पार्टी केन्द्रीय कार्यालय वनस्थली परिसरमा पुगेका रविले पार्टीको चुनाव चिन्ह घण्टी बजाएपछि राष्ट्रिय झण्डालाई ढोकेर सम्बोधन सुरु गरेका थिए ।
उनले भने , “लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछने चुप बस्दैन । लुटतन्त्रलाई टुलुटुलु हेर्न सकिनँ र निस्किएँ,” लामिछानेले भने, “चारवटा अदालतमा मुद्दा लगाएर शिरमाथि तरवार झुन्डिएको छ । तरवार झर्छ र काट्छ भने तयार छु, सम्मानित अदालतप्रति मेरो विश्वास छ ।”
उनले रास्वपा बलेको आगो ताप्ने दल नभएको पनि बताए । उनले रास्वपाको गणतन्त्रप्रतिको निष्ठामा प्रश्न नगर्न पनि आग्रह गरे । “जहाँ आगो बल्छ, त्यही आगो ताप्न जाने मान्छे रवि लामिछाने होइन,” लामिछानेले भने, “गणतन्त्रवादी होइनौँ कि भनेर हिलो छ्याप्न खोज्नुभएको छ । तपाईंहरू गणतन्त्रवादी होइन, लोकतन्त्रवादी होइन, लोकतन्त्र र गणतन्त्रको खोल ओढ्नुभएको छ ।” दुई पार्टीले लोकतन्त्रको खोल ओढेको भन्दै उनले उनीहरूको लाइनमा उभिएर फोटो खिच्न आतुर नरहेको बताए ।
“उनीहरूले लुटतन्त्र मच्चाइरहेका छन् । यसका विरुद्ध लड्ने छौँ मर्नुपरे पनि तयार छौँ,” लामिछानेले भने, “रास्वपा फुटाउन सकिन्छ कि भनेर मानिसहरू लागिरहेका छन् । म यसबाट बच्नका लागि आह्वान गर्छु ।”
आफूविरुद्धको मुद्दाप्रति आक्रोशित देखिएका उनले अदालतले लिएको धरौटीमा भने प्रश्न गरेनन् । “के चाहिएको यो सरकारलाई,” लामिछानेले प्रश्न गरे । उनले प्रमुख दुई पार्टीको सरकारले प्रतिपक्षविहीन बनाएको पनि बताए ।
रास्वपा भएकै कारण सदनको औचित्य देखिएको उनको तर्क छ । “यो दुईवटा मुख्य पार्टी मिलेर बनेको सरकारले पार लगाउनेवाला छैन,” लामिछानेले भने, “दुईवटा चोर मिलेर साधु हुँदैन ।”
यस्तै पूर्व उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । उनले तीनकुने घटनामा गृहप्रशासनको निकै कमजोरी देखिएको बताए । सो घटनामा भएको कमजोरीका कारण गृहमन्त्रीलाई पदमा बस्ने नैतिक अधिकार नभएको उनले बताए ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले उक्त घटनामा सरकारले आफ्नो लाज छोप्ने प्रयास नगरोस् भन्दै छानबिन हुनुपर्ने पनि माग गरे । पार्टी कार्यालयमा समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले दुईतिहाइको सरकारले आफूलाई ज्युँदै छोड्नु नै आफ्नो जित भएको दाबी गरे ।
शनिबार चितवनमा हुने सभामा आफूले राज्यविरुद्ध धेरै खुलासा गर्ने उनले बताए । लामिछानेले सोमबारबाटै सभापतिको जिम्मेवारी बहन गरेका छन् । कार्यवाहक सभापति डोलप्रसाद अर्यालले लामिछानेलाई जिम्मेवारी फिर्ता गरेका थिए ।
पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते पक्राउ परेयता रवि अहिलेसम्म पार्टीको जिम्मेवारीबाट अलग भएका थिए । कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको मुद्दासमेत परेपछि गत पुस ८ गते सांसद पदबाट निलम्बन भएयता रास्वपाको नेतृत्व उपसभापति डोलप्रसाद अर्यालले कार्यवाहक सभापतिका रूपमा सम्हालिरहेका थिए ।