१९ चैत, काठमाण्डौ।
काठमाडौँ उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा पुगेको छ । विगत केही दिनदेखि राजनीतिकरुपले उद्येलित र अशान्त रहेको काठमाडौं आज विश्वकै सबैभन्दा प्रदूषित पनि बनेको छ ।
विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको हो । ‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौँ उपत्यकाको वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा देखाएको हो ।
इन्डेक्सका अनुसार आज काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २५० छ । यसअघि प्रदूषणमा पहिलो स्थानमा रहेको भारतको राजधानी दिल्लीको वायु प्रदूषण आज विश्वमै दोस्रो स्थानमा छ ।
दिल्लीको एक्यूआई आज १७८ छ । त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ । त्यहाँको वायुको एक्यूआई १६९ छ । त्यसपछि क्रमश चीनको उहान, भियतनामको होची मिन्ह, पाकिस्तानको लाहोर रहेको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । तर ५० सम्मको एक्यूआई सम्मलाई सामान्य नै मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ ।
५१ देखि एक सयसम्मको एक्यूआइलाई होसियार रहनकालागि पहेँलो सङ्केत दिइन्छ । एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआईलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआइलाई अस्वस्थकर मानिन्छ ।
दुई सय एकदेखि तीन सय सयसम्मको एक्यूआईलाई अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिन्छ ।
काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।