२० चैत , काठमाण्डौ।
राजावादीले चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रर्दशनका क्रममा भएको हिंसात्मक घटनामा मारिएका पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पुष्टि भएको छ । चिकित्सकले एक्सरे गरेर हेर्दा पत्रकार रजकलाई गोली लागेको नपाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
आगलागीमा परेर मृत्यु भएका पत्रकार रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए । तर एक्सरे गर्दा उनको शरीरमा गोली लागेको नपाइएपछि पोस्टमार्टम गरेर आज शव परिवारलाई बुझाउन लागिएको प्रहरीले जानकारी दिएको छ ।
रजकको शव त्रिवि शिक्षण अस्पतालमै छ । त्यसो त प्रहरीले यसअघि नै गोली लागेको हल्ला मात्रै भएको भन्दै खण्डन गरिसकेको थियो । सोमबार विज्ञप्ति जारी गरी प्रहरीले उक्त हल्लालाई ‘अनर्गल प्रचार’ भनेको थियो ।
३३ वर्षीय रजकको शरीरको ७० प्रतिशत जलेको प्रहरीले प्रारम्भिक रूपमा बताएको छ । उनको कम्मरभन्दा माथिको भाग चिन्नै नसकिने अवस्थामा शव भेटिएको थियो । यता सोही दिन गोली लागेकी विद्यार्थी रेबिका खत्रीको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भेटेका छन् ।
मंगलबार मीनभवन स्थित सिभिल अस्पताल पुगेर रेविकाको स्वास्थ्य स्थिति बुझ्नुका साथै उनको परिवारलाई भेटेको सांसद सोबिता गौतमले बताइन् । रेविकालाई भेट्न रास्वपाका सांसद गणेश पराजुली, डा चन्दा कार्की र सांसद गौतम पुगेका थिए ।
‘हामीले सिभिल अस्पतालको आइसियुमा उपचार गराइरहेकी काठमाडौं क्षेत्र नम्बर २ मा पर्ने कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत रेबिका खत्री र उनका परिवारलाई भेट्यौं। शुक्रबारको आन्दोलनमा कामबाट कोठा फर्किंदै गर्दा रेबिका र उनको दाई दुवैलाई गोली लाग्यो ।
रेबिका गम्भीर अवस्थामा छिन्,’ सांसद गौतमले भनेकी छन् । रेबिकालाई तिघ्रामा गोली लागेको थियो । उनका दाजुलाई पनि गोलीको छर्रा लागेको प्रहरीले जानकारी दिएको छ । बाटोमा हिँडिरहेको विद्यार्थीलाई गोली हानिएको भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरूले मंगलबार प्रदर्शनसमेत गरेका थिए ।
‘सार्वजनिक भइरहेका भिडियोमा हामीले सबिन महर्जनलाई सामान्य परिस्थितिमै गोली हानिएको स्पष्ट देखेका छौं। यो सिधा मनोमानी हत्या हो । मनपरी, गैरकानुनी, अमानवीय गोली प्रहार । गोली चलाउने आदेश कसले दियो? जनताको सुरक्षाका लागि होइन, दमनका लागि प्रयोग हुने गृह मन्त्रालय अब स्वीकार्य छैन ।
निहत्था नागरिकमाथि गोली हान्न आदेश दिने मन्त्रीसँग पदमा रहने नैतिकता बाँकी रहँदैन । गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,’ उनले भनेकी छन् । रेबिकाको उपचार निःशुल्क गर्न कुनै कसर बाँकी नराख्न रास्वपा सांसदहरूले आग्रह पनि गरेका छन् ।
यता तीनकुनेमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सविन महर्जनको अन्त्येष्टि गरिएको छ । उनको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । पोष्टमार्टममा उनलाई गोली लागेको पुष्टि भएको थियो ।
चैत १५ गते तीनकुनेमा भएको राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनलाई प्रहरीले चलाएको गोली लागेको थियो । प्रहरीले तीनकुनेमा भएको प्रदर्शनका क्रममा ६० राउण्ड गोली चलाएको थियो ।
यसबारे सरकारले भने आधिकारिक रुपमा कुनै जानकारी गराएको छैन । यसैबीच नेपाल प्राज्ञिक मञ्चले तीनकुने घटनाका सन्दर्भमा ‘शान्ति पदयात्रा’ गरेको छ । दिवंगत भएका दुई युवा र अन्य घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनाका लागि पदयात्रा गरिएको हो ।
प्राज्ञ जगमान गुरुङसहितको सहभागिता रहेको उक्त शान्ति पदयात्रा भद्रकालीमा जम्मा भएर, रत्नपार्क, जमल, नारायणहिटी चारनारायण मन्दिरसम्म गरिएको थियो ।