कुलमानले कुनै चमत्कार गरेका हैनन्

२० चैत ८१, शुक्रबार

२२ चैत , काठमाण्डौ ।

नेपाल विद्युत प्राधिकरणको इतिहासमा १८ घण्टाको निष्पट अध्यारो लोडसेडिङ र त्यो लोडसेडिङ अन्त्यको घोषणा गर्दै उज्यालो नेपालको अग्रणी अभियान्ताका रुपमा सधैं कुलमान घिसिङको नाम नेपाली जनताको मनमा दर्ज भएको छ ।

अहिलेको राज्य संयन्त्र लोडसेडिङ अन्त्य र उज्यालो अभियानका अभियान्ताका रुपमा कुलमानले खेलेको भूमिका स्वीकार गर्नसम्म तयार छैन् । यसैले त उनलाई ८ वर्षको योगदानको उच्च कदरगर्दै पुरस्कृत गर्नुपर्नेमा उनलाई कलंकको टिका लगाएर बर्खास्त गरेको छ ।

Advertisement

तर कुलमानले नेपालको १८ घण्टाको लोडसेडिङ अन्त्य गर्दै घाटामा रहेको प्राधिकरणलाई सबैभन्दा नाफामुखी बनाएको वास्तविकता नेपाली जनताबाट लुकेको छैन् । यसैले कुलमानले पनि फेरि जनताको सेवामा फर्किने वाचा गरेका छन् ।

कुलमान घिसिङ नेपाली समाजमा केवल एक अभियन्ता होइनन्, उनी जनभावनासँग जोडिएको एउटा यस्तो नाम हुन्, जसले “असम्भवलाई सम्भव बनाउने“ उदाहरण पेश गरे।

Advertisement

नेपाल विद्युत प्राधिकरणको इतिहासमा १८ घण्टाको लोडसेडिङ जब जनजीवनलाई अँध्यारोमा धकेलिरहेको थियो, त्यतिबेला कुलमान घिसिङले नेतृत्व सम्हाल्दै देखाएका रणनीतिक सुधार र इमान्दार कार्यशैलीले उज्यालो नेपाल सम्भव भएको थियो।

यिनै कारणहरूले उनलाई जनताले “उज्यालो अभियन्ता“ को रूपमा आत्मसात गरेका हुन्। कुलमानले विद्युत प्राधिकरणको नेतृत्व सम्हालेको छोटो समयमा लोडसेडिङ अन्त्य गर्नु सानो उपलब्धि होइन।

त्यो समयमा संस्थागत भ्रष्टाचार, स्रोत व्यवस्थापनको अव्यवस्था र निजी हितका लागि ऊर्जा वितरणमा गरिएका बेथिति सबैसँग जुझेर उनले प्रणालीमा अनुशासन ल्याए। उनी नेतृत्वमा आउँदा नेपाल विद्युत प्राधिकरण घाटामा थियो, तर उनका कार्यकालमा प्राधिकरण नाफामा मात्र गएन, ऊर्जा वितरण प्रणालीमा विश्वाससमेत फर्कियो।

नेपालभित्र जलविद्युत् उत्पादन र त्यसको आन्तरिक उपयोग बढाउनुका साथै, आयातमा निर्भरता कम गर्नु, र भारतदेखि बंगलादेशसम्म सुरु भएको विद्युत् निर्यातले उनीप्रति जनताको विश्वास झनै मजबुत बनाएको थियो।

यस्तो व्यक्तिलाई पुरस्कृत गर्नुको सट्टा राज्य संयन्त्रले कलंकको टिका लगाएर निष्काशन गर्नु नेपाली व्यवस्थाको चरित्र झल्काउने एउटा दुःखद पक्ष हो। नेपालको राजनीति र कर्मचारीतन्त्रमा ‘सक्षमलाई हैरान गर, असक्षमलाई सम्मान गर’ भन्ने प्रवृत्ति हावी रहेको भन्ने आरोपको कुलमान प्रकरणमा मेल खाएको छ ।

उनको बर्खास्तीले न केवल जनतालाई निराश बनायो, बरु नेतृत्व तहमा विश्वास गर्नुपर्ने आधार पनि कमजोर बनायो। कुलमानप्रतिको समर्थन कुनै पार्टीको झन्डा होइन, जनताको अनुभवबाट आएको आवाज थियो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका घिसिङलाई सर्वाेच्च अदालतले अन्तरिम आदेश नदिएपछि उनको तत्काल प्राधिकरणमा फर्किने बाटो बन्द भएको छ ।

तर उनले आफू फेरि जनताको सेवामा फर्किने वाचा गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै घिसिङले आफू बिदामात्रै भएको बताउदै आफूलाई हटाउँदा केही व्यक्तिले सफलता भएको ठानेको टिप्पणी गरेका छन्।

दुईपटक प्राधिकरणको नेतृत्वमा बस्दा देशलाई लोडसेडिङमुक्त बनाएको, घाटामा चलेको प्राधिकरणलाई नाफामा लगेको, विद्युत् उत्पादन, प्रसारण र बिक्रीवितरणमा ध्यान दिएकोलगायतका आफ्नो कार्यकालमा भएका महत्त्वपूर्ण कामको फेहरिस्त उनले पत्रकार सम्मेलनमा प्रस्तुत गरे।

‘जलस्रोतको धनी देशमा करिब आठ वर्षअघिसम्म हिँंउदमा १५÷१६ घन्टा र वर्खामा पनि ९ घण्टा लोडसेडिङ हुनु आम विषयजस्तै थियो। लोडसेडिङ सदाका लागि विदा गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानसँगै घर र कार्यालय मात्र होइन, वैशाख २०७५ देखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरिएको थियो’, उनले सुनाएका छन् ।

लोडसेडिङ अन्त्य कुनै चमत्कार होइन, एउटा इमानदार प्रयास थियो भनेर आफूले धेरैपटक भनेको बताउँदै उनले प्राधिकरणका लागि लोडसेडिङ अन्त्य अन्तिम अभीष्ट नभएको बताए।

‘किनकि विद्युत पुगेका ठाउँमा मात्र लोडसेडिङको प्रश्न थियो, तर करिब ४२ प्रतिशत परिवारमा त विद्युत् सेवा नै पुगेको थिएन। यी बस्ती र वासिन्दाले बिजुलीको उज्यालोको व्यग्र प्रतीक्षा गरिरहेका थिए’, उनले थपे, ‘तर, यो बीचमा ९९ प्रतिशत भन्दा बढी परिवारमा विद्युतको उज्यालो पुर्याउन प्राधिकरण सफल भएको छ। विगतमा विद्युत् सेवा माग गर्दै उपभोक्ताहरु प्राधिकरण धाउने अवस्था थियो। अहिले, अवस्था फेरिएको छ।

यो बीचमा प्राधिकरण आफैं विद्युत नपुगेका घर खोज्दै विकट बस्तीमा पुगिरहेको उनको भनाइ छ। ‘लोडसेडिङ हटाउँदा घर–घरमा उज्यालो मात्र छाएन, करिब ३० लाख विद्यार्थीहरूको भविष्य सुनिश्चित भयो, उनीहरूले निर्बाध पढ्न पाए।

अस्पतालका सुत्केरी वार्ड र अपरेशन थिएटरमा बत्ति ननिभ्दा सयौं नेपालीको जीवन सुरक्षामा हामी सहयोगी बन्न सक्यौं। यो मेरो जीवनको सबैभन्दा ठूलो सन्तुष्टि हो’, उनले सुनाए, ‘यसले हजारौं नेपालीलाई रोजगारीका नयाँ अवसर सिर्जना गर्न आशा जगायो।’

यसबाहेक वैदेशिक मुद्रा सञ्चितिमा चाप परेको बेला प्राधिकरणले विद्युत निर्यात, ऊर्जा दक्षता र स्वदेशी उत्पादन वृद्धिमार्फत पेट्रोलियम पदार्थको आयात घटाउन सफल भयौं, जसले देशको बहुमूल्य मुद्रा विदेशिनबाट जोगाएर अर्थतन्त्रलाई टेवा पु¥याएको उनको भनाइ छ।

’सरकारको निर्णयले २०७८ साउन २५ गते नियुक्त भएपछि कार्यकारी निर्देशकको रुपमा दोस्रोपटक नेविप्रामा सेवा गर्ने अवसर पाएँ,’ उनले भनेका छन्, ’कानुनअनुसार सेवा गर्न पाएकोमा गौरव भएको छ।

०८१ चैत १४ गते हटाइँदै गर्दा मकवानपुरको चेपाङ वस्तीमा काममै थिएँ। कतिपय व्यक्ति, समूह वा शक्तिले मलाई हटाउनुलाई सफल ठानेका होलान्। कार्यकारी निर्देशकबाट मात्र बिदा भएको हुँ, जिम्मेवार नागरिकको अभिभारा मबाट कहिल्यै कम हुनेछैन।’

घिसिङले आफू अदालतको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सरकारले प्राधिकरणबाट घिसिङलाई हटाएपछि उनी पुनर्वहालीका लागि अदालत गएका थिए । तर अदालतले उनको माग अनुसार मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

राजनीतिमा आउने सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफू जिम्मेवार नागरिक भइसकेको भन्दै उनले जिम्मेवार नागरिकको हैसियतले देशको हितका लागि जुनसुकै जिम्मेवारी लिन तयार रहेको पनि बताए । ‘म सदैव देशको हित र सम्मृद्धिको लागि कुनै पनि जिम्मेवारी लिन तयार छु’, घिसिङले कूटनीतिक जवाफ दिए ।

घिसिङले आफूलाई अझै जनताको स्नेह र आशीर्वादले हार्ने छुट नदिएको पनि बताए । उनले राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम सरकारले गरेको भन्दै यसमा सफल भएकोमा केही व्यक्तिले सफल ठानेको पनि बताए ।

‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय पर्याप्त सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारितापूर्वक खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित गराउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्,’ पत्रकार सम्मेलनमा घिसिङले भने, ‘नेपाली जनताले दिएको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन ।’

‘नेपालको कानुनले निदृष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खटिएको थियो, कसको स्वार्थको विषयमा ममाथि जाइलागेको थियो भन्ने नेपाली जनता आफैँ जानकार छन्’, उनको भनाइ छ ।

‘आम उपभोक्ता, सर्वसाधारणले मप्रति देखाउनुभएको माया, प्रेम र विश्वास मेरा प्रेरणाका स्रोत हुन्’, घिसिङले भनेका छन् । पत्रकार सम्मेलनमा घिसिङले आफ्नो कार्यकालमा भएगरेका कामका बारेमा समेत जानकारी दिएका थिए ।गत सातामात्रै घिसिङलाई हटाएर सरकारले हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

कुलमानले भनेका छन्, ‘मेरो नेतृत्वमा प्राधिकरणले गौरवपूर्ण यात्रा तय ग¥यो । निरन्तर घाटामा रहेको संस्था ऐतिहासिक नाफामा गयो, अर्बौं रुपैयाँ कमाउन सफल भयो । प्राधिकरणको सम्पती करिव ३ गुणा वृद्धि गरी आर्थिक र प्राविधिक रूपमा यसलाई सशक्त र आत्मनिर्भर बनाइयो ।

यो नाफा जनताकै सुविधा र विद्युत पूर्वाधार विकासमा पुनः लगानी भएको छ । नेपाल सरकारले बजेट नै नदिएको अवस्थामा समेत प्राधिकरणले आफ्नै स्रोत र साधनबाट विद्युतीकरणको काम गरिरहेको छ । जनताको घरघरमा विद्युत् पु¥याउनु नै मेरो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि हो ।

सुकुम्वासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत सेवामा पहुँच विस्तार गर्न निःशुल्क मिटर उपलब्ध गराएर विद्युतको पहुँच बिस्तार गरिएको छ। विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी गरिएको छ ।

गाउँ बस्तीको विद्युतीकरण मात्र हैन स्थानीय निकायहरूसँगको साझेदारीमा स्मार्ट सडक बत्ती बिस्तार गरी सहर उज्यालो बनाउने कार्यमा समेत ठूलो लगानी गरिएको छ । जनतालाई उज्यालो दिनु नै राष्ट्रहित विपरीतको अपराध हो ? यसको जवाफ देश र समाजले अवश्य खोज्नेछ भन्ने मेरो विश्वास छ । मलाई हतोत्साहित गर्ने जति धेरै प्रयास भए पनि म आफ्नो कार्यकाल र भूमिकाप्रति भने असन्तोष हुनुपर्ने कुनै कारण देखेको छैन ।’

कुलमान घिसिङको योगदानलाई अवमूल्यन गर्नु, उनलाई बर्खास्त गर्नु, राज्य नेतृत्वका लागि सामान्य विषय बनेको छ। तर यो विफलताको एक प्रतीक हो। राज्यबाट अपहेलित भएका कुलमान जनताको मनबाट भने हटेका छैनन् ।

अब उनी फेरि फर्कने छन्,शायद योपटक सिधा प्रणाली सुधार्न होइन, प्रणाली नै बनाउने नेताको रूपमा । यदि त्यो सम्भव भयो भने, नेपाली राजनीतिमा कार्यदक्षता र नैतिकताको नयाँ युग सुरु हुने सम्भावना प्रबल छ। कुलमानको ‘फेरि फर्कने’ संकेतले जनतामा आशा मात्र जगाएको छैन, अबको राजनीतिक विकल्पप्रति सोच्न बाध्य पनि बनाएको छ।

उनी अब केवल प्राविधिक व्यक्ति मात्र होइन, सेवामुखी नेतृत्वको प्रतिक बन्दै गइरहेका छन्। यदि उनी राजनीति प्रवेश गर्छन् भने, त्यो परम्परागत राजनीतिलाई चुनौती दिने प्रयास उनले गर्नेछन् ।

जहाँ सिद्धान्त भन्दा काम, वाचा भन्दा परिणाम र भाषण भन्दा प्रतिबद्धता प्रधान हुनेछ। यसको उदाहरण कुलमान बन्नेछन् । तर कुलमानमा रहेको जनताको सेवाभावको राजनीतिमा हुन् सक्ने अवतरणका लागि भने प्रतिक्षा नै गर्नुपर्नेछ । यसमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top