२५ चैत , काठमाण्डौ।
वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको हो ।
उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए । पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।
उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए । रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार पनि भएका थिए ।
उनले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित उनले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए ।
जनगणनाका क्रममा हाल भारतीय नियन्त्रणमा रहेको नेपाली भूभाग लिम्पियाधुरा क्षेत्रको समेत गणना गरेका थिए । वातावरण संरक्षणका लागि रिसालले लिएका पहल पनि सम्झनालायक छन् ।
५० को दशकमा स्थानीयस्तरका राजनीतिक कार्यकर्तालाई वातावरण संरक्षणको महत्त्व बुझाउन वातावरण पत्रकार समूहले जिल्लाजिल्लामा कार्यक्रम गरेको थियो । त्यसको परिकल्पनाकार रिसाल नै थिए ।
रिसालकै आग्रहमा भूगोलविद् हर्क गुरुङ विभिन्न जिल्ला पुगेका थिए । स्थानीयहरूलाई आधुनिक र उन्नत कृषि प्रणालीतर्फ अग्रसर गराउन पनि रिसाल सक्रिय थिए । आलु खेतीमै मात्र सीमित रहेका इलाम जसबिरेका किसानहरूलाई नयाँ कृषि प्रविधि प्रयोग गर्न, चिया र दूधजस्ता उत्पादनमा लाग्न प्रेरित गर्ने श्रेय पनि उनैलाई जान्छ ।
रिसाललाई सार्वजनिक आह्वानमार्फत स्रोत परिचालन गरेर दूरदराजका नागरिकलाई सेवा उपलब्ध गराउने अभियन्ताका रूपमा पनि सम्झिने गरिन्छ । उनकै अग्रसरतामा ५० कै दशकमा धादिङ र चितवनका चेपाङलाई रेडियो, बाजुराका सार्वजनिक स्कुलहरूमा शब्दकोश र कर्णाली उज्यालोजस्ता अभियान सञ्चालन गरिएको थियो ।
ती अभियानका लागि स्रोत जुटाउन उनले सार्वजनिक रूपमा आह्वान गरेका थिए । डा. देवेन्द्रराज पाण्डे अध्यक्ष रहेको स्वावलम्बन अभियानलाई पाल्पा, गोरखालगायत जिल्लामा फैलाउन पनि रिसाल सक्रियतापूर्वक लागेका थिए ।
गत वर्ष ९६ औं जन्मदिन मनाउँदासम्म पनि लेखन र समाजसेवामा सक्रिय रिसाल पछिल्लो एक वर्षयता भने स्वास्थ्यका कारण निष्क्रिय थिए । रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरवदाइ’ लगायत पुस्तक प्रकाशित छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।