४ जेठ , काठमाण्डौ।
आज पनि देशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । काठमाण्डौ उपत्यकामा बिहान हल्का वर्षा भएको छ । त्यस्तै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपलामा अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम आंशिक बदली रहने अनुमान छ ।
पहाडी क्षेत्रमा कतै कतै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा तराई÷मधेसमा हावाहुरीसहित पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
मधेसलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ । उच्च पहाडी तथा हिमाली एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । देशमा हाल रहेको पश्चिमी तथा स्थानीय वायुको साथै जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले अबको केही दिन बदली र वर्षाको सम्भावना रहने मौसमविद्ले जानकारी दिएका छन्।
बदली र वर्षाको मात्रा बढेसँगै हिजोदेखि नै देशका धेरै स्थानको तापक्रम पनि केही घटेको छ । अब आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही रहने सम्भावना छ ।
प्रि–मनसुनी प्रणाली अझै केही दिन रहने मौसमविद्को अनुमान छ । उता अमेरिकामा पनि शक्तिशाली आँधीले जनजिवन अस्तव्यस्त पारेको छ । त्यहाँका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण २५ बढीको मृत्यु भएको छ ।
आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या विद्युत्बिहीन बनेको छ । केन्टुकीका गभर्नर यान्डी बेशरले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै आँधीका कारण केन्टुकीमा १८ जनाको मृत्यु भएको र मिसौरीमा सात जनाको मृत्यु भएको बताएका छन् ।
केन्टुकीको दक्षिणपूर्वमा रहेको लरेल काउन्टीमा स्थानीय समयअनुसार शनिबार बिहान आँधी आएको थियो । अधिकारीहरूले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।
मिसौरीका अधिकारीहरूले शुक्रबारको आँधीबेहरीका कारण पाँच हजारभन्दा बढी भवनमा क्षति पुगेको बताएका छन् । क्षतिग्रस्त घरका छाना उडेका छन् भने विद्युत् सेवा अवरुद्ध भएको छ ।
सेन्ट लुइसमा करिब एक लाख घरहरु विद्युत कटौतीका कारण प्रभावित भएका छन् । हावाहुरीले बढी प्रभाव पारेका स्थानहरुमा घरघरमा गएर निरीक्षण भइरहेको अग्नी नियन्त्रण विभागले जनाएको छ ।