सरकार ढलिहाल्ने प्रचण्डको तुक्का सत्य हुन लागेको हो ?

सरकार ढलिहाल्ने प्रचण्डको तुक्का सत्य हुन लागेको हो ?

५ जेठ , काठमाण्डौ।

नेपाली काँग्रेस र एमालेले आफूहरुको सरकार बलियो रहेको सुरुसुरुमा दाबी गरिरहँदा विपक्षी माओवादी केन्द्रले यो सरकार ढल्नै लागेको, आज हो कि भोलि हो, सरकार धेरै लामो जाँदैन भन्दा त्यति विश्वास लाग्दैन थियो ।

सत्ता गठबन्धनले माओवादी र यसका अध्यक्ष प्रचण्डका ती दाबीहरुलाई सत्ता छाड्दाको पीडा, कुण्ठा, छटपटाहट भन्ने गर्थे । हुन् पनि सुरुसुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेसबाट जसले आलोचना वा विरोध गर्छ भन्ने थियो, तिनिहरुले नै दुई दलको सम्यन्त्रमा बसेर र बाहिर पनि सरकारको बचाउ गरेर पुरापुर साथ दिएका देखिन्थे ।

शेखर कोइराला तिनै थिए, जसले सुरुमा एमाले र काँग्रेसको गठबन्धन बन्नु पर्छ भन्दै लविङ गरेका थिए । यसका लागि उनी एकाध पटक ओलीसंग गफिएका समाचारहरु पनि बाहिर आए ।

अर्का महामन्त्री गगन थापाले ओली नेतृत्वको सरकारलाई सफल बनाउन आफूले हरसम्भव प्रयास गरेको दाबी आज पनि गरिरहेका छन् । उनी दुई दलिय संयन्त्रमा छन् र ओली नेतृत्वको सरकारले राम्रो डेलिभरी दिन नसकेको बरु विवादमा फस्दै गएको आरोप लाग्दा गगन पहिलाका केही महिना बोलेको सुनिएन ।

प्रखरवक्ता र कडा आलोचकको पहिचान बनाएका गगनमाथि सरकारमा गएपछि निम्छरो बनेको, अरुजस्तै सत्ताभोगी बन्न लागेको भन्दै आलोचना थुप्रै सुनिएको थियो । सभापति शेरबहादुर देउवाले त ओलीको प्रशंसामा पुल नै बाध्ने गरेका थिए ।

उनले ओली आफ्नो जेलदेखिकै हितैषी भएको, राम्रो मान्छे, काम गर्ने मान्छे भएको भनिरहकै थिए । यता ओलीले पनि काँग्रेससंग राम्रो समझदारी भएको र तोकिएकै मितिमा देउवालाई प्रधानमन्त्रीको कुर्सी छाड्ने पटक पटक दोेहोर्याइरहेका थिए ।

एमालेका अन्य नेताहरुले पनि काँग्रेसबाट राम्रो साथ पाएको भनिरहेका थिए । यस्तोमा माओवादीका नेताहरु र खासगरी प्रचण्डले जहाँ गयो त्यही सरकार ढलिहाल्छ भनिरहँदा ठाक्यै पत्याइहाल्ने अवस्था थिएन ।

हुन पनि प्रचण्डले भनेजस्तो सरकार आज हो कि भोली ढल्ने अवस्था १० महिनासम्म देखिएन पनि । तर अहिले अवस्था फेरिएको जस्तो देखिन थालेको छ । एमाले र काँग्रेसका नेताहरुको बोली पनि फेरिन थालेको छ ।

शेखर, गगनहरु खुलेरै ओली नेतृत्वको सरकारले काम गर्न सकेन भन्न थालेका छन् । गगनले त विचौलिया प्रधानमन्त्रीको बेडरुमसम्म पुगेको आरोप लगाएका छन् । देउवाले पनि ओली सरकारका बारेमा पार्टीका नेताहरुले रिपोर्टिंग गर्दा विचार गर्नुपर्ने अवस्था रहेको भन्न थालेका छन् ।

यता प्रधानमन्त्री ओलीले पनि गगनहरुलाई कडा जवाफ दिएका छन् । विचौलिया पुगेको प्रमाण ल्याउन चुनौती दिइरहेका छन् । काँग्रेसका नेताहरुले जथाभावी बोल्दै हिड्न थालेको आरोप लगाएका छन् ।

हिजोसम्म देउवालाई प्रधानमन्त्रीको कुर्सी छाड्दा दिन गिन्ती गराउने गरेका ओलीले अहिले भने कटाक्ष गर्दै देउवालाई किस्तीमै सजाएर लु खाउ प्रधानमन्त्री भन्दै आफुले भन्न थालेका छन् ।

अहिले ओलीको बोलीको जुन टोन छ, यसले उनी काँग्रेस र देउवाप्रति कति चिढिएका छन् भन्ने देखाउँछ । यसैकारण हो अब उनले देशको विकास सुशासनका लागि एमालेको बहुमतको सरकार नै चाहिन्छ भन्न थालेका छन् ।

यसको अर्थ हो अहिलेको काँग्रेससंगको गठबन्धनको सरकार जुन दुई तिहाईको बलियो छ, यसले काम गर्न नसकेको उनले पनि निश्कर्ष निकालेको बुझ्न सकिन्छ । हिजोसम्म काँग्रेसका नेताहरुले ओली र उनको नेतृत्वको सरकारमाथि काम गर्न नसकेको र विवादमा बढी फसेको आरोप लगाइरहँदा अब ओलीले पनि काँग्रेसमाथि यस्तै आरोप लगाउन सुरु गरेका हुन् ।

उनले काँग्रेसको साथमा काम गर्न नसकेको बताएका हुन् । यसबीच राष्ट्रबैंकको गभर्नर नियुक्ति प्रकरणले दुई दलबीच निकै फाटो ल्याइसकेको विश्लेषण पनि भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्डको देउवालाई फोन र लगत्तै उपमहासचिव जनार्दन शर्माको देउवासंगको भेटले काठमाडौँमा नयाँ केही पाक्दै गरेको आशंका बढेको छ ।

प्रचण्डले डडेल्धुराबाट फोन गरेकै दिन उपमहासचिव जनार्दन शर्मा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास पुग्नुले राजनीतिमा भित्रभित्रै केही पाकिरहेको हुन सक्ने आशंका गरिएको छ ।

यसअघि प्रचण्डले पनि एमालेसंगको सम्बन्ध तोडेर नयाँ सरकार बनाउन देउवालाई सुझाएका थिए । संसदको पहिलो दलको नाताले सरकार काँग्रेसले चलाउनु पर्ने र यसमा आफूहरुले सहयोग गर्ने उनले बताएका थिए ।

यसैपनि संस्थापन इतर पक्षले सरकार गठनको केही महिनायता निरन्तर आलोचना गर्दै आएकोमा पछिल्लो समय कांग्रेसमा असन्तुष्टिको स्वर झन् बढ्दै गएको छ । प्रधानमन्त्रीको पालो कुरिरहेका सभापति देउवा र मन्त्रिपरिषद्मा रहेका बाहेक अधिकांश कांग्रेस नेताहरू सरकारको कार्यसम्पादनप्रति सन्तुष्ट छैनन् ।

विवादित कदम र निर्णयका कारण सरकारको आलोचना जनस्तरबाटै बढ्दै गएपछि त्यो अपजस लिन नपरोस् भन्ने मनस्थितिमा उनीहरु देखिन्छन् । अर्कातिर ओली नेतृत्वको सरकारलाई दक्षिणको छिमेकीले पनि खासै रुचाएको छैन ।

यस्तोमा भित्री र बाह्य शक्तिको चाहना र राष्ट्रिय राजनीतिमा देखिएको घटनाक्रम कांग्रेस–एमाले गठबन्धन अनुकूल नरहेको विश्लेषण हुँदै आएको छ । प्रतिपक्ष सरकारको विरोधमा उत्रिनु स्वभाविक भए पनि सत्तासीनभित्रै किचलो हुनु र छिमेकीले पनि नरुचाउनाले अहिले भित्रभित्रै केही पाकिरहेको ठानिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.