६ जेठ , काठमाण्डौ ,एजेन्सी ।
आज पनि विहानैदेखि देशका विभिन्न ठाउँमा वर्षा भएको छ । कर्णाली प्रदेशबाहेक देशका सबैजसो ठाउँमा पानी परेको हो । जल तथा मौसम पूर्वाअनुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि नै वर्षा भएको हो ।
विहान कोशी, मधेश, बागमती, गण्डकी, प्रदेशमा पानी पर्यो । ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले बताएको छ । आज दिउँसो पनि विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र मधेस प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
अनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना छ । मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ ।
साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव छ । सोही कारण मौसम बदली वर्षा, हुरी र हिमपात भइरहेको हो । देशका केही ठाउँमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरको छ ।
महाशाखाका अनुसार अबको तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको छ । यसैबीच नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ । नौ सय आठ जना घाइते भएका छन् । देशका सबैजसो क्षेत्र चट्याङको जोखिममा छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेको बताएको छ । २०७८ साउनदेखि २०८२ जेठ ५ गते हिजोसम्मको तथ्याङकमा चट्याङका एक हजार एक सय १८ वटा घटना भएका छन् ।
एक हजार ६ सय ७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौं स्थानमा पर्छ । विशेषगरी घरगोठ र अग्ला रुख तथा टावरमा चट्याङ पर्छ । बर्खामा किसान चट्याङबाट बढी प्रभावित हुने गरेका छन् ।
चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा धेरै रहेको छ । विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा ५१ जनाको ज्यान गएको र ८४ जना घाइते भएका छन् ।
त्यस्तै कोशीमा तीन सय ६६ घर प्रभावित बनेका छन् । कोशीमा चट्याङका कारण एक करोड ६० लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ । प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको ज्यान गएको छ भने तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ ।
लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित भएका छन् । सहसचिव श्रेष्ठका अनुसार सुदूरपश्चिममा ३५, मधेशमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् ।
प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना घाइते भएका छन् । नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ रहेको छ ।
चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने प्राधिकरणले जनाएको छ । यस अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ । हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाका कारण नेपालमा बढी चट्याङ पर्ने गरेको छ ।
चट्याङलाई रोक्न नसकिने तर यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने विज्ञहरुको भनाइ छ । सचेतना नै चट्याङबाट हुनसक्ने क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय भएको उनीहरु बताउँछन् ।
सर्वेक्षणबाट ८० प्रतिशत मानवीय क्षति कामकाजी मानिस खुला स्थानमा जाँदा भएको पाइएको छ । खेतमा काम गर्ने, घाँस दाउरा गर्ने र गाईवस्तु चराउनेलगायतका काम बिहान अर्थात् मध्यान्ह अगाडि नै गरिसक्ने र मेघगर्जनका बेला खुला ठाउँमा नजाने हो भने मानवीय क्षति न्यूनीकरण हुने बताइन्छ ।
जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर एक घण्टा अघि जानकारी दिने राडार उपकरण जडान गरे पनि तीन वटै राडार बिग्रिएर थन्किएका छन् ।
ती राडार मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएमा आधा घन्टादेखि एक घन्टाअघि चट्याङ पर्ने क्षेत्रको बारेमा जानकारी पाउन सकिने जलवायु विज्ञले जानकारी दिएका छन् । राडारले बादल बन्ने प्रक्रिया मोनिटरिङ गरेर चट्याङ पर्ने ठाउँको विश्लेषण गर्ने गर्छ ।
घर तथा ठूला भौतिक संरचना निर्माण गर्दा चट्याङको प्रभाव पर्न नदिने वैज्ञानिक उपकरण जडान अनिवार्य गर्ने हो भने यसबाट हुनसक्ने जोखिमबाट बच्न सकिने विज्ञहरु बताउँछन् ।