६ जेठ , एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फेरि फोनवार्ता गरेका छन् । उनीहरुबीच दुई घण्टा कुराकानी गरेपछि ‘रुस–युक्रेन’ युद्धविराम वार्ता तुरुन्त शुरु गर्ने ट्रम्पले बताएका छन् ।
ट्रम्पसँगको कुराकानीपछि रुसी नेताले समेत युक्रेन सम्झौतामाथि चर्चा गर्न आफुहरु तयार रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपतिले पुटिनसँग आफ्नो सम्बन्धबारे लामो कुरा गरेको र यसबीच रुस–युक्रेन युद्धविरामबारे विशेष कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उता, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलन्स्कीले ट्रम्पसँग युक्रेनबारे ‘हामीबिना कुनै निर्णय नलिनू, कारण किभ अन्तर्राष्ट्रिय नेताहरुसँग उच्चस्तरीय बैठकबारे विचार गरिरहेको छ’ भनेका छन् ।
लडाईंबारे कुनै पनि प्रकारको वार्ता हुनु पहिले समेत छुट्टै कुराकानी हुने कुरा जेलेन्स्कीले उल्लेख गरेको आफ्नो युक्रेन संवाददाता जेम्स वाटरहाउसको हवाला दिँदै बीबीसीले जनाएको छ ।
रुसी समाचार एजेन्सी तासको रिपोर्ट अनुसार क्रेमलिनका विदेश नीति सल्लाहकार यूरी उशाकोभले युक्रेन युद्धविरामका लागि वार्ता शुरु गर्ने बताए पनि समय सीमाबारे भने कुनै कुरा नभएको उल्लेख गरेका छन् ।
तासले रुसी राष्ट्रपति पुटिनले किभलाई कुराकानीको तहमा ल्याउन ट्रम्पले खेलेको भूमिकाको प्रशंसा गरेको र दुबै पक्ष आफ्नो कुराकानी जारी राख्ने मनस्थिति बनाएको समेत उल्लेख गरेको छ ।
ट्रम्पले भने फोन संवाद ’एकदम राम्रो’ भएको बताउँदै दुई पक्षबीच शान्तिका शर्तहरूबारे सहमति हुनु पर्ने भनेका छन् । पुटिनले ’सम्भावित भावी शान्ति सम्झौताबारे समझदारी’का निम्ति युक्रेनसँग मिलेर काम गर्न आफू तयार भएको बताएका छन् ।
जेलेन्स्कीले चाहिँ ’यो निर्णायक घडी’ भएको बताए अनि अमेरिकालाई यी संवादहरूबाट नटाढिन आग्रह गरे । पुटिनसँगको वार्ताबारे ट्रम्पले सकारात्मक टिप्पणी गरे पनि रुस–युक्रेन शान्ति वार्ता कहिले सुरु हुन्छ भनेर कुनै सङ्केत दिइएको छैन ।
साथै अमेरिका तथा युरोपेली देशहरूले रुसी राष्ट्रपतिलाई ३० दिने निशर्त युद्धविराम गर्न गरेको आग्रहको पनि पुटिनले जबाफ दिएका छैनन् । ट्रम्पसँगको वार्तापछि जेलेन्स्कीले ’पूर्ण तथा निशर्त युद्धविराम’का लागि युक्रेनको इच्छा पुनः प्रकट गरे ।
यदि मस्को तयार नभए ’अझै कडा आर्थिक प्रतिबन्ध’हरू लगाइनु पर्ने पनि उनले बताए । ट्रम्पसँग कुरा हुनुभन्दा अगाडि बोल्दै गर्दा जेलेनस्कीले युक्रेनबारेका कुराकानीमा उनको देशलाई सामेल गराउनै पर्ने र त्यो ’सैद्धान्तिक मान्यता’को विषय भएको बताए ।
उनले रुससँग हुने संवादको प्रक्रियामा ’अमेरिकी तथा युरोपेली दुवै पक्षका उचित तहका प्रतिनिधिको सहभागिता हुनै पर्ने’ बताएका छन् । “अमेरिका यी संवादबाट नटाढिने विषय हामी सबैका लागि अनि शान्तिका लागि जरुरी छ किनभने त्यसो हुन गयो भने केवल पुटिनलाई फाइदा पुग्छ,“ उनले भने ।
फोन वार्तहरूपश्चात् ह्वाइट हाउसमा भएको एक छुट्टै समारोहका बेला बोल्दै ट्रम्पले रुस र युक्रेनको संवाद मध्यस्थता गर्ने कार्यबाट अमेरिका पछि नहट्ने भनेका छन् । तर आफ्नो ’दिमागमा लक्ष्मण रेखा’ भएको र यदि त्यो नाघियो भने चाहिँ उनले दुवै पक्षलाई आग्रह गर्ने कार्य रोक्ने बताए ।
हालैका साताहरूमा मस्को र किएभबीच शान्तिका विषयमा प्रगति नभएकोमा निराश ट्रम्पले अब अमेरिका यी सहजीकरणका कार्यबाट फिर्ता हुने चेतावनी बारम्बार दिएका छन् । रुसबारे उनको पछिल्लो विश्वासका सम्बन्धमा प्रश्न गर्दा पुटिनलाई युद्ध धेरै भएको र त्यसलाई अन्त्य गर्न उनले चाहेको आफूलाई लागेको ट्रम्पले बताए ।
ट्रम्पले फोन गर्दा सोची सहरमा एक सङ्गीत विद्यालयको भ्रमणमा रहेका पुटिनले उक्त फोन संवाद ’खुलस्त, जानकारीमूलक एवं रचनात्मक’ भएको टिप्पणी गरे। उनले युद्धविराम सम्भावनाको पनि कुरा गरे ।
“हामी अमेरिकी राष्ट्रपतिसँग केमा सहमत भएका छौँ भने रुसले सम्भावित भावी शान्ति सम्झौतासम्बन्धी समझदारीका निम्ति प्रस्ताव गर्ने छ र त्यसमा युक्रेनसँग मिलेर काम गर्ने छ,“ उनले भने ।
उनका अनुसार यसले ’कतिपय अडानहरू’ परिभाषित गर्ने छ जसमा ’सहमतिका सिद्धान्तहरू अनि सम्भावित शान्ति सम्झौता सम्पन्न गर्ने समयसारिणी साथै आवश्यक सहमति भएको खण्डमा निश्चित अवधिका निम्ति सम्भावित युद्धविराम’का विषय पनि रहने छन् ।