६ जेठ ,काठमाण्डौ।
कांग्रेस नेता तथा अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित सर्वोच्च अदालत पुगेको रिट दरपिठविरुद्ध निवेदनमाथि आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाइ हुँदै छ ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले इजलासमा निवेदन पेस गरेका हुन् । पौडेललाई गभर्नर नबनाउन मागसहितको रिट सर्वोच्च अदालत पुगेकामा प्रशासनले गत शुक्रबार दरपिठ गरिदिएको थियो ।
दरपिठको निर्णय बदर हुनुपर्ने मागसहित अधिवक्ताहरूले सोमबार इजलासमा निवेदन पेस गरेका थिए । यता गभर्नर बन्नका लागि पौडेलले भने गभर्नर सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् ।
योजना आयोगका पूर्वउपाध्यक्ष पौडेलले सिफारिस समितिबाट राजीनामा दिएपछि उनी नै गभर्नर बन्न लागेको चर्चाबीच सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्चमा वैशाख ३० गते रिट पेस भएको थियो ।
तर उक्त रिट सर्वोच्च अदालतले जेठ २ गते दरपीठ गरेको थियो । शुक्रबार सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ‘अपरिपक्व’ भन्दै रिट दरपीठ गरेका थिए । ‘समाचारमा मात्रै आएको हुनाले अपरिपक्व अवस्था रहेको र सामूहिक अधिकार हनन् भयो भन्ने दाबी कसरी भएको हो भन्ने खुलाउन नसकेको,’ भन्दै रजिष्ट्रार पोखरेलले रिट दरपीठ गरेका हुन् ।
उक्त रिट विरूद्ध अधिवक्ता उप्रेती र थापाले निवेदन दिएसँगै मंगलबार न्यायाधीश मल्लको इजलासमा सुनुवाइ हुन लागेको हो । उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले गभर्नर बन्न नमिल्ने तर्क गरेका छन् ।
यसैबीच आज प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो।
सोमबार प्रधानमन्त्री ओली र सभापति देउवाबीच कुराकानी गर्ने भने पनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले नै सभापति देउवालाई ’मलाई सञ्चो भएन, आज भेट नगरौं’ भनेका थिए ।
प्रधानमन्त्री ओली र सभापति देउवाबीच आज समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लामो समयदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन नसकिरहेका बेला उनीहरूबीच यस विषयमा पनि कुराकानीे भएको छ ।
गभर्नरमा सभापति देउवाले यसअघि नै अर्थविद् प्रा.डा. विश्व पौडेलको नाम प्रधानमन्त्रीलाई दिइसकेका थिए । अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद बैठकले नियुक्त गर्ने व्यवस्था छ ।
तर गभर्नर सिफारिस समिति बैठक अहिलेसम्म बस्न सकेको छैन । गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त छ । गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल चैत २४ मा सकिएको थियो । गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नै नयाँ गभर्नर सिफारिस प्रक्रिया सुरू गर्नुपर्नेमा ढिलाइ भएको थियो ।
यसबीच प्रधानमन्त्रीसँगको छलफलमा सुरूमा सभापति देउवाले राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने विषयमा छलफल भए पनि प्रधानमन्त्री ओली तयार भएका थिएनन्, त्यसपछि पौडेलको नाम आएको थियो ।