सुदूरमा भारी वर्षा, बाढीको जोखिमः कोशी,बागमती र गण्डकीमा चेतावनी

२३ असार ८२, मंगलबार
२४  असार , काठमाडौं ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा लगातारको वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बैतडीको गोठलापानी, सिद्धपुर, दार्चुलाको गोकुले क्षेत्र वरपर, डडेलधुराको साहुखर्क, डोटीको पश्चिम सेती, दीपायल, झिंग्राना, बझाङको कालुखेती आसपास र अछामका धेरैजसो ठाउँमा वर्षा भएको छ ।
त्यस्तै, कैलालीको लम्की र टीकापुर वरपर तथा कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा पनि पानी परेको छ । विभागले आज देशका विभिन्न स्थानमा भारी वर्षासँगै ठुला बाढीसमेत आएको जनाएको छ ।
सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रहरूमा समेत पानी परिरहेका कारण बाढी, पहिरो र डुबानको सम्भावना बढेको विज्ञहरूले बताएका छन् ।
यस्तो अवस्थामा जल तथा मौसम विज्ञान विभागले स्थानीयवासीलाई सतर्क रहन र सम्भावित क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस्तै आज कोशी, बागमती, गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
गएराति पनि सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी परेको थियो । उता भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुगेको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशीमा ठूलो बाढी आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “प्रारम्भिक रूपमा यस बाढीको प्रभाव त्रिशूली नदीको बूढीगण्डकी दोभान (बेनिघाट) आसपाससम्म पर्ने देखिएकोले आज दिउँसोसम्मै सतर्कता जरुरी देखिएको छ,” विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
बाढीबारे आफूहरूले अनुसन्धान गरिरहेको र सम्भावित कारणको अध्ययन थालेको महाशाखाका हाइड्रोलोजिस्ट सागर मिश्रले बताए । “हामीले अध्ययन, अनुसन्धान गरिरहेका छौँ,” उनले भने, “प्रारम्भिक रूपमा हेर्दा भारी वर्षा भएको देखिँदैन ।”
उक्त बाढीको असर नुवाकोट जिल्लासम्म पर्न सक्ने उनले बताए । नुवाकोटवासीलाई समेत एसएमएसमार्फत सतर्क रहन आग्रह गरिएको उनले जानकारी दिए । तिब्बत र नेपालतर्फ पनि उक्त समयमा भारी वर्षा भएको नदेखिएको उनले बताए ।
“अध्ययनपश्चात् यसबारेमा हामी पछि विस्तृत जानकारी गराउनेछौँ,” उनले भनेका छन् । पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि उक्त क्षेत्रमा भीषण वर्षा भएको नदेखिएको बताएका छन् ।
“विगत १२ घण्टाको मौसमी गतिविधि स्याटेलाइट तस्बिरहरूमा हेर्दा,  तिब्बतको भूभागमा पर्ने केरुङ जलाधार क्षेत्रमा त्यस्तो भीषण वर्षा भएको देखिन्न,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
रसुवामा ठूलो बाढीका विभिन्न कारण हुन सक्ने उनले उल्लेख गरेका छन् । “त्यसैले रसुवागढीको बाढीको प्रारम्भिक कारण हेर्दा, ठूलो वर्षासँगै थप अन्य तीन कारण हुन सक्छन् ।
१) हिमताल विस्फोटन, २) हिमपहिरो वा ३) भीषण पहिरो जसले प्राकृतिक बाँध निर्माण हुन गई नदीको बहावलाई केही बेर रोक्यो र पछि बाँध फुटेर भीषण बाढीको रूप लियो । बाँकी आउँदो समयमा थाहा होला,” उनले लेखेका छन् ।
यसैबीच   रसुवाको भोटेकोसी नदीमा आएको बाढी हाल घट्दो क्रममा छ । उक्त बाढी चीनको स्वशासित क्षेत्र तिब्बतमा उत्पन्न भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बाढी घट्दो क्रममा रहे पनि रसुवागढीदेखि धादिङको बेनिघाटसम्म त्रिशूली नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“असार २४ गते, बिहान ९ः४५ बजे । रसुवा जिल्लास्थित भोटेकोसी नदीमा अवलोकन भएको बाढी तिब्बतको क्षेत्रबाट उत्पन्न भएको र हाल घट्दो क्रममा रहेको भएता पनि सम्भावित जोखिमलाई ध्यानमा राखी त्रिशूली नदीको रसुवागढीदेखि धादिङ जिल्लाको बेनिघाटसम्म त्रिशूली नदीतटीय क्षेत्रमा अर्को सूचना जारी नहुँदासम्म सतर्कता अपनाइराख्न हार्दिक अनुरोध गर्दछौँ,” विभागको सूचनामा उल्लेख छ ।
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top