८ साउन , काठमाण्डौ ।
विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल ९५औं स्थानमा परेको छ । हेन्ली पासपोर्ट सूचकांक २०२५अनुसार विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट सातौं स्थानमा परेको हो ।
नेपाली पासपोर्ट ९५ औँ स्थानमा छ । हेन्ले पासपोर्ट इन्डेक्सले विश्वभरका देशहरूको पासपोर्टको शक्ति देखाउँछ। जसमा १९९ राहदानीहरू समावेश छन्। तर धेरै देशहरू एउटै वरीयतामा रहेकाले ९९ औँसम्मको र्याङ्किङ जारी गरिएको छ ।
नेपालसँगै लिबियाको पासपोर्ट पनि ९५ औँ स्थानमै छ । गत वर्ष सन् २०२४ मा नेपालको पासपोर्ट ९८ औँ स्थानमा थियो । नेपालपछि पाकिस्तान, सोमलिया, यमन, इराक, सिरिया र अफगानिस्तान छन् ।
२००६ मा नेपाली पासपोर्ट ७६ औं स्थानमा रहेको थियो भने २०२२ मा एक सय ५ औं स्थानमा रहेको थियो । सबैभन्दा अन्तिममा अफगानिस्तानको पासपोर्ट रहेको छ ।
विश्वका पासपोर्टमध्ये कुन पासपोर्टले कति देशमा फ्री भिसा र भनेकै बेला भिसा पाएर प्रवेश गर्न सकिन्छ भन्ने आधारमा सूचकांक तयार पार्ने गरिन्छ । नेपालबाट अहिले ३८ देशहरूमा भिसा–मुक्त वा आगमनमा भिसा सुविधा छ।
छिमेकी मुलुक भारत ८५औं स्थानबाट ७७ औं स्थानमा पुगेको छ । भारतमा अब कुल ५९ देशहरूमा भिसा–मुक्त वा आगमनमा भिसा सुविधा छ। यो अघिल्ला वर्षको तुलनामा थोरै वृद्धि हो ।
२०२५ मा चीनको वरीयता पनि उल्लेखनीय रहेको छ। २०१५ मा ९४ औं स्थानमा रहेको चीन अब ६० औं स्थानमा पुगेको छ । बेलायत छैटौं स्थानमा झरेको छ भने अमेरिका १० औं स्थानमा पुगेको छ । धेरै युरोपेली देशहरू तेस्रो र चौथो स्थानमा छन् ।
फ्रान्स, जर्मनी, आयरल्याण्ड, इटाली र स्पेनजस्ता देशका मानिसहरू १८९ देशहरूमा भिसा–मुक्त यात्रा गर्न सक्छन्,जबकि अस्ट्रिया, बेल्जियम, स्वीडेन र पोर्चुगल जस्ता देशहरू चौथो स्थानमा छन् ।
हेन्ली सूचकांक २०२५ मा सबैभन्दा शक्तिशाली पासपोर्ट सिंगापुर हो, जसका नागरिकहरूले १९३ देशहरूमा भिसा–मुक्त प्रवेश पाउँछन्। सिंगापुरले जापान र दक्षिण कोरियालाई उछिनेर शीर्ष स्थान ओगटेको हो ।
जापान र कोरिया संयुक्त रूपमा दोस्रो स्थानमा छन्, जसका नागरिकहरूले १९० देशहरूमा भिसा–मुक्त यात्रा गर्न सक्छन् । यस्तै डेनमार्क, फिनल्याण्ड,फ्रान्स जर्मनी, आयरल्याण्ड, इटली र स्पेन समान तेस्रो स्थानमा रहेका छन् ।
हेन्ले पासपोर्ट इन्डेक्सले विश्वभरका देशहरूको पासपोर्टको शक्ति देखाउँछ। जसमा १९९ राहदानीहरू समावेश छन्। तर धेरै देशहरू एउटै वरीयतामा रहेकाले १०९ औँसम्मको र्याङ्किङ जारी गरिएको छ ।