विराटनगर, असोज १८
१ नं. प्रदेशको स्थायी विराटनगरलाई नै बनाउन माग गर्दै विराटनगरका ६३ वटा विभिन्न सामाजिक संघ संस्थाले १ नम्बर प्रदेशसभाका सभामुख र मुख्यमन्त्रीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
पर्याप्त पूर्वाधार र सामथ्र्यका आधारमा राजधानी बन्न विराटनगर नै उपयुक्त भएको उनीहरुको तर्क छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघको अगुबाईमा विभिन्न संघ संस्थाले राजधानी हुने आधार सहित ज्ञापनपत्र बुझाएका हुन् ।
उद्योगी व्यावसायीहरुले राजधानीको पर्याप्त आधार हुँदा हुँदै अन्यत्र लगे संघीयता र समृद्धिको नारा सार्थक नहुने भन्दै सभामुख भण्डारीको ध्यानाकर्षण गराएका थिए । ज्ञापन पत्र बुझ्दै सभामुख प्रदीपकुमार भण्डारीले विराटनगरका सरोकारवाले उठाएका उपयुक्त सुझावको विषयमा सम्बन्धीत ठाउँमा जानकारी दिने बताए ।
यस्तै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राजधानीको विषयमा संसदले ठोस निर्णय गर्ने भएको कारण अहिले नै आत्तिन नहुने बताए । प्रदेशको नाम र राजधानीको टुंगो लगाउन नेकपाको संसदीय दलमा छलफल भइसकेको छ भने नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ ।
प्रदेशसभाको २ तिहाई मतले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने संवैधानिक व्यवस्था छ । सरकारले संसदको यही अधिवेशनमा यो विषयलाई टुंग्याउने तयारी गरेको छ ।