३ कार्तिक , काठमाण्डौ ।
यस वर्ष देशले तिहारलाई केवल उत्सवको रूपमा होइन, एउटा गहिरो घाउ बोकेको आत्माको उपचारको रूपमा स्वागत गर्दै आजबाट बिदा गर्दैछ । केही हप्ताअघि मात्रै हाम्रो देशले एउटा यस्तो अभूतपूर्व पीडा भोग्यो, जसले इतिहासको कुनै पनि कालखण्डमा नदेखेको र नभोगेको घटना नेपालीहरूले देख्न बाध्य भए।
जेनजी आन्दोलनका क्रममा ७६ जना निर्दोष नेपाली युवाहरूले ज्यान गुमाए, सयौँ घाइते भए र अझै पनि अस्पतालका शय्याहरूमा जीवन र मृत्युको दोसाँधमा छट्पटाइरहेका छन् ।
सरकारी र गैरसरकारी सम्पत्तिको ठूलो क्षति भयो, जसले देशको आत्मा र मन दुवैलाई हल्लाइदियो । यो पीडाको बीचमा आएको दशैंपछि आज तिहार पनि दाजुभाइ तथा दिदीबहिनीको दीर्घायुको कामनासहित सप्तरंगी टीका र मखमली माला लगाएर समापन गरियो ।
तर, यो तिहार ती तमाम क्रान्तिवीरहरूका लागि पीडादायी बनेको छ, जसले जेनजी आन्दोलनमा आफ्ना दाजुभाइ गुमाएका छन्। उनीहरूले गत वर्ष आफ्ना दाजुभाइको दीर्घायुको कामनासहित लगाएको भाइटीकाको स्मरण गर्दै आँसुका बलिन्द्र धारा बगाएका छन्।
हरेकले यस वर्षको तिहार नआई गत वर्षकै तिहार मात्रै सदैव दोहोरिरहेको भए आफ्ना दाजुभाइ आफूबाट कहिल्यै टाढा नहुने कल्पना गरेका छन्। त्यो निधारमा अङ्कित टीका, काँधमा सजिएको मखमली माला र मनमा सधैँ गुञ्जिरहने दाजुभाइको हाँसोले यस वर्ष उनीहरूको हृदयलाई झनै छिया छियाँ बनाइदिएको छ।
तिहारको उल्लास र झिलिमिलीको बीचमा पनि उनीहरूको मनभित्र एउटा कहिल्यै नमेटिने घाउले पिरोलिरहेको छ, जुन घाउलाई कुनै पनि उपचारले निको पार्न सक्दैन।
तर, यो भातृत्व प्रेमका बीचमा पनि देशका लागि प्राण आहुती दिएका आफ्ना दाजुभाइप्रति उनीहरूले गर्व महसुस गर्दै उनीहरूको रगतले सिञ्चित जेनजी आन्दोलनका मागहरू अक्षरशः पालना हुनुपर्ने अडान लिएका छन्।
उनीहरूका आँखामा बगेका आँसु केवल व्यक्तिगत वियोगका मात्र होइनन्, ती आँसुमा देशप्रतिको प्रेम, अन्यायविरुद्धको आक्रोश र परिवर्तनको दृढ सङ्कल्प पनि लुकेको छ।
७६ जना युवाहरूले आफ्नो जीवन बलिदान दिए, सयौँले शारीरिक र मानसिक पीडा भोगे, आखिर किन? के उनीहरूको बलिदान व्यर्थ जाने हो त? के उनीहरूले उठाएका मागहरूलाई ओझेलमा पारेर उनीहरूकै कदमलाई असंवैधानिक भन्दै कसुरदार ठहर गर्ने प्रपञ्चलाई हामीले चुपचाप हेरेर बस्ने हो त ?
दीपावलीको उज्यालो देशभर फैलियो, जताततै आजसम्म पनि बत्तीको झिलिमिलीले देश ढाकिएको छ । हामी ती तमाम दियोहरूमा श्रद्धा, शान्ति र पुनर्जागरणको अर्थ खोज्दैछौं।
दियो केवल अँध्यारो हटाउने साधन होइन, यो आशा र जिम्मेवारीको प्रतीक हो। जसले देशका लागि आफ्नो जीवन समर्पण गरे, उनीहरूको त्याग देशमा परिवर्तनको प्रकाश बनोस्, न्याय र सुधारको बाटो उज्यालो पारोस्।
उनीहरूले आफ्नो ज्यानको आहुति दिएर जुन आवाज उठाए, त्यसलाई कुल्चिने प्रयास गरिनु देश र जनताप्रतिको सबैभन्दा ठूलो धोका हो।
यो तिहारले हामीलाई सम्झाउँछ
अँध्यारोले उज्यालोलाई जित्दैन,
घृणाले सहअस्तित्वलाई जित्दैन,
र निराशाले कहिल्यै आशा मेट्दैन।
आज जब देशको प्रत्येक घरमा दियो बल्दैछ, त्यो उज्यालोले केवल पर्खालहरू होइन, मनभित्रको विभाजन पनि उज्यालो पारोस्। हामी फरक विचारका भए पनि एउटै राष्ट्रका सन्तान हौँ ।
साझा पीडा, साझा सपना र साझा भविष्यका उत्तराधिकारी। ७६ शहीदहरूको रगतले लेखिएको यो इतिहासलाई भुल्ने र उनीहरूका मागलाई उपेक्षा गर्ने कुनै पनि प्रयास अक्षम्य हुनेछ।
उनीहरूले भ्रष्टाचारमुक्त, सुशासनयुक्त र न्यायपूर्ण समाजको जुन सपना देखेका थिए, त्यो सपनालाई साकार पार्नु हामी सबैको सामूहिक जिम्मेवारी हो। अस्पतालका शय्याहरूमा छट्पटाइरहेका घाइतेहरूको अनुहारमा हेरेर कसरी भन्न सकिन्छ कि उनीहरूको आन्दोलन असंवैधानिक थियो?
आफ्नो देशको भविष्य सुन्दर होस् भनेर आवाज उठाउनु, गलतलाई गलत भन्नु र भ्रष्टाचारविरुद्ध लड्नु कसरी अपराध हुन सक्छ? उनीहरूको रगतले भिजेको माटोमा अहिले पनि न्यायको सुगन्ध छरिएको छ।
त्यो सुगन्धलाई मेटाउन खोज्नेहरूले इतिहासको कठघरामा उभिनुपर्नेछ। यो तिहार, एकता, सहिष्णुता र पुनःनिर्माणको प्रतीक बनोस्। अँध्यारोबाट उज्यालोतर्फको यात्रा जारी रहोस्। र, प्रत्येक दियोले सन्देश दिओस् “देशलाई फेरि उज्यालो बनाउने जिम्मा हाम्रो हो।“
ती ७६ शहीदहरूको बलिदानलाई स्मरण गर्दै, उनीहरूका परिवारको आँसु पुछ्दै र घाइतेहरूको उपचारको सुनिश्चितता गर्दै उनीहरूले देखेको सपनालाई साकार पार्नुपर्छ। जेनजी क्रान्तिले उठाएका मागहरूलाई सम्बोधन गर्नु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।
होइन भने, यो तिहारको उज्यालो पनि उनीहरूका अधुरा सपना र हाम्रो घाइते आत्माको अगाडि फिका देखिनेछ । आँखा चिम्लेर बत्ती बालेर मात्र हुँदैन, मनको आँखा खोलेर न्यायको दियो बाल्नुपर्छ ।
७६ शहीदहरूको बलिदानलाई सम्मान गर्दै, उनीहरूले उठाएका जायज मागहरूलाई तत्काल सम्बोधन गरियोस्।