१ मंसिर, काठमाण्डौ।
नेपाली क्रिकेटको महाकुम्भ विश्वक्रिकेटमा फेस्टिबल अफ हिमालय बनेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आज देखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमान्डु गोर्खाजले चुनौती दिँदैछ ।
एनपीएलमा यी दुई टिमबीचको यो दोस्रो भेट हो । यसअघि जनकपुरले पहिलो संस्करणको लिग चरणको खेलमा काठमान्डुविरुद्ध पाँच विकेटको जित निकालेको थियो । पहिलो संस्करणको च्याम्पियन बन्दा जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराएको थियो ।
यता, काठमान्डुले पहिलो संस्करण पाँचौँ स्थानमा रहँदै टुंग्याएको थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने यो खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ । उद्घाटन खेलका १० हजार दर्शकसहित १३ हजार सिटका टिकट बिक्री भइसकेका छन् ।
टिकट नहुने दर्शकलाई घरबाटै हेर्न क्यानले आग्रह गरेको छ। एनपीएल नेपालमा डिसहोमको एपसहित कान्तिपुर म्याक्सबाट हेर्न सकिनेछ । यो नेपाली क्रिकेट इतिहासमै फ्लडलाइटमा हुन लागेको पहिलो खेलसमेत हो ।
एनपीएल दोस्रो संस्करणका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन् । लिगका नौ खेल दिउँसो र २३ खेल डे–नाइट अर्थात फ्लडलाइटमा हुने क्यानले जनाएको छ। मंसिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, प्लेअफ र फाइनलसहित कुल ३२ खेल हुनेछन् ।
प्रतियोगिताको दोस्रो संस्करणमा पनि पहिलो संस्करणकै आठ टिम प्रतिस्पर्धामा छन् । जसमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किग्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स छन् ।
गत संस्करण काठमान्डु नेट रनरेटमा कर्णाली याक्ससँग पछि पर्दा प्लेअफ यात्रा तय गर्न नसकेको टिम हो । नेपाली क्रिकेटमा पूर्व प्रशिक्षक मोन्टी देसाई यो टिमको मुख्य प्रशिक्षक छन् ।
नेपाललाई गत वर्ष टी–२० विश्वकप र त्यसअघि एसिया कपको मञ्चमा उकालेका देसाईको आगमनले टिम यसपटक उपाधि लक्ष्यमा रहनेछ । काठमान्डुको मार्की तथा कप्तानमा राष्ट्रिय टिमका नियमित सदस्य करण केसी छन् ।
यस्तै, राष्ट्रिय टिमबाट खेलिसकेका भीम सार्की, साहब आलम, आदील आलम र राशिद खानको उपस्थितिले काठमान्डुको उपाधि दाबेदारीलाई बलियो पारेको छ । काठमान्डुले गत सिजनका मार्की तथा कप्तान करणसँगै भीम, प्रतीक श्रेष्ठ, साहब आलम, राशिद खान र दीपेश कँडेललाई रिटेन गरेको थियो ।
यस्तै, अक्सनबाट आदीलसँगै सन्तोष यादव, उत्तम थापामगर, आकाश त्रिपाठी र तुलबहादुर थापालाई काठमान्डुले भित्र्याएको थियो । जसमा अक्सनकै चर्चित अनुहार बनेका आदीललाई काठमान्डुले ‘लक्की ड्र’ बाट पाएको थियो ।
यस्तै, विदेशी खेलाडीमा काठमान्डुले नामिबियाका गेरहार्ड इरास्मस, दक्षिण अफ्रिकाका रिकार्डो भास्कोन्सेलोस, अमेरिकाका सन्नी पटेल, इंग्ल्यान्डका बेन चाल्र्सवर्थ, भारतीय मुलका अमेरिकी क्रिकेटर मिलिन्ड कुमार, इंग्ल्यान्डकै जोन सिम्पसनलाई भित्र्याएको छ ।
यसमध्ये इरास्मस गत सिजन काठमान्डुकै प्रतिनिधित्व गरेका खेलाडी हुन् । उनले गत सिजन काठमान्डुबाट सात इनिङ खेल्दा ११० रन बनाएका थिए । ’ट्यालेन्ट हन्ट’मा काठमान्डुले नटराजन साहलाई टिममा ल्याएको छ ।
विदेशी खेलाडीमा रिकार्डो काठमान्डुका हेर्न लायक खेलाडीमा पर्छन् । उनले दक्षिण अफ्रिकाको यू–१९ राष्ट्रिय टिमको समेत प्रतिनिधित्व गरिसकेका छन् । दक्षिण अफ्रिकाको घरेलु क्रिकेटमा क्लबबाट उनले १७० इनिङमा ५ हजार २६५ रन बनाएका छन् ।
यस्तै लिस्ट एमा उनले ६० इनिङमा १ हजार ७७८ र टी–२० का ६२ इनिङमा १ हजार ५०४ रन बनाएका छन् । अक्सनका चर्चित अनुहार आदीललाई भित्र्याएको काठमान्डुबाट उनी नेपाली खेलाडीमा हेर्न लायक क्रिकेटर हुन् ।
गत सिजन सात खेलमध्ये चार खेलमा जित निकालेको काठमान्डु प्लेअफका निम्ति नेट रनरेटमा पछि परेको थियो । सात खेलबाट आठ अंक जोडेको काठमान्डु पाँचौँ भएको थियो ।काठमान्डुले लिग चरणको पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटको हार बेहोरेको थियो ।
दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको काठमान्डुले तेस्रो खेलमा भने सुदूरपश्चिम रोयल्ससँग ७३ रनको हार बेहोरेको थियो । चौथो खेलमा लुम्बिनी लायन्सलाई १८ रनले हराउँदै काठमान्डुले पाँचौँ खेलमा जनकपुर बोल्ट्ससँग पाँच विकेटको हार बेहोरेको थियो ।
छैटौँ र सातौँ खेलमा काठमान्डुले पोखरा एभेन्जर्स र विराटनगर किंग्सलाई क्रमशः ६ र एक विकेटले पराजित गरेको थियो । यस्तै काठमाडौंले आज चुनौती दिने जनकपुर बोल्ट्स पहिलो संस्करणको विजेता टिम हो ।
राष्ट्रिय टिमकै नियमित सदस्य आसिफ सेख यो टिमका मार्की खेलाडी हुन् । तर, जनकपुरले कप्तानी जिम्मेवारी भने आसिफलाई दिएको छैन । यस टिमले पहिलो संस्करणको उपाधि उचाल्दा अनिल साहलाई नियमित कप्तान बनाएको थियो ।
तर, प्रतियोगिताका दौरान अनिल घाइते हुँदा आसिफले नै टिमको यो जिम्मेवारी सम्हालेका थिए । प्रतियोगिताको पहिलो संस्करण जित्दा जनकपुर नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायकेको प्रशिक्षणमा थियो ।
तर, यसपटक भने जनकपुरले दासानायकेको साथ पाउने छैन । साविक विजेताले दोस्रो संस्करणका निम्ति वेस्ट इन्डिजका शिवनारायण चन्दपाललाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको थियो । पुबुदुलाई विराटनगरले भित्र्याएको छ ।
जनकपुरले प्रतियोगिताका निम्ति भित्र्याएका चर्चित नाममा दक्षिण अफ्रिकाका भेट्रान स्पिनर इमरान ताहिर र वायने पार्नेल हुन् । यी दुवैले अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरिसकेका छन् ।
यस्तै, पहिलो संस्करणको उद्घाटन र फाइनल खेलमा अर्धशतक बनाएका लाहिरु मिलान्थालाई जनकपुरले यसपटक पनि निरन्तरता दिएको छ । सञ्जय कृष्णमूर्ती (अमेरिका), निकोल लोफ्टी इटोन (नामिबिया) र लहिरु हालसम्म जनकपुरबाट खेल्ने निश्चित भएका अन्य नाम हुन् ।
विदेशी खेलाडीमा यसअघि न्युजिल्यान्डका चर्चित अलराउन्डर जिम्मी निसम थियो । तर, गत सिजन प्रतियोगिताको उपाधि जित्दा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका निसम यसपटक मधेसको यो टोलीमा छैनन् ।
जनकपुरले पहिलो संस्करणका मार्की र कप्तानसँगै ललितनारायण राजवंशी, सुभ कशांकार, तुलबहादुर थापा, किशोर महत्तो र रुपेश सिंहलाई रिटेन गरेको थियो । यस्तै, जनकपुरले अक्सनबाट सचिन भट्ट, आदीत्य महता, मयन यादव र विकाश आग्रीलाई भित्र्याएको थियो ।
घरेलु खेलाडीबाटै दोस्रो संस्करणमा पनि उपाधि दाबेदार बनेको जनकपुरमा आसिफ, ललित र अनिल जस्ता चर्चित नाम छन् । अझ अनुभवी स्पिनर इमरान ताहिरको आगमनले यो टिमलाई झनै बलियो बनाएको छ ।
ताहिर नै जनकपुरको ‘प्लेयर्स टू वाच’मा पर्छन् । गत वर्ष जनकपुरले उपाधि जित्दा लिग चरणमा सातमध्ये पाँच खेल जित्दै प्लेअफ यात्रा तय गरेको थियो । जनकपुरले लिग चरणमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग क्रमशः ७२ र ३२ रनको हार बेहोरेको थियो ।
यसबाहेक, अन्य खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको, कर्णाली याक्सविरुद्ध पनि आठ विकेटको, पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको, लुम्बिनी लायन्सविरुद्ध एक रनको र काठमान्डु गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
यस्तै, प्रतियोगिताको पहिलो क्वालिफायर्समा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटको हार बेहोरेको जनकपुरले दोस्रो क्वालिफायरमा भने कर्णालीविरुद्ध दुई विकेटको जित निकालेको थियो ।
लिग र क्वालिफायर्समा दुईपटक पराजित भएको जनकपुरले फाइनलमा भने सुदूरपश्चिलाई नै पाँच विकेटले हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । एनपीएलका लागि आइतबार रंगशाला राखेप र क्यानलाई हस्तान्तरण गरिएको छ ।
अहिले पहिलो चरणको काममात्र सम्पन्न भएको हो । त्रिवि क्रिकेट मैदानलाई पूर्णरूपमा सुविधासम्पन्न रंगशाला बनाउन सरकारले गुरुयोजना नै बनाएर कुल १० अर्ब लागतको अनुमान गरेको छ ।
आइतबारकै घोषणा कार्यक्रममा सहरी विकासमन्त्री घिसिङले दोस्रो चरणको कामका निम्ति टेन्डर प्रकृया सुरु गर्न निर्देशनसमेत दिइसकेको बताए । उनले भने, “आगामी दुईदेखि तीन वर्षभित्र सबै काम सम्पन्न गर्ने लक्ष्यसाथ हामी अघि बढिरहेका छौँ । १० अर्बको गुरुयोजनासहित दोस्रो चरणको टेन्डर प्रकृया अघि बढाउन मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ ।”
रंगशालामा ४३ करोड ७७ लाख रुपैयाँमा प्यारापिट ४२ करोड १९ लाख रुपैयाँमा फ्लड लाइट जडान गरिएको छ।









