×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ट्रम्पले भेनेजुएला कब्जा गरे, आफैलाई गरे राष्ट्रपति घोषणा

२८ पुष २०८२

२८ पुष , काठमाण्डौ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले सोमबार ट्रुथ सोसलमा आफ्नो सम्पादित विकिपिडिया पेजको तस्बिर पोस्ट गरेका छन्, जसमा उनलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति, निर्वाचित जनवरी २०२६’ भनेर उल्लेख गरिएको छ ।

Advertisement
Advertisement

तस्बिरमा ट्रम्पको आधिकारिक फोटोसँगै अमेरिकाको ४५ औं र ४७ औं राष्ट्रपतिको पदनाम पनि देखिन्छ । यो घटना यस महिनाको सुरुमा अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो स्तरको सैन्य कारबाही गरेपछि भएको हो।

उक्त कारबाहीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरी न्यूयोर्क लगिएको छ। उनीहरूमाथि लागूऔषध तथा आतंकवाद षड्यन्त्रको आरोपमा मुद्दा चलिरहेको छ ।

ट्रम्पले कारबाहीपछि अमेरिकाले भेनेजुएलालाई ‘सुरक्षित, उचित र न्यायपूर्ण संक्रमण’ नभएसम्म चलाउने भनेका थिए। ‘हामी भेनेजुएलाका जनताको हितलाई ध्यानमा नराख्ने अरू कसैले भेनेजुएला कब्जा गर्ने मौका लिन सक्दैनौं,’ उनले भनेका थिए।

यसबिच, भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरिसकेकी छन् । ट्रम्पले अन्तरिम नेतृत्वसँग तीन करोडदेखि पाँच करोड ब्यारेलसम्म उच्च गुणस्तरको तेल अमेरिकालाई दिने सम्झौता भएको बताएका छन्, जुन बजार मूल्यमा बेचिनेछ ।

‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा त्यो पैसा मेरो नियन्त्रणमा हुनेछ, ताकि यो भेनेजुएला र संयुक्त राज्य अमेरिकाका जनताको हितमा प्रयोग होस!’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका थिए ।

गत शुक्रबार ट्रम्पले अमेरिकी तेल कम्पनीहरूसँग छलफल गर्दै भेनेजुएलामा १०० अर्ब डलर बराबरको लगानीका लागि आह्वान गरेका थिए । उनका अनुसार कम्पनीहरूको सुरक्षाको जिम्मा अमेरिकी सरकारले लिनेछ ।

यसैबीच ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भनेर उल्लेख गरेका हुन् । उता क्युबालाई पनि छिटै सम्झौता गर्न वा नराम्रो परिणाम भोग्न तयार रहन उनले चेतावनी दिएका छन् ।

क्युबाको लामो समयदेखिको सहयोगी भेनेजुएलाले टापु राष्ट्र क्युबालाई दैनिक करिब ३५ हजार ब्यारेल तेल पठाउने गरेको थियो । ट्रम्पको धम्कीप्रति प्रतिक्रिया दिँदै क्युबाका विदेशमन्त्रीले आफ्नो देशसँग बिना कुनै हस्तक्षेप इन्धन आयात गर्ने अधिकार कसैसँग नरहेको बताएका छन् ।

उनले भने, “हामीले के गर्ने भन्ने कुरा ट्रम्पले निर्धारण गर्न सक्दैनन् ।” प्रतिबन्धित भेनेजुएली तेल ट्यांकरहरू जफत गर्ने ट्रम्प प्रशासनको रणनीतिले क्युबामा इन्धन र बिजुलीको संकट सुरु भइसकेको छ ।

आइतबार ट्रम्पले ‘ट्रुथ सोसल’ मा लेख्दै भने, “क्युबा धेरै वर्षदेखि भेनेजुएलाको ठूलो परिमाणको तेल र पैसामा बाँचेको थियो । यसको बदलामा क्युबाले पछिल्ला दुई भेनेजुएली तानाशाहहरूलाई ‘सुरक्षा सेवा’ प्रदान ग¥यो, तर अब त्यस्तो हुनेछैन ।”

ट्रम्पले अब क्युबामा कुनै तेल वा पैसा नजाने प्रष्ट पारेका छन् । “अब क्युबामा कुनै तेल वा पैसा जाने छैन । यो हुने छ केवल शून्य ! म उनीहरूलाई दृढताका साथ के सुझाव दिन्छु भने धेरै ढिलो हुनुअघि नै उनीहरूले सम्झौता गरुन् ।” ट्रम्पले सम्झौताका सर्तहरू वा क्युबाले भोग्नुपर्ने परिणामबारे विस्तृत जानकारी भने दिएका छैनन् ।

उता क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिग्वेजले क्युबासँग जुनसुकै निर्यातकर्ताबाट अमेरिकी हस्तक्षेप वा अधीनताबिना इन्धन आयात गर्ने पूर्ण अधिकार रहेको बताए । उनले अमेरिकाजस्तो क्युबाले अन्य राज्यहरूविरुद्ध ब्ल्याकमेल वा सैन्य दबाब दिने काम नगर्ने बताए ।

ट्रम्पले अमेरिकामा लागुऔषध तस्करीको आरोप खेपिरहेका मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई गरिएको पक्राउ र कारबाहीको प्रसंग पनि उल्लेख गरे । क्युबाले वर्षौंदेखि मादुरोलाई व्यक्तिगत सुरक्षा दस्ता उपलब्ध गराउँदै आएको थियो ।

क्युबा सरकारका अनुसार काराकसमा भएको अमेरिकी अपरेसनका क्रममा ३२ जना क्युबाली नागरिक मारिएका छन् । ट्रम्पले भने, “तीमध्ये अधिकांश क्युबालीहरू गत हप्ताको अमेरिकी हमलामा मारिएका छन् । अब भेनेजुएलालाई ती गुण्डाहरू र जबरजस्ती असुली गर्नेहरूबाट सुरक्षा चाहिँदैन, जसले उनीहरूलाई धेरै वर्षसम्म बन्धक बनाएका थिए । भेनेजुएलासँग अब विश्वको सबैभन्दा शक्तिशाली सेना भएको संयुक्त राज्य अमेरिका छ, जसले उनीहरूको रक्षा गर्नेछ ।”

ट्रम्पले पछिल्लो समय अमेरिकी विदेश नीतिलाई सन् १८२३ को ‘मोनरो सिद्धान्त’को नयाँ संस्करणमार्फत अगाडि बढाइरहेका छन्, जसलाई उनले ‘डनरो सिद्धान्त’नाम दिएका छन् । यसको उद्देश्य पश्चिमी गोलार्धमा अमेरिकी वर्चस्व कायम गर्नु हो ।

ट्रम्पले कोलम्बियामा पनि सैन्य कारबाही हुनसक्ने संकेत दिँदै त्यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोलाई सतर्क रहन भनेका छन् । ट्रम्पले मेक्सिकोबाट अमेरिकातर्फ लागुऔषध ओइरिरहेको भन्दै त्यहाँका कार्टेलहरूविरुद्ध लड्न अमेरिकी सेना पठाउने प्रस्ताव गरेका छन्, जसलाई मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले अस्वीकार गरेकी छिन् ।

सन् १९५९ मा फिडेल कास्ट्रोले अमेरिका समर्थित सरकार ढालेदेखि नै अमेरिका र क्युबाको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सम्बन्ध सुधार्ने प्रयास गरे पनि ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुमै क्युबालाई पुनः आतंकवादलाई प्रश्रय दिने राष्ट्रको सूचीमा राखेका छन् ।

क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेलले आइतबार भने, “जसले मानव जीवनलाई समेत व्यापार बनाउँछन्, उनीहरूसँग क्युबामाथि औँला उठाउने कुनै नैतिक अधिकार छैन ।” उता ट्रम्पले ग्रिनल्यान्ड कब्जा गर्नका लागि सैन्य योजना बनाउन निर्देशन दिएका छन् ।

‘डेली मेल’का अनुसार, ट्रम्पले जोइन्ट स्पेसल अपरेसन कमान्डलाई यो जिम्मेवारी सुम्पिएका हुन् । यद्यपि, सैन्य अधिकारीहरू यस विचारसँग सहमत देखिएका छैनन् । उनीहरूले यसलाई कानुनी रूपमा गलत ठान्छन् । ट्रम्पको यो चासो आन्तरिक राजनीतिसँग पनि जोडिएको हुन सक्ने रिपोर्टमा भनिएको छ ।

यसै वर्षको अन्त्यमा हुने मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले संसद्मा नियन्त्रण गुमाउने डर छ । त्यसैले ट्रम्प कुनै ठूलो कदम चालेर जनताको ध्यान अर्थतन्त्रका समस्याबाट हटाउन चाहन्छन् ।

एक कूटनीतिक स्रोतले ‘डेली मेल’लाई बताए, “सैन्य जनरलहरूलाई ट्रम्पको ग्रिनल्यान्ड योजना बेतुक र गैरकानुनी भन्ने लाग्छ । उनीहरूका अनुसार, राष्ट्रपतिको जिद्दी सम्हाल्नु भनेको पाँच वर्षको बच्चासँग व्यवहार गर्नुजस्तै हो ।”

यद्यपि, यो कदमले अमेरिकाले ग्रिनल्यान्डमा आक्रमण गरेमा यसले नेटोका लागि गम्भीर संकट पैदा गर्नुका साथै, युरोपेली नेताहरूसँग प्रत्यक्ष मुठभेड हुन सक्ने र यसले नेटो गठबन्धनलाई टुट्ने अवस्थामा पु¥याउन सक्ने बताइएको छ ।

केही युरोपेली अधिकारीहरूका अनुसार, ट्रम्पका कट्टरपन्थी माग गुटको वास्तविक उद्देश्य नेटोलाई भित्रैबाट सिध्याउनु हो । किनभने संसद्ले उनीहरूलाई नेटोबाट बाहिरिन अनुमति दिने छैन । त्यसैले ग्रिनल्यान्ड कब्जा गरेर युरोपेली देशहरूलाई नेटो छोड्न बाध्य पार्न सकिन्छ ।

समाचारमा भनिएको छ, “यदि ट्रम्प नेटो सिध्याउन चाहेको हो भने, यो सायद सबैभन्दा सजिलो तरिका हुन सक्छ ।” समाचारका अनुसार, ट्रम्प लामो समयदेखि नेटोलाई अमेरिकाका लागि बोझ ठान्छन् ।

उनको बुझाइमा अमेरिकाले नेटोमा सबैभन्दा बढी पैसा र स्रोत खर्च गर्छ, जबकि युरोपेली देशहरूले आफ्नो जीडीपीको दुई प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्ने लक्ष्य पूरा गर्दैनन् । ट्रम्प अमेरिकी करदाताको पैसा विदेशी सुरक्षामा कम खर्च गर्न चाहन्छन् र युरोपलाई आफ्नो रक्षा आफैँ गर्न बाध्य पार्न चाहन्छन् ।

केही विश्लेषकहरूका अनुसार, ट्रम्प नेटोलाई कमजोर बनाएर रूससँग राम्रो सम्बन्ध बनाउन चाहन्छन् । ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनका अनुसार, ट्रम्प नेटोलाई पुरानो र बोझिलो संस्था ठान्छन् ।

यसैबीच अमेरिकाले ग्रीनल्यान्ड कब्जा गर्ने प्रयास अब रोचक मोडमा पुगेको देखिएको छ । यो मामिलामा बेलायतको पनि प्रवेश भएको छ । बेलायत सरकारले आफ्ना नेटो सहयोगी राष्ट्रहरूसँग आर्कटिक महासागरको सुरक्षाबारे छलफल गरिरहेको छ ।

रुस र चीनले आर्कटिक क्षेत्रमा लगातार आफ्नो उपस्थिति बढाइरहेका छन् । त्यसप्रति बेलायतले गम्भीर चिन्ता व्यक्त गरेको छ । यी दुई मुलुकको सामना गर्न बेलायत नेटो देशहरूलाई एकजुट बनाउने प्रयासमा जुटेको छ ।

अमेरिकाले ग्रीनल्यान्ड कब्जा गर्ने विषयले सम्पूर्ण पश्चिमी मुलुकमा तनावको वातावरण सिर्जना गरेको छ । बेलायतले पनि त्यसलाई समर्थन गरेको देखिन्छ । बेलायतले आर्कटिक महासागरमा रुस र चीनको बढ्दो गठबन्धनलाई ठूलो खतरा मान्दै नेटो देशहरूसँग वार्ता सुरु गरेको छ ।

बेलायतका यातायातमन्त्री हैदी अलेक्जेन्डरले नेटो सहयोगीसँग आर्कटिक सागरबारे छलफल गरिरहेको बताएका छन् । अमेरिकाले ग्रीनल्यान्ड कब्जा गर्ने मनसाय व्यक्त गरेको समयमा यो छलफल भइरहेको छ ।

यसले नेटोका सहयोगी देशहरूमा निकै असन्तुष्टि पैदा गरेको छ । धेरैले अमेरिकाको यो कदमले नेटो गठबन्धन नै टुट्न सक्ने आशंका व्यक्त गरेका छन् । यस्तोमा बेलायतको पहललाई माहोल शान्त पार्ने प्रयासका रूपमा हेरिएको छ ।

आर्कटिक क्षेत्रमा रुस र चीनको बढ्दो सैन्य उपस्थिति र संयुक्त निगरानीले धेरै आर्कटिक राष्ट्रहरूको सुरक्षामा चुनौती थपेको छ । यही खतराका कारण ट्रम्प ग्रीनल्यान्ड कब्जा गरेर त्यहाँ मिसाइल डिफेन्स सिस्टम तैनाथ गर्न र रुस–चीनमाथि निगरानी राख्न चाहन्छन् । बेलायत पनि यो खतराप्रति सतर्क छ ।

यही कारण उसले पर्दा पछाडिबाट अमेरिकी योजनालाई समर्थन गर्न सक्छ । यद्यपि, बेलायतले हाल एउटा यस्तो प्रस्ताव अघि सारेको छ, जसमा सबै पक्ष सहमत हुन सक्छन् । बेलायतले ग्रीनल्यान्डमा संयुक्त सैन्य अड्डा बनाउने प्रस्ताव गरेको छ ।

त्यसमा डेनमार्कका साथै बेलायत र नेटो देशका सैनिकहरू रहनेछन् । त्यसमा अमेरिकालाई पनि सहभागी हुन अपिल गरिने सम्भावना छ । यदि, अमेरिका राजी भएमा ग्रीनल्यान्डका विषयमा जारी विवाद अन्त्य हुनसक्छ ।

बेलायतले अमेरिकाले ग्रीनल्यान्ड जबरजस्ती कब्जा गर्न खोजे र नेटो गठबन्धन टुटे त्यसको सिधा फाइदा रुस र चीनलाई हुने चेतावनी दिएको छ । उता इस्लामिक गणतन्त्र इरानमा भएको व्यापक सरकार विरोधी प्रदर्शनकाबिच इरानको नेतृत्वले ‘वार्ता गर्न’ चाहेको ट्रम्पले बताएका छन् ।

अमेरिकाले सैन्य कारबाहीको धम्की दिएपछि इरानका सर्वोच्च नेता अली खामेनीको नेतृत्वले कुरा गर्न चाहेको दाबी उनले गरेका हुन्।‘इरानका नेताहरूले हिजो फोन गरेका थिए,’ ट्रम्पले आइतबार एअर फोर्स वानमा पत्रकारहरूसँग भने, ‘एक बैठक आयोजना भइरहेको छ… उनीहरू वार्ता गर्न चाहन्छन्।’

उनले थपे, ‘हामीले बैठक अघि कदम चाल्नु पर्ने हुन सक्छ। तिनीहरू सुरु गर्दैछन्, यस्तो देखिन्छ किन त्यहाँ केही मानिसहरू मारिएका छन् जुन मारिनु हुँदैन। यदि तपाईंले तिनीहरूलाई नेता भन्नुभयो भने तिनीहरू हिंसात्मक छन्। मलाई थाहा छैन उनीहरू नेता हुन् वा हिंसाद्वारा शासन गर्छन्।’

इरानमा दुई सातादेखि जारी प्रदर्शनमा पाँच सयभन्दा धेरै मारिएको दाबी गरिएको छ । तर इरानले भने अमेरिकाले आक्रमण गरेमा आफूले कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । प्रदर्शनकारीको हत्यालाई लिएर अमेरिकाले इरानमाथि आक्रमण गर्ने धम्की दिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरान स्वतन्त्रताको खोजीमा रहेको भन्दै अमेरिका मद्दतका लागि तयार रहेको बताएका थिए । यद्यपि, ट्रम्पले कस्तो प्रकारको मद्दत गर्ने भन्ने स्पष्ट पारेका छैनन् । सीबीएस न्युजका अनुसार ट्रम्पलाई इरानमाथि हुन सक्ने सैन्य आक्रमणका विभिन्न विकल्पहरूबारे ब्रिफिङ दिइएको छ ।

साथै आक्रमणको थप विकल्पहरूमा अनलाइन माध्यमबाट अमेरिकाले सरकारविरोधी विषयहरूलाई प्राथमिकता दिने, इरानी सेनाविरुद्ध ‘साइबर हतियार’ प्रयोग गर्ने र थप कडा आर्थिक प्रतिबन्धहरू लगाउने बताएको छ ।

यसको जवाफमा इरानी संसद्का सभामुखले यदि, अमेरिकाले आक्रमण गरेमा यस क्षेत्रमा रहेका इजरायल र अमेरिकी सैन्य तथा ढुवानी केन्द्रहरू वैधानिक निशाना बन्ने चेतावनी दिएका छन् ।

आकासिँदो महँगीबाट सुरु भएको यो प्रदर्शन अब सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको धार्मिक शासन अन्त्यको मागमा परिणत भएको छ । इरानका महान्यायाधिवक्ताले प्रदर्शन गर्ने जोकोहीलाई ईश्वरको शत्रु मानिने र त्यसका लागि मृत्युदण्ड हुनसक्ने बताएका छन् ।

इरानका राष्ट्रपति मसूद पजशकियानले भने यो सबै अशान्तिको पछाडि अमेरिका र इजरायलको हात रहेको आरोप लगाएका छन् ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top