७ माघ , काठमाण्डौ ।
प्रतिनिधिसभा सदस्यका लागि हिजो उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको हो।
उजुरीपछि यही माघ ८ गते बेलुका ५ बजेसम्म उम्मेदवारी पत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ।
सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
यस्तै आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएकामा प्रधानमन्त्री सुशीला कार्कीले खुसी व्यक्त गरेकी छन्। उनले अर्को महत्त्वपूर्ण कोसेढुंगा पार गर्न सफल भएको उल्लेख गर्दै उम्मेदवारी दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति आभार प्रकट गरेकी छन्।
‘आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि आज हामीले अर्को महत्त्वपूर्ण कोसेढुंगा पार गर्न सफल भएका छौँ’, प्रधानमन्त्री कार्कीले मंगलबार राति वक्तव्य जारी गर्दै भनेकी छन्, ‘निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा म हार्दिक आभार व्यक्त गर्दछु।’
प्रधानमन्त्री कार्कीले उम्मेदवारी दर्तासँगै मुलुकबाट अन्योल र अनिश्चितता अन्त्य भएको दाबी गर्दै सिंगो देश निर्वाचनको महाकुम्भमा होमिएको उल्लेख गरेकी छन्। ‘निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको छ।अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको छ। सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको छ’ उनले भनेकी छन्, ‘१६५ पदका लागि ३,४०० भन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता हुनु लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाण हो। नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने आजको राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको छ।’
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८४ जनाले उम्मेदवारी दिएका छन् । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र रूपमा १ हजार १८७ जनाले मंगलबार मनोनयन दर्ता गरेका हुन् ।
प्रतिनिधिसभाका अघिल्ला दुई निर्वाचनको तुलनामा यस पटक बढी उम्मेदवारी परेको हो । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा २ हजार ४११ र २०७४ मा १ हजार ९४४ जना उम्मेदवार थिए । यस पटक पनि नाम फिर्ता लिने तथा दाबी विरोधपछि उम्मेदवारको संख्या केही घट्न सक्छ ।
कुल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८, महिला ३९५ र अन्य समूहका एक महिला रहेको निर्वाचन आयोगले जनाएको छ । लैंगिक अल्पसंख्यक समुदायको समावेशी समाजवादी पार्टीले भने आफ्नो तर्फबाट ६ जना प्रतिस्पर्धामा उत्रिएको जनाएको छ ।
आयोगका अनुसार २५–३५ वर्ष उमेर समूहका ५८३, ३६–५० वर्ष उमेर समूहका १ हजार ६१०, ५१–६५ वर्ष उमेर समूहका १ हजार ९० र ६५ वर्षमाथिका २०१ उम्मेदवार छन् । यस पटक प्रमुख राजनीतिक दलहरूबीच चुनावी गठबन्धन छैन ।
कांग्रेस र एमालेले सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । नेकपाले १६४, रास्वपाले १६३, राप्रपाले १६३, नेमकिपाले १२१, श्रम संस्कृति पार्टीले १०९, उज्यालो नेपाल पार्टी १०८, आम जनता पार्टी १०२, जसपा नेपालले ९५, प्रगतिशील लोकतान्त्रिक पार्टी ९२ र जनमतले ६१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् ।
कांग्रेस सभापति गगनकुमार थापा सर्लाही–४, एमाले अध्यक्ष केपी शर्मा ओली झापा–५, नेकपा अध्यक्ष पुष्पकमल दाहाल रुकुम पूर्व, रास्वपा सभापति रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिएका छन् ।
रास्वपाले आगामी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अगाडि सारेका बालेन्द्र शाह पूर्वप्रधानमन्त्री ओलीलाई चुनौती दिन झापा–५ पुगेका छन् । उनी काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–३ र जनमतका अध्यक्ष सीके राउतले सप्तरी–२ तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट प्रतिस्पर्धा गर्दै छन् ।
धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरी–१ बाट उम्मेदवारी दिएका छन् । कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यस पटक उम्मेदवार छैनन् ।
उनी २०४८ यताका सबै संसदीय निर्वाचनमा डडेलधुराबाट जित्दै आएका थिए । सबैभन्दा बढी धनुषा–३ मा ४५ जनाको उम्मेदवारी परेको छ । धनुषा–३ मा १ लाख २५ हजार ९२७ मतदाता छन् । सबैभन्दा कम मनाङमा ५ जनाले उम्मेदवारी दिएका छन् । मनाङमा सात हजार मतदाता छन् ।



