२८ जेठ , काठमाण्डौ ।
अमेरिकाले इरानमाथिको आक्रमण रोकेको छैन । उसले लगातार दोस्रो दिन पनि सैन्य हमला गरेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले बुधबार साँझ ५ः१५ बजे (अमेरिकी समय) देखि इरानका धेरै लक्ष्यमाथि हमला गरिएको जनाएको छ । सेन्टकमले यो कारबाही इरानको अनुचित र निरन्तर आक्रामकताप्रतिको प्रतिक्रिया भएको जनाएको छ ।
दक्षिणी इरानका हवाई प्रतिरक्षा प्रणाली, रडार प्रणाली तथा ड्रोन कमान्ड र नियन्त्रण इकाइहरूलाई लक्ष्य गरेर हमला गरिएको हो । ’अमेरिकी मरीन कोप्र्स, वायुसेना र नौसेनाले अमेरिकी फौज तथा क्षेत्रीय समुद्री मार्ग हुँदै आवतजावत गर्ने अन्तर्राष्ट्रिय व्यापारिक जहाजलाई खतरा पु¥याउने इरानी लक्ष्यमा उच्च–सटीकता भएका हतियार प्रयोग गरिएको छ,’ सेन्टकमले भनेको छ ।
यसअघि मंगलबार पनि अमेरिकाले इरानका रडार र हवाई प्रतिरक्षा केन्द्रहरूमा हमला गरेको थियो । त्यो हमला अमेरिकी हेलिकप्टर खसालिएको घटनाको प्रतिक्रियास्वरूप गरिएको बताइएको थियो । अमेरिकी अधिकारीहरूका अनुसार सम्झौताको ढोका खुला रहोस् भन्नका लागि अमेरिकाले मानवीय क्षति नहुने गरी हमला गरेको थियो ।
इरानले त्यसपछि अमेरिकी सैन्य अड्डातर्फ सीमित संख्यामा मिसाइल र ड्रोन प्रहार गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दिउँसो वार्तामा इरानले अमेरिकालाई मुर्ख बनाइरहेको आरोप लगाउँदै केही न केही निर्णय तत्काल लिनुपर्ने अवस्थामा पुगेको बताएका थिए । त्यसअघि उनले राष्ट्रिय सुरक्षा टोलीसँग सैन्य विकल्पबारे छलफल गरेका थिए ।
बैठकमा उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, सीआईए निर्देशक जोन र्याट्क्लिफ, संयुक्त सैन्य प्रमुख ड्यान केन तथा ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकोफ सहभागी थिए । रक्षा मन्त्री पिट हेगसेथ भने फ्लोरिडास्थित सेन्टकम मुख्यालयबाट भर्चुअल रूपमा सहभागी भएका थिए ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सेन्टकम मुख्यालय भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ’आज राति सेन्टकम निकै व्यस्त हुनेछ, किनभने हामी इरानलाई कडा प्रहार गर्दैछौं’ भनेका थिए । हेगसेथले इरानसँग अझै पनि सम्झौता गर्ने अवसर रहेको तर उनीहरू सम्झौतामा आउन इच्छुक नदेखिएको बताए ।
उनले यो हमला युद्ध पुनः सुरु गर्न नभई सम्झौताका सर्त तय गर्न गरिएको बताएका थिए । ’यदि बममार्फत वार्ता गर्नुपर्छ भने हामी बममार्फत नै वार्ता गर्छौं,’ उनले भनेका थिए, ’हामी आज राति उनीहरूलाई कडा प्रहार गर्नेछौं र आशा छ इरानले सही निर्णय लिनेछ।’
यता अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण सुरु गरेपछि इरानले हर्मुज जलमार्गमा रहेका जहाजहरूलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्स (आईआरजीसी) ले अमेरिकी सेनाले इरानमाथि नयाँ श्रृंखलाबद्ध आक्रमण थालेलगत्तै हर्मुज जलमार्गमा रहेका दुईवटा जहाजमा प्रहार गरेको जनाएको हो ।
यसबीच, पर्सियन खाडीस्थित केशम टापुका साथै बन्दर अब्बास र सिरिकलगायतका सहरहरूमा विस्फोटका आवाज सुनिएको जनाइएको छ । अमेरिकी आक्रमणको प्रतिक्रियास्वरूप इरानी सरकारी सञ्चारमाध्यमहरूले हर्मुज जलमार्ग सबै प्रकारका जहाजका लागि पूर्ण रूपमा बन्द गरिएको दाबी गरेका छन्। तर सेन्टकमले भने व्यावसायिक जहाजहरूको आवतजावत यथावत् रहेको जनाएको छ ।
हर्मुज जलमार्ग बन्द गरिएको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । विश्वव्यापी मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य एसियाली बजारमा बिहानको कारोबारका क्रममा करिब २ प्रतिशतले वृद्धि हुँदै प्रतिव्यारेल ९५ डलरभन्दा माथि पुगेको छ ।
पछिल्लो अमेरिकी आक्रमण हुनुभन्दा केही घण्टा अघि राष्ट्रपति ट्रम्पले ‘हामीले हिजो कडा प्रहार ग¥यौं र आज फेरि कडा प्रहार गर्नेछौं’ भन्दै इरानलाई चेतावनी दिएका थिए । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानी नेतृत्वले सम्झौताका लागि अत्यधिक ढिलाइ गरेको आरोप लगाएका थिए।
त्यसको जवाफमा इरानको विदेश मन्त्रालयले अमेरिकाले परस्परविरोधी सन्देशहरू प्रवाह गरेर कूटनीतिक प्रक्रियालाई कमजोर बनाएको आरोप लगाएको छ । ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै इरानी राष्ट्रपति मसुद पेजेशकियानले इरान कुनै पनि दबाब वा धम्कीअगाडि नझुक्ने र आफ्नो अडानमा दृढ रहने बताएका छन् ।
इरानले बुधबार राति बहराइनस्थित अमेरिकी नौसेनाको कमान्ड सेन्टर फिफ्थ फ्लिटमाथि ड्रोन आक्रमण गरेको थियो । यद्यपि ती ड्रोनले कुनै लक्ष्यमा प्रहार गरे वा नगरेको तत्काल स्पष्ट हुन सकेन । बहराइनको गृह मन्त्रालयले भने एक्समार्फत साइरन बजाइएको पुष्टि गरेको छ ।
यसैबीच ओमानको तटनजिकै बुधबार एउटा व्यापारिक जहाजमाथि भएको अमेरिकी आक्रमणको भारत सरकारले कडा निन्दा गरेको छ । उक्त आक्रमणपछि चालक दलका तीन भारतीय सदस्य बेपत्ता भएका छन् । भारतले नयाँ दिल्लीस्थित अमेरिकी दूतावासमार्फत औपचारिक विरोध दर्ता गराएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
ओमानको खाडी पार गरिरहेको पलाउको झण्डा बोकेको ‘सेटेबेलो’ नामको जहाजमाथि सटिक प्रहार गर्न सक्ने हतियार प्रयोग गरी आक्रमण गरिएको थियो । जहाजमा २४ जना भारतीय नाविक सवार रहेकामा २१ जनाको उद्धार गरिएको छ । भारतीय परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव नागराज नायडुले अमेरिकी कार्यवाहक राजदूत जेसन मिक्सलाई बोलाएर औपचारिक कूटनीतिक विरोधपत्र बुझाएको बताए ।
हालैका दिनमा भारतीय चालक दलका सदस्यहरू सवार जहाजमाथि अमेरिकी सेनाले गरेको यो दोस्रो आक्रमण हो । ‘सेटेबेलो’ अमेरिकी वैदेशिक सम्पत्ति नियन्त्रण कार्यालयको कालोसूचीमा परेको जहाज थिएन । करिब २५ मिनेटसम्म चलेको बैठकमा भारतीय पक्षले यही विषयलाई विशेष रूपमा उठाएको थियो ।
भारतले यसअघिको घटनाप्रति भने सार्वजनिक विरोध जनाएको थिएन । भारतीय अधिकारीहरूले नाविकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिँदै व्यापारिक जहाजहरूलाई निशाना बनाउने कार्य तत्काल बन्द गर्न माग गरेका छन् । यसअघि गत अप्रिलमा इरानले होर्मुज जलमार्ग हुँदै गइरहेका भारतीय ट्यांकरहरूलाई निशाना बनाएपछि भारतले इरानी राजदूत मोहम्मद फथालीलाई बोलाएर विरोध जनाएको थियो ।
बुधबारको पछिल्लो घटनापछि भारतीय परराष्ट्र मन्त्रालयले क्षेत्रीय जलमार्गमा भइरहेका लगातारका आक्रमणलाई गम्भीर चिन्ताको विषय भएको बताएको छ । मन्त्रालयले व्यापारिक जहाज तथा नागरिक पूर्वाधारमाथि हुने आक्रमण तत्काल बन्द हुनुपर्ने र अन्तर्राष्ट्रिय कानुनअनुसार अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र तथा अवरोधरहित नौवहन र व्यापार पुनःस्थापित गरिनुपर्नेमा जोड दिएको छ ।