१ असार,काठमाण्डौ ।
आइतबार एकैदिन अमेरिका र ब्राजिलमा भएको विमान दुर्घटनामा डेढ दर्जन व्यक्तिको ज्यान गएको छ । अमेरिकाको मिसौरी राज्यमा एक स्काईडाइभिङ विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १२ जनाको मृत्यु भएको हो । स्थानीय अधिकारीहरूका अनुसार मृत्यु हुनेहरूमा ११ जना स्काईडाइभर र एक जना पाइलट रहेका छन् ।
बोट्स काउन्टी आपतकालीन व्यवस्थापनका प्रवक्ताका अनुसार एक स्काईडाइभिङ कम्पनीले भाडामा लिएको उक्त विमानले आइतबार स्थानीय समयअनुसार बिहान करिब ११ः२० बजे उडान भरेको थियो । उडान भरेलगत्तै पर्याप्त उचाइ लिन नसकेपछि विमानले देब्रेतिर तीव्र मोड लिएको र बट्लर मेमोरियल विमानस्थलबाट करिब दुई सय यार्ड टाढा दुर्घटनाग्रस्त भएको प्रवक्ताले बीबीसीलाई जानकारी दिएका छन्।

विमानमा सवार सबै १२ जनाकै घटनास्थलमै मृत्यु भएको उनले पुष्टि गरे। बोट्स काउन्टीका शेरिफ चाड एन्डरसनले दिउँसो आयोजना गरिएको पत्रकार सम्मेलनमा यस घटनालाई ठुलो संख्यामा मानवीय क्षति भएको एक दुःखद दुर्घटनाका रूपमा लिएर अनुसन्धान अगाडि बढाइएको बताए।
शेरिफले यो कुनै व्यावसायिक यात्रुबाहक विमान नभएर स्थानीय विमानस्थलबाटै उडान भरेको एउटा स्थानीय विमान मात्र रहेको स्पष्ट पारे। संघीय उड्डयन प्राधिकरण (एफएए) का अनुसार उक्त विमान ’प्यासिफिक एरोस्पेस पी७५०’ मोडलको थियो र विमानस्थलबाट प्रस्थान गर्ने क्रममै दुर्घटनामा परेको हो ।

दुर्घटनाको समयमा विमानलाई कुनै हवाई ट्राफिक सेवा उपलब्ध नगराइएको एफएएले जनाएको छ। प्रवक्ताका अनुसार विमान जुन हवाई क्षेत्रमा उडिरहेको थियो, त्यहाँको नियमअनुसार उडानका क्रममा निरन्तर सञ्चार सम्पर्कमा रहिरहनु आवश्यक पर्दैनथ्यो।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटना हुनुभन्दा अगाडि कोही स्काईडाइभरले विमानबाट हामफाल्न सफल भए कि भनेर उद्धारकर्मीहरूले वरपरको क्षेत्रमा खोजीसमेत गरेका थिए। शेरिफ एन्डरसनका अनुसार मृतकका केही परिवारका सदस्यहरूले यो भयानक दुर्घटना आफ्नै आँखा अगाडि देखेका थिए।
अधिकारीहरूले हालसम्म मृतकहरूको पहिचान र व्यक्तिगत विवरण सार्वजनिक गरेका छैनन् । दुर्घटना भएको बट्लर सहर कान्सास सिटी महानगरीय क्षेत्रबाट करिब ५० माइल दक्षिणमा पर्दछ। संघीय उड्डयन प्राधिकरणका अनुसार यस विमान दुर्घटनाको मुख्य अनुसन्धानको नेतृत्व राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले गरिरहेको छ ।
यता ब्राजिलको रियो दि जेनेरियो सहरमाथि आइतबार बिहान दुई हेलिकप्टर आकाशमै ठोक्किँदा ६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । दुर्घटना सहरको पश्चिमी उपनगर रेक्रेइओ दोस बान्देरान्तेस क्षेत्रमा भएको हो । अग्नि नियन्त्रण विभागका अनुसार ठोक्किएपछि दुवै हेलिकप्टर तल खसेर एउटा विद्युतीय सवारी साधन बिक्री केन्द्रको पार्किङ क्षेत्रमा पुगेका थिए ।
दुर्घटनापछि करिब २० वटा विद्युतीय गाडीमा आगलागी भएको थियो । एउटा हेलिकोप्टर जलेको अवस्थामा गाडीहरूबिच फेला परेको थियो, जसमा पाँच जना सवार थिए । अर्को हेलिकप्टर करिब १०० मिटर टाढा फेला परेको र त्यसमा चालक मात्र रहेको बताइएको छ । दुर्घटनास्थलबाट सयौं मिटर टाढासम्म हेलिकोप्टरका भग्नावशेष फेला परेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा पार्किङ क्षेत्रबाट बाक्लो धुवाँ आकाशतर्फ उठिरहेको देखिएको छ । अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् । प्रारम्भिक रूपमा हेलिकोप्टरहरू कसरी एक–अर्कासँग ठोक्किए भन्नेबारे स्पष्ट जानकारी आएको छैन ।
यसबीच यो दुर्घटनामा अमेरिकी पप गायक ओलिभर ट्रीको निधन भएको पनि खुलेको छ । दुर्घटनामा परेर ३२ वर्षीय गायकको निधन भएको हो । विश्व भ्रमणको क्रममा ब्राजिल पुगेका ओलिभर ट्री दुर्घटनाग्रस्त हेलिकप्टरमध्ये एकमा सवार थिए । उनीसँगै अर्जेन्टिनी युट्युबर गास्पार प्रिम (गास्पी), ब्राजिलियन संगीतकार लुकास ब्रिटो चाभेस, भिडियो निर्देशक लुकास भिग्नाले तथा दुई पाइलटको पनि मृत्यु भएको बताइएको छ ।
ट्री आफ्नो विशिष्ट कपाल शैली र अनौठो प्रस्तुतीकरणका कारण चर्चित थिए । ‘लाइफ गोज अन’, ‘मिस यू’ र ‘एलियन ब्वाय’ उनका चर्चित केही गीतमा पर्दछन् । मासिक १ करोड १० लाखभन्दा बढी श्रोतासहित उनी स्ट्रिमिङ प्लेटफर्महरूमा अत्यन्त लोकप्रिय कलाकारमध्ये एक थिए ।
ब्राजिलमा हेलिकप्टर दुर्घटनाका घटना तुलनात्मक रूपमा धेरै हुने गरेका छन् । ब्राजिलको विमान दुर्घटना अनुसन्धान तथा रोकथाम केन्द्रका अनुसार यस वर्ष आइतबारको दुर्घटनाअघि मात्रै ८४ वटा हवाई दुर्घटना दर्ता भइसकेका थिए ।
