२ असार , काठमाण्डौ ।
मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिइएका ती सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म जोमसोमले जनाएको छ ।
मुस्ताङको उत्तरी कोरलानाका हुँदै गत जेठको दोस्रो र तेस्रो हप्तामा बिवाइडी कम्पनीका ७७५ विद्युतीय सवारी साधनहरु नेपाल भित्रिएका थिए । ती मध्ये ६४९ विद्युतीय सवारीको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरेको जनाइएको छ ।

कोरला नाकाबाट यसरी भित्रिएका ती विद्युतीय सवारीसाधनको पैठारी प्रक्रियामा कैफियत हुनसक्ने आशङ्कामा गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सशस्त्र प्रहरी बलले उक्त सवारीसाधन नियन्त्रणमा लिएको थियो । कोरलानाकाबाट ती सबै विद्युतीय सवारीसाधनलाई साइमन ईंकले खरिद गरी नेपाल भित्र्याएको थियो ।
ती सवारीसाधनको कैफियत रहे÷नरहेको यकिन गर्न अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख रहेका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको थियो ।

सरकारद्वारा गठित छानबिन समितिको टोलीले गत जेठ२१ मा कास्की, पर्वत र मुस्ताङको जोमसोम र कोरलानाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका विद्युतीय सवारीसाधनको स्थलगत अनुमगन गरी अनुसन्धान सुरुआत गरेको थियो । उक्त समितिको प्रारम्भिक प्रतिवेदनअनुसार कोरलानाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारीसाधनमा कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको जनाइएको छ ।
यसअघि सशस्त्र प्रहरी बल नेपालले गत दुई सातादेखि कास्कीको हेमजामा ९८ र पर्वतको कुश्मा १७ विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको थियो । यसैगरी मुस्ताङको कोरलानाकाबाट लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ र कोरलानाकामा ३९४ विद्युतीय सवारी साधनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा लिएका ती साधनलाई आइतबार साँझ सम्बन्धित पक्षको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय निर्देशनअनुसार नियन्त्रणमा लिइएका सबै विद्युतीय सवारीसाधन आइतबार साँझदेखि फुकुवा गरिएको उनले बताए । कैफियतको आशङ्कामा कोरलानाकाबाट नेपाल भित्रिएका विद्युतीय सवारीसाधन दुई सातासम्म सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको थियो ।
कैफियत फेला नपरेपछि जोमसोम र कोरलानाकामा नियन्त्रणमा ती सवारी साधनलाई फुकुवा भएसँगै गन्तव्यतर्फ प्रस्थान गरेका सशस्त्र प्रहरी नायव उपरीक्षक गिरीले बताए । उनका अनुसार जोमसोम बसपार्कमा राखिएका २६६ विद्युतीय सवारीसाधनमध्ये आइतबार र सोमबार गरी २२३ विद्युतीय सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेको जनाइएको छ ।
जोमसोम बसपार्कमा अहिले २६६ विद्युतीय सवारीसाधनमध्ये ४३ मात्रै बाँकी रहेको सशस्त्र प्रहरीले उल्लेख गरेको छ । यसैगरी कोरलानाकामा राखिएका विद्युतीय सवारीमध्ये भन्सार जाँचपास भएका सवारीसाधन पनि क्रमशः गन्तव्यतर्फ लैजाने र भन्सार जाँचपास नभएका विद्युतीय सवारीसाधनको पनि आवश्यक भन्सार प्रक्रिया पुरा गरी गन्तव्यतर्फ लैजान समस्या नभएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मले जनाएको छ ।
यसअघि अर्थ मन्त्रालयले ती सवारी साधन आयतमा कुनै कैफियत छैन भने पनि प्रधानमन्त्री कार्यालयले सुरक्षाकर्मी लगाएर गाडी रोकेको थियो । सरकारले गठन गरेको समितिले सबै ‘ठिक छ’ भन्ने प्रतिवेदन दिएपछि नाकामा रोकिएका गाडी छोडिएका हुन् ।
