३ असार, काठमाण्डौ।
साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ । आफ्नो ऐतिहासिक २०० औँ अन्तर्राष्ट्रिय खेल खेलिरहेका विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले मैदानमा फेरि पनि जादू गरेका छन् । अमेरिकाको क्यान्सास सिटी रंगशालामा भएको खेलमा अर्जेन्टीनाले अल्जेरियालाई तीन शून्य गोल अन्तरले पराजित गरेको हो ।
खेलको सुरुवात निकै रोमाञ्चक रह्यो । सुरुमै मेसी र अल्जेरियाका फारेस चैबी दुवैको गोललाई ’अफसाइड’ भन्दै रद्द गरिएको थियो । त्यसपछि अल्जेरियाविरुद्ध खेलको १७, ६० र ७६ मिनेटमा गोल गर्दै मेसीले ह्याट्रिक पूरा गरेका हुन् । खेलको पहिलो हाफमा रोड्रिगो डे पउलको पासलाई नियन्त्रणमा लिँदै २५ यार्ड टाढाबाट १७ मिनेटमा गरेको प्रहार गोलमा परिणत भएपछि अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो ।

खेलको ६० औँ मिनेटमा मेसीले टोलीको अग्रता दोब्बर बनाए । लिभरपुलका मिडफिल्डर अलेक्सिस म्याक अलिस्टरको २५ यार्ड टाढाको प्रहारलाई अल्जेरियाका गोलरक्षक लुका जिदानले नियन्त्रणमा लिन नसक्दा छातीमा लागेर फर्किएको बललाई मेसीले ७६ मिनेटमा आफ्नो कम चल्ने दायाँ खुट्टाले सहजै पोस्टको दिशा दिएका थिए ।
मेसीले विश्वकपमा गरेको १६ औँ गोलसँगै उनले जर्मनीका क्लोजसँगको कीर्तिमान बराबरी गरेका छन् । यसअघि खेलको सुरुवाती चरणमा अल्जेरियाका फारेस चेइबीले गोल गरे पनि भीएआरले त्यसलाई अफसाइड घोषित गरिदिएको थियो । चेइबीको अर्को एउटा कठिन प्रहारलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिएका थिए ।

यससंगै साविक विजेता अर्जेन्टिनाले सन् २०२६ को फिफा विश्वकपमा आफ्नो उपाधि रक्षाको अभियान बलियो रूपमा सुरु गरेको हो । यस्तै यस ऐतिहासिक खेलमा ३८ वर्षीय मेसीले आधा दर्जन बढी रेकर्डहरू आफ्नो नाममा लेखेका छन् । जसमा एउटा हो विश्वकप इतिहासमै सर्वाधिक गोल (रेकर्ड बराबरी) । यस ह्याट्रिकसँगै मेसीको विश्वकपमा कुल १६ गोल पुगेको छ ।
उनले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको विश्वकै सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । यस्तै अर्को हो, ६ वटा विश्वकप खेल्ने पहिलो खेलाडीः सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र अहिले २०२६—मेसी फुटबल इतिहासमा ६ वटा फरक विश्वकप संस्करण खेल्ने संसारकै पहिलो र एक मात्र खेलाडी बनेका छन् ।
यस्तै अर्जेन्टिनाका लागि २००औं खेलः यो खेल मेसीको अर्जेन्टिनाको जर्सीमा २००औं अन्तर्राष्ट्रिय खेल थियो । यो आँकडा छुने उनी पहिलो अर्जेन्टिनी खेलाडी हुन् । यस्तै विश्वकपमा पहिलो ह्याट्रिकः मेसीले आफ्ना धेरै कीर्तिमानहरू बीच विश्वकपमा भने अहिलेसम्म ह्याट्रिक गरेका थिएनन् ।
३८ वर्षको उमेरमा उनले आफ्नो करियरको पहिलो विश्वकप ह्याट्रिक दर्ता गरे । यसैगरी अर्को रेकर्ड भनेको सर्वाधिक विश्वकप खेलः विश्वकपमा आफ्नो २७ औं खेल खेल्दै उनले सबैभन्दा धेरै विश्वकप खेल खेल्ने आफ्नै रेकर्डलाई अझै मजबुत बनाएका छन् ।
र छैटौंमा छ, साविक विजेताको रूपमा पहिलो जितः अर्जेन्टिनाको इतिहासमा साविक विजेताको रूपमा मैदान उत्रिँदा पहिलो खेल जितेको यो पहिलो पटक हो । यसअघि १९८२ र १९९० मा अर्जेन्टिनाले साविक विजेता भएर खेल्दा पहिलो खेल हारेको थियो । यो जितसँगै अर्जेन्टिनाले ३ अंक जोड्दै समूह जे मा शीर्ष स्थानमा छ । तीन पटकको विश्वविजेता अर्जेन्टिनाले अब समूह चरणमा अस्ट्रिया र जोर्डनसँग खेल्नेछ ।
