मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

३ असार, काठमाण्डौ।

विश्वचर्चित स्टार फुटबलर मेस्सी, हालान्ड, एम्बाप्पेहरुले आफ्ना पहिलो खेलहरुमा आआफ्नो जादु देखाइसकेपछि अब सबैको नजर क्रिष्टियानो रोनाल्डोतर्फ सोझिएको छ । रोनाल्डोसंगै विश्वकप २०२६ अन्तर्गत आज राति डिआर कङ्गोविरुद्ध पोर्चुगललाई र भोलि विहानको इंग्ल्याण्ड र क्रोएसियाबीचको खेल बहुप्रतिक्षित रहेको छ ।

पोर्चुगलले आफ्नो पहिलो खेल आज डिआर कङ्गो विरुद्ध नेपाली समयअनुसार राति १०ः४५ बजे खेल्दै छ । त्यसपछि उज्बेकिस्तानसँग ६ दिनपछि भिड्नेछ । पोर्चुगल विश्वकप २०२६ का लागि उपाधि दाबेदार टोलीहरू मध्ये एक मात्र त्यस्तो टोली हो, जसले अहिलेसम्म ट्रफी जितेको छैन ।

Advertisement

पोर्चुगल १९६६ मा युसेबियोको प्रेरणामा सेमिफाइनल पुगेको थियो, र २००६ मा लुइस फिगोको नेतृत्वमा फेरि सोही उपलब्धि दोहो¥याएको थियो । अब टोली आफ्नो नवौं विश्वकप, लगातार भने सातौंमा सहभागी हुँदैछ । यस पटक टोलीको आशा नयाँ पुस्ता र अनुभवी खेलाडीहरूको संयोजनमा छ ।

जसमा क्रिस्टियानो रोनाल्डोको भूमिका अझै पनि महत्वपूर्ण छ । ४१ वर्षको उमेरमा उनी आफ्नो छैटौँ विश्वकप खेल्न तयारीमा छन् । कंगोविरुद्धको यो खेल रोनाल्डोका लागि विशेष र ऐतिहासिक बन्न सक्छ, किनभने यो खेलमा गोल गरेका उनी विश्वकपका ६ वटा फरक फरक संस्करणमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी बन्नेछन् ।

Advertisement

विश्वकपको इतिहासमा रोनाल्डोको कीर्तिमान यसअघि नै लेजेन्डरी बनिसकेको छ । सन २०२६ को यो प्रतियोगिता अघि उनले सन २००६, २०१०, २०१४, २०१८ र २०२२ गरी पाँचवटा विश्वकप खेलिसकेका छन् । जसमा उनले २२ खेल खेल्दै ८ गोल गरेका छन् । उनी विश्वकपका पाँचवटा फरक संस्करणमा गोल गर्ने विश्वकै एकमात्र खेलाडी हुन्, जसले अन्तर्राष्ट्रि फुटबलको उच्च तहमा उनको लामो समयसम्मको निरन्तरता र उत्कृष्ट प्रदर्शनलाई दर्शाउँछ ।

उनको अन्तर्राष्ट्रिय खेल जीवनको तथ्यांक अझ लोभलाग्दो र प्रभावशाली छ । रोनाल्डोले पोर्चुगलका लागि २२६ खेल खेल्दै १४३ गोल गरिसकेका छन्, जुन पुरुष अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी खेल र गोलको कीर्तिमान हो । उनले ८०० भन्दा बढी क्लब गोल गरिसकेका छन् ।

देश र क्लब दुवैगरी उनको गोलको संख्या ९६० भन्दा माथि पुगिसकेको छ । उनको खेल जीवनको रकेर्डमा थुप्रै लिग उपाधिहरु, पाँचवटा युइएफए च्याम्पियन्स लिग ट्रफी र अनगिन्ती व्यक्तिगत पुरस्कारहरु सामेल छन् । खेल जीवनको उत्तरार्धमा पुग्दा पनि उनी एक उत्कृष्ट गोलकर्ताका रुपमा टिकिरहेका छन् ।

अब आजको खेलमा पनि पेनाल्टी क्षेत्रभित्र उनको उत्कृष्ट मुभमेन्ट, हावामा उडेर बल प्रहार गर्ने क्षमता, उत्कृष्ट फिनिसिंग र ठूला प्रतियोगिताहरुको लामो अनुभवका कारण विपक्षी डिफेन्डरहरुले उनलाई खेलको कुनै पनि मिनेटमा आँखाबाट टाढा राख्न सक्ने छैनन् ।

टोलीका खेलाडी ब्रुनो फर्नान्डेसका अनुसार, यो वर्ष पोर्चुगलले उपाधि कब्जा गर्नेछ । ‘क्रिस्टियानो हाम्रो सहकर्मी, साथी र यस्तो खेलाडी हुनु ठूलो सम्मान हो जसले हामीलाई विश्वकप जित्न अझ नजिक ल्याउन सक्छ,’ फर्नान्डेसले भने, ‘उनीबाट हामी धेरै कुरा सिक्न सक्छौं। उनले आफ्नो करियरभरि देखाएको निरन्तर संघर्ष, कहिल्यै सन्तुष्ट नहुने मानसिकता र अझ राम्रो बन्ने चाहना हामीले सिकेका छौं।’

हुनपनि रोनाल्डोसँग विश्व कीर्तिमान अन्तर्राष्ट्रिय खेलहरूको अनुभव २२८ खेलको छ । फर्नान्डेसले आशा व्यक्त गरे कि उनको अनुभव युवा खेलाडीहरूका लागि अझ उपयोगी हुनेछ । ‘रोनाल्डो २० वर्षदेखि शीर्ष स्तरमा खेलिरहेका छन्, जुन कुरा अविश्वसनीय हो,’ उनले भने । ‘यी सबै गुणहरूले उनलाई सफल बनाएको हो। हामी आशा गर्छौं उनले विश्वकपमा पनि हामीलाई सहयोग गर्नेछन्, धेरै गोल गर्नेछन् र हामीलाई लक्ष्य नजिक पु¥याउनेछन्।’

पोर्चुगललाई विश्वकप दाबेदारमध्ये एक मानिँदै गर्दा समूह ‘के’ मा कोलम्बिया, डिआर कङ्गो र उज्बेकिस्तानसँग खेल्नेछ । कोलम्बियासँगको खेल सबैभन्दा महत्वपूर्ण हुने अनुमान छ, जुन समूह चरणको शीर्ष स्थान निर्धारण गर्न निर्णायक बन्न सक्छ । ‘कोलम्बिया निकै बलियो टोली हो,’ फर्नान्डेसले भने । ‘उनीहरूसँग राम्रो खेलाडीहरू छन् र उनीहरूले समस्या सिर्जना गर्न सक्छन्। विश्वकपमा कुनै पनि खेल सजिलो हुँदैन।’

फर्नान्डेस भन्छन्, ‘हाम्रो सपना विश्व च्याम्पियन बन्ने हो,’ । ’मुख्य कुरा हामीले ध्यान दिनुपर्ने कुरा के हो भने, पोर्चुगलले अहिलेसम्म विश्वकप जित्न सकेको छैन। अब हामी पहिलो टोली बनेर यो ट्रफी घर ल्याउन चाहन्छौं।’ म्यानचेस्टर युनाइटेडका मिडफिल्डरले आफ्नो टोलीबारे आशावादी हुने पर्याप्त कारण रहेको बताए, किनकि पोर्चुगल अहिले देशकै इतिहासकै सबैभन्दा बलियो पुस्तामध्ये एक मानिन्छ।

सन् २०२५ मा उनीहरूले युरोपियन च्याम्पियन स्पेनलाई हराउँदै यूईएफए नेसन्स लिग जितेका थिए, जसले आत्मविश्वास अझ बढाएको छ । ‘त्यो जितले हामीलाई राम्रो अनुभूति दिएको छ,’उनले भने, यसले देखाउँछ कि हाम्रो टिममा गुणस्तर र क्षमता छ। हामी एकदम बलियो समूह हौं र हामी साँच्चै राम्रो विश्वकप खेल्न सक्छौं भन्ने विश्वास छ।’

फर्नान्डेसले टोलीका प्रमुख खेलाडीहरूको उत्कृष्ट फर्मले पनि आत्मविश्वास बढाएको बताउँछन् । नुनो मेन्डेस, जोआओ नेभेस र भिटिन्हा पेरिस सेन्ट–जर्मेनमा लगातार खेलिरहेका छन् र उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पेड्रो नेटो चेल्सीमा चम्किरहेका छन्, राफाएल लिआओ एसी मिलानमा प्रभावशाली छन्, र बर्नार्डो सिल्भा म्यानचेस्टर सिटीबाट शानदार प्रदर्शनपछि क्लब छोडिसकेका छन् ।

यता आज मध्यराति पौने २ बजे इंग्ल्याण्ड र क्रोएसिया आमनेसामने हुँदैछन् । इङ्ल्यान्डले यसपाली विश्वकप जित्ने हो भने, क्रोएसियाविरुद्धको खेल महत्वपूर्ण हुनेछ । किनभने थोमस टुचेलको नेतृत्वमा रहेको इङ्ल्यान्डको च्याम्पियन हुने बाटो यहिँबाट सुरु हुने हो । प्रारम्भिक छनोटमा इङ्ल्यान्डले सबै आठ खेल जितेको थियो ।

अनि ती सबै खेलमा क्लिन सिट पनि राख्न सफल भयो । तर, विश्वकपको पूर्वसन्ध्यामा भएका मैत्रीपूर्ण खेलहरु भने इङ्ल्यान्डका लागि विर्सनलायक रह्यो । उरुग्वेसँग बराबरीमा रोकिएको टोली जापानसँग १–० ले स्तब्ध बन्यो । इङ्ल्यान्डले कुनै पनि एसियाली मुलुकसँग हार बेहोरेको यो नै पहिलोपटक थियो ।

तर, त्यसपछि न्युजिल्यान्ड र कोस्टारिकासँग जितले ह्यारी केनको कप्तानी रहेको टोलीमा विश्वकपअघि कन्फिडेन्स दिने काम ग¥यो । कोस्टारिकाविरुद्ध टुचेलले बलियो पहिलो रोजाई मैदानमा उतारेका थिए । त्यही कारण पनि ३–० को सहज जित सम्भव भएको थियो। यद्यपि थ्री लायन्सले पछिल्ला आठमध्ये सात संस्करण आफ्नो पहिलो खेलमा हार बेहोरेको छैन । सन् २०१४ मा टोली इटालीसँग २–१ ले पराजित भएको थियो ।

टोलीले सातमध्ये चार खेल जितेको छ भने बाँकी तीन खेल बराबरीमा टुंगिएको छ । पछिल्ला दुई संस्करण भने टोलीले क्रमशः ट्युनिसिया र इरानलाई हराएको थियो । तर, विश्वकको इतिहासले इङ्ल्यान्डलाई त्यति ‘फेबर’ गरेको देखिँदैन । इङ्ल्यान्डले अन्तर्राष्ट्रिय उपाधि नजितेको ६० वर्ष भइसकेको छ ।

विश्वकपमा अहिलेसम्म पनि क्रोएसियालाई उपाधिको दाबेदारका रुपमा गनिदैन । तर, टोलीले पछिल्ला दुई संस्करण लगातार मेडल जितेको छ । रसिया २०१८ मा उपविजेता क्रोएसियाले कतार २०२२ मा कांस्य पदक जितेको थियो । लगत्तैको वर्ष २०२२–२३ मा टोलीले नेसन्स लिगमा पनि मेडल प्राप्त ग¥यो ।

यद्यपि ज्लात्को ड्यालिकको नेतृत्वमा रहेको क्रोएसियालाई यसपाली मेडलको दाबेदार भनेर भनिहाल्न मिल्दैन । किनभने क्रोएसिया युरोपियन च्याम्पियनसिप २०२४ मा समूह चरणबाटै बाहिरिएको थियो। टोलीले एक खेल पनि जितेन। यो क्रोएसियाका लागि २००६ यताकै सबैभन्दा खराब अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

क्रोएसिया अनुभवी स्कवाडका साथ अमेरिका पुगेको छ । केही चर्चित खेलाडी अहिले करिअरको उत्तरार्धमा छन । तर, यसो भनिरहँदा क्रोएसियाका लागि छनोट प्रतियोगिता इङ्ल्यान्डको जस्तै सम्झनलायक रह्यो। टोलीले आठ खेलमा मात्र दुई अंक गुमायो ।

इङ्ल्यान्ड जस्तै क्रोएसियाका लागि पनि प्रि वल्र्डकप फ्रेन्ड्ली त्यति खास रहेन । ब्राजिल र बेल्जियमसँग हारेको क्रोएसियाले स्लोभेनियाविरुद्ध २–१ को संघर्षपूर्ण जित निकाल्यो । स्लोभेनियारुद्ध इन्जुरी समयमा मारियो पासालिकले गोल गर्दै टोलीलाई जित दिलाएका थिए ।

रसिया २०१८ को सेमिफाइनलमा मारियो मान्जुकिचले १०९औं मिनेटमा इङ्ल्यान्डविरुद्ध निर्णायक गोल गरेका थिए । इङ्ल्यान्डमा अहिले इन्जुरीको समस्या छैन । तर, राइट विंगर बुकायो साकाको फिटनेश टुचेलका लागि टाउको दुखाईको विषय बनिरहेको छ । आर्सनलका साका अहिले फिट नरहेको बुझिएको छ ।

साकाको ठाउँमा टुचेलले उनका आर्सनल सहकर्मी नोनी माडुवेकेलाई खेलाउने सम्भावना बलियो छ । लेफ्ट साइडमा बार्सिलोनाका नयाँ साइनिङ एन्टोनी गोर्डन हुने अनुमान गरिएको छ । क्रोएसियसँग पनि विकल्पहरु धेरै छन् । लुका मोड्रिच र इभान पेरिसिच ‘प्लेयर्स टु वाच’ हुन् । पेरिसिचका लागि गत सिजन एकदमै राम्रो रह्यो । पिएसभीले गरेका २६ गोलमा उनको संलग्नता रह्यो ।

Advertisement

भर्खरको समाचार

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

सम्बन्धित समाचार

Scroll to Top