देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

२ असार ८३, बुधबार

३ असार, काठमाण्डौ।

हाल नेपाल बाहिर रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले आफूलाई फरार भनिएकोमा चित्त दुखाएका छन् । यस्तै नेपाल फर्किनासाथ प्रहरीको धरपकडमा पर्ने डरले आफूहरुलाई सताइरहेको पनि बताएका छन् । यी कुराहरु उनीहरुले पत्र लेख्दै जनाएका हुन् ।

अहिले हङकङमा रहेको ठानिएका उनीहरुले आफूहरु नेपाल फर्किने तयारीमा रहेको तर यहाँ आइपुग्दा पक्राउको डर रहेको जनाएका हुन् । आफूहरु फरार होइन, स्वास्थउपचारका लागि विदेश आएको जनाएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई एउटा पत्र लेख्दै यी सबै कुरा देउवा दम्पतीले बताएका हुन् ।

Advertisement

पत्रमा आफूहरूमाथि भइरहेको अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । आगामी दुई महिनाभित्र नेपाल फर्किने जानकारी गराएका छन् । उक्त निवेदनमा विभागलाई सम्बोधन गर्दै आफूहरूविरुद्ध लगाइएका आरोपहरूको खण्डन गरिएको छ र अनुसन्धान प्रक्रियामा सघाउने इच्छा व्यक्त गरिएको छ ।

पत्रमा देउवा दम्पतीले २०८२ साल भदौ २४ गते बूढानीलकण्ठस्थित उनीहरूको निवासमा भएको साङ्घातिक आक्रमण र आगजनीको घटनालाई मुख्य सन्दर्भ बनाएका छन् । अराजक समूहले घरमा प्रवेश गरी ज्यान लिने उद्देश्यले आक्रमण गरेको र नेपाली सेनाले उद्धार गरेका कारण मात्र आफूहरू जीवित रहेको उनीहरूले उल्लेख गरेका छन् ।

Advertisement

उक्त आक्रमणपछि लामो समय सैनिक अस्पतालमा उपचार गराउनुपरेको र हाल पनि उपचारकै क्रममा रहेको पत्रमा जनाइएको छ । ‘घाइते अवस्थामा उपचार गराइरहेका बेला कुनै आधार र प्रमाणबिना अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिइएको रहेछ,’ पत्रमा भनिएको छ ।

विभागको टोलीले २०८२ असोज ६ गते उनीहरूको आगजनी भएको घरमा पुगेर गरेको खानतलासीका विषयमा पनि पत्रमा चर्चा गरिएको छ । देउवाका नातेदार रामबहादुर देउवाको रोहबरमा भएको उक्त खानतलासीमा कुनै पनि बहुमूल्य वस्तु वा नगद फेला नपरेको मुचुल्काले नै प्रमाणित गरिसकेको दाबी देउवा दम्पतीको छ ।

आफूहरूले सधैं कानुनबमोजिम सम्पत्ति विवरण बुझाउँदै आएको र अहिलेसम्म कुनै पनि संवैधानिक निकायले त्यसमा प्रश्न नउठाएको उनीहरूले उल्लेख गरेका छन् । ‘केबल नोट र बहुमूल्य वस्तुहरू जली नष्ट भएको भन्ने गलत तथ्यलाई विभागकै टोलीले खानतलासीबाट गलत प्रमाणित गरिसकेको छ,’ पत्रमा उल्लेख छ ।

देउवा दम्पतीले आफूहरू नेपालबाहिर रहेको मौका छोपी इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी गर्ने तयारी भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरूले यसलाई कानुनी र संवैधानिक आधारविहीन कदम भनेका छन्। पत्रमा भनिएको छ, ‘हामी देश छाडेर भागेको होइन, उपचारका लागि बाहिर रहेको समयमा यस्ता खालका भाष्य सिर्जना गरी पक्राउ पुर्जी जारी गर्ने प्रयास नगरियोस् ।’

आफूहरू सार्वजनिक उत्तरदायित्वको पदमा रहेका र देशको प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री जस्तो जिम्मेवारी सम्हालिसकेका व्यक्ति भएकाले अनुसन्धानबाट नभाग्ने उनीहरूले स्पष्ट पारेका छन् । ‘आफ्नो निर्दोषिता पुष्टि गर्न हामी अनुसन्धानमा सहयोग गर्न तत्पर छौं ।हाल उपचारमै रहेकाले आजको मितिदेखि २ महिनाभित्र नेपाल फर्की विभागलाई जानकारी गराउनेछौं,’ पत्रमा प्रतिबद्धता जनाइएको छ ।

दुवैजनाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र विशेष अदालतलाई संयुक्त पत्र पठाएर दुई महिनाभित्र नेपाल फर्किन तयार रहेको भन्दै नेपाल आउन कठिन हुने अवस्था नबनाइदिन आग्रह गरेका हुन् । पत्रमा असार २८ गतेको मिति उल्लेख छ । तर सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग सम्वद्ध स्रोतले इमेलबाट प्राप्त पत्र आधिकारिक रहेको पुष्टि गर्दै देउवा दम्पतीले नै त्रुटीबस एक महिनापछिको मिति उल्लेख गरेको बतायो ।

पत्रको बोधार्थप्रति विशेष अदालतमा समेत पुगेको छ ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि पक्राउ पूर्जी जारी गर्न वा मुद्दा चलाउनुपरेमा विशेष अदालत पुग्नुपर्छ । देउवा दम्पतीले आफूहरुको सम्भावित मुद्दा हेर्ने अदालतमा समेत पत्रको बोधार्थ पठाएका हुन् । ‘हामीलाई हेर्ने अख्तियारले हो’ जेनजी आन्दोलनको भोलिपल्ट अर्थात २४ भदौमा उनीहरुमाथि बुढानीलकण्ठस्थित घरमै सांघातिक आक्रमण भएको थियो ।

त्यसपछि करिव छ महिना नेपालमा रहेका उनीहरु २१ फागुनको निर्वाचनअघि उपचारका लागि भन्दै सिंगापुर गएका थिए, त्यसयता नेपाल फर्किएका छैनन् । देउवा दम्पतीले पत्रमा आफूहरु उपचारका क्रममा रहेका बेला कसैले अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएको जिकिर गरेका छन् ।

तर अख्तियारबाट थप कुनै छानबिन नभएको भन्दै उनीहरुले सम्पती शुद्धीकरण अनुसन्धान विभागले भने आफूहरुको भग्नावशेषयुक्त घरमा मुचुल्का गरेको जनाएका छन् । आफूहरुले नियमित रुपमा सम्पत्ति विवरण बुझाएको र सम्पत्तिबारे छानबिन गर्नुपरेमा अख्तियारले अनुसन्धान गर्नसक्ने भन्दै उनीहरुले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान अघि बढाएकोमा प्रश्न उठाएका छन् ।

जेनजी आन्दोलन लगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उपमहानिर्देशक निर्मल ढकालको नेतृत्वमा टोली गठन गरेको र उक्त टोलीले देउवा निवासबाट नगद र बहुमूल्य गहनाको अवशेष नगरेको भनी प्रतिवेदन दिएको भन्दै देउवा परिवारले त्यसपछिको अनुसन्धानमा प्रश्न उठाएका हुन् ।

आफूहरुको पक्राउपूर्जी विरुद्ध देउवा सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले अध्यादेशमार्फत अदालतको क्षेत्राधिकार फेरिएर विशेष अदालतमा पुगेको अवस्थामा जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा पक्राउको प्रयास गर्नु उचित नहुने भन्दै पक्राउ पूर्जी नै खारेज गरेको थियो ।

आफूहरु महिनौसम्म नेपाल बस्दा अनुसन्धान नहुने, तर विदेश जानासाथ अनुसन्धान अघि बढेर पक्राउ पूर्जी जारी भएको भन्दै उनीहरुले आफूहरु लामो समय सार्वजनिक जीवनमा रहेकाले कानूनसम्मत र खुला रुपमा नै आफूहरु कानूनी उपचारमा जाने बताएका हुन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पती विरुद्ध जिल्ला अदालतबाट पक्राउ अनुमती लिएको थियो । शुरुमा देउवा परिवारले जिल्ला अदालत काठमाडौंबाट जारी भएको पक्राउ पूर्जी नै खारेज गराउन चाहन्थ्यो । त्यसका लागि उनीहरु सर्वोच्च अदालत गएका थिए ।

१८ बैशाख, २०८३ मा राजपत्रमा प्रकाशित अध्यादेश अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएका मुद्दाहरु जिल्ला अदालतको साटो विशेष अदालतमा दायर हुनेगरी व्यवस्था परिवर्तन गरिएको थियो । सर्वोच्च अदालतले ११ जेठमा त्यही परिवर्तित क्षेत्राधिकारमा प्रश्न उठाएर देउवा दम्पतीका नाममा जारी पक्राउ पूर्जीमाथि रोक लगाइएको हो ।

त्यतिबेलासम्म विशेष अदालतमा पक्राउ अनुमतिका लागि विभागले निवेदन नदिएको र पक्राउ पूर्जी जारी नभएको भनी सर्वोच्च अदालतले प्रश्न उठाएको हो । सर्वोच्चले आदेशमा भनेको थियो, ‘कानूनको अधिनमा रही विधिसम्मत रुपमा पक्राउ गर्न सकिनेमा विवाद नभए पनि त्यस्तो पक्राउ स्वेच्छारी रुपमा हुनुहुँदैन ।

यसरी पक्राउ गर्दा प्रचलित कानूनले स्थापित गरेको विधि र प्रक्रिया अनुरुप हुनुपर्ने कुरामा कुनै विवाद हुन सक्दैन ।’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग विशेष अदालत गएमा देउवा दम्पतीमाथि फेरि पक्राउ अनुमति जारी हुनसक्ने सम्भावनलाई सर्वोच्च अदालतले रोक लगाएको थिएन ।

त्यही अवस्था बुझेका देउवा दम्पतीले आफूहरु नेपाल फर्केपछि विभागमा उपस्थित भएर अनुसन्धानमा सघाउने भनी पत्र लेखेका हुन् । ‘आफ्नो निर्दोषिता पुष्टि गर्नका लागि तहाँ उपस्थित भै अनुसन्धानमा सहयोग गर्न हामी तत्पर रहेको कुरा प्रारम्भिक रूपमा नै स्पष्ट गर्न चाहेका छौं,’ संयुक्त रुपमा हस्ताक्षरित पत्रमार्फत पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री डा. आरजु राणा देउवाले भनेका छन्, ‘हाल हामी उपचारमा नै रहेको हुनाले आजको मितिले दुई महिना भित्र नेपाल फर्की तहाँ विभागलाई जानकारी गराउने व्यहोरा अनुरोध गरेका छौं ।’

देउवा दम्पतीलाई लागेको पक्राउको डर स्वभाविक पनि छ । किनभने यसै मुद्यामा पनि फेरि पनि विशेष अदालतबाट पक्राउ पूर्जी जारी हुनसक्छ । यस्तै अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि सुनुवाइ जारी छ । यसमा बहस गर्ने अधिवक्ताहरुले आरजु लगायतकाहरुलाई पनि बयानमा बोलाउन अदालत समक्ष माग गरेका छन् ।

यता सरकारले पनि सबै उच्चपदस्थहरुको सम्पत्ति विवरण मागेको छ, त्यसमा कैफियत देखिए देउवा परिवार संकटमा पर्न सक्छ । सम्पती विवरण बुझाउनेहरुका साथै उजुरी परेको संख्या पनि उल्लेख्य छ । यस्तोमा कुन उजुरीमा कसको नाम छ, त्यसले पनि धेरैको निन्द्रा उडाइदिएको छ ।

अर्कातिर ठूला घोटाला प्रकरणहरुको फाइल पनि छिटै खोल्ने सरकारका मन्त्रीहरुले बताइरहेका छन् । यसमा नक्कली शरणार्थीदेखि वाइडबडी लगायतका थुप्रै प्रकरणहरुमा देउवा पनि मुछिएका छन् । कतिपय केसमा प्रमाणहरु समेत बाहिरिएका छन् ।

अहिले विगतमा सरकारमा रहेकाहरु कुनै न कुनै प्रकरणमा तानिने सम्भावना छ, यस्तोमा देउवा दम्पती अछुतो रहन सम्भव छैन । सोही कारण पनि उनीहरु नेपाल फर्किन डराइरहेका छन् ।

Advertisement

भर्खरको समाचार

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

सम्बन्धित समाचार

Scroll to Top