असोज २३ : घटस्थापनाको दिनबाट रिलिज हुन लागेका बहु–प्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’ को बुकिङ खुल्ला गरिएको छ । फिल्मप्रति दर्शकको उत्साहपूर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा सोमबार साँझबाटै बुकिङ खुलाइएको हो ।
देशभरका अधिकांश सिंगल पर्दामा रिलिज हुने फिल्मले मल्टिप्लेक्समा सर्वाधिक शोज हात पारेको छ । गएको वर्ष फिल्म ‘छक्का पञ्जा २’ लाई राजधानीको क्युएफएक्स च्यानले २६ शोज बाँडेको थियो तर ‘छक्का पञ्जा ३’ ले ३० शोज पाएको छ ।
बुकिङ खुल्ला भएसँगै मल्टिप्लेक्समा फिल्मको टिकट दर्शकले ‘रिजर्भ’ गर्न थालिसकेका छन् । आक्रामक रुपमा भइरहेको बुकिङले फिल्मको रिलिज अगावै मल्टिप्लेक्सका केही शोज सोल्ड आउट हुने सम्भावना प्रवल छ । क्युएफएक्स अन्तर्गतको लबिम र सिभिल हलमा फिल्मको अग्रिम टिकट रिजर्भ गर्ने दर्शक अत्याधिक देखिएका छन् । बिहान ८ बजे र साँझ ६ बजे पछिको शोजको टिकट बढी बिक्री भइरहेको छ ।
उक्त फिल्मलाई क्यूज सिनेमाले प्रदर्शनको पहिलो दिन ११ शोज, विएसआर मुभिजले १२ शोज, सिडिसी सिनेमाले १० शोज, विग मुभिजले १० शोज र एफक्यूबले ११ शोज बाँडेको छ । फिल्मको एडभान्स बुकिङ र इनिसियल बक्सअफिस आक्रामक भएको खण्डमा मल्टिप्लेक्सले शोजमा वृद्धि गर्नेछ ।
बुकिङ खुल्ला गरिएको केही घण्टा नवित्दै आक्रामक बुकिङले गर्दा फिल्मको ओपनिङ कस्तो हुने भन्ने समेत चर्चा बढेको छ । २ घण्टा २० मिनेट लामो दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ३’ ले पहिलो दिन नै करोड ग्रस कलेक्सन गर्ने अनुमान लगाईएको छ । फिल्मलाई सेन्सर बोर्डले सबै उमेर समुहका दर्शकले हेर्न मिल्ने सर्टिफिकेट प्रदान गरेको छ