पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

८ असार ८३, मंगलबार

९ जेठ , काठमाण्डौ ।

नेपाली राजनीतिको इतिहासमा एउटा नयाँ तरङ्ग ल्याएर उदाएको पार्टी– हो, राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रास्वपा । स्थापनाको छोटो समयमै संसद्को चौथो ठूलो शक्ति हुँदै दुई तिहाइ नजिकको बहुमतको सरकार हाँकिरहेको रास्वपा अहिले आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण मोडमा आइपुगेको छ ।

त्यो हो– पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन । पहिलो महाधिवेशनको बन्दसत्र जारी छ । तर, यो महाधिवेशन केवल नयाँ नेतृत्व चयन गर्ने थलो मात्र बनिरहेको छैन, बरु यसले रास्वपाभित्रको आन्तरिक लोकतन्त्र, बढ्दो गुटबन्दीको डर र भावी दिशाको समेत परीक्षण गरिरहेको छ ।

Advertisement

बन्दसत्रको उद्घाटन गर्दै पार्टी सभापति रवि लामिछानेले आफ्ना प्रतिनिधिहरूलाई यस्तो निर्देशन दिएका छन्, जसले नेपालका पुराना राजनीतिक दलहरूलाई समेत ठूलो धक्का दिएको छ । तर, के रविले सोचेजस्तै रास्वपा गुटबन्दीमुक्त बन्ला त?

के पुराना पार्टीकै रोग रास्वपामा पनि सल्किसकेको हो?रवि लामिछानेले आफ्नो भाषणको सुरुवात निकै घोत्लिनुपर्ने वाक्यबाट गरे। उनले भने– ‘सपना देख्दैमा र चाहना राख्दैमा अटो पाइलटमा गएर आफैँ पूरा हुँदैन, यसका लागि केही कदम चाल्नैपर्छ।’

Advertisement

रास्वपाले जुन गतिमा नेपाली राजनीतिमा स्पेस पायो, त्यो नेपालको इतिहासमा विरलै हुने घटना हो । रवि आफैँले दाबी गरेअनुसार, संसारको राजनीतिक इतिहासमै विरलै हुने गरी पहिलो महाधिवेशन हुनु अगावै यो पार्टीले झण्डै दुई तिहाइको सरकार प्राप्त गरिसकेको छ ।

तर, के सधैँ ‘नो नट अगेन’ को नाराले मात्र पार्टी चल्छ त? रवि लामिछानेले आफ्ना कार्यकर्ता र नेताहरूलाई यहीँनेर सचेत गराएका छन् । चुनाव जित्नु वा सरकारमा जानु मात्र ठूलो कुरा होइन, जनताले जुन अथाह विश्वास गरेर मत दिएका छन्, त्यसलाई अब परिणाममा बदल्ने बेला आएको छ ।

इतिहासको महिमागान गाएर र पुराना जितको ब्याज खाएर मात्रै भविष्य सुरक्षित हुँदैन। अब रास्वपा ’पपुलिजम’ बाट माथि उठेर एउटा संस्थागत र परिपक्व राजनीतिक दल बन्नुपर्ने बाध्यता छ र त्यसका लागि केवल भाषण होइन, ठोस कदम चाल्नैपर्ने सन्देश रविको छ।

नेपाली राजनीतिको सबैभन्दा ठूलो रोग भनेकै पार्टीभित्रको गुटबन्दी हो । कांग्रेस, एमाले वा माओवादी– जुनसुकै दलको महाधिवेशन हेर्नुहोस्, त्यहाँ प्यानल नै बनाएर, करोडौँ खर्च गरेर चुनाव लडिन्छ। जसले गर्दा चुनाव सकिएपछि पनि पार्टीभित्र पानी बाराबारको स्थिति हुन्छ ।

अहिले कांग्रेस र एमाले यसका ताजा उदाहरण हुन् । रवि लामिछानेले रास्वपालाई यो रोगबाट बचाउन बन्दसत्रमा सिधै कडा निर्देशन दिएका छन् । उनले कुनै पनि गुट, उपगुट र प्यानल बनाउन पूर्ण रूपमा निषेध गरेका छन् । उनले भनेका छन् – भित्रभित्रै नामको सूची पठाउने, गुटका आधारमा फोनबाट भोट माग्ने जस्ता अस्वस्थ गतिविधि तुरुन्त बन्द गरियोस् ।

तर यहाँनेर एउटा गम्भीर प्रश्न उठ्छ । रवि लामिछानेले किन यति कडा रूपमा यो कुरा उठाउनुप¥यो? के रास्वपाभित्र पनि भित्रभित्रै गुटबन्दी सुरु भइसकेको छ ? राजनीतिक वृत्तमा चलेका हल्लाहरूलाई मान्ने हो भने, रास्वपाभित्र पनि पुराना र नयाँ नेताहरूबीच, अनि बौद्धिक भनिने र सडक आन्दोलनबाट आएका नेताहरूबीच मतभेदका झिल्काहरू देखिन थालेका छन् ।

रविले बेलैमा यो कुरा थाहा पाएर नै हलभित्रै सचेत गराएका हुन् । उनले स्पष्ट भनेका छन् – चुनाव जसले जिते पनि जित्ने भनेको घण्टीवाहकले नै हो, त्यसैले स्वस्थ प्रतिस्पर्धा मात्र हुनुपर्छ । यो महाधिवेशनको सबैभन्दा बढी चर्चामा रहेको र सामाजिक सञ्जालमा बहस उत्पन्न गराएको विषय थियो– महाधिवेशन प्रतिनिधिको लागि तोकिएको ५ हजार रुपैयाँ शुल्क ।

कतिपय आलोचकहरूले रास्वपाले गरिब वा सर्वसाधारण कार्यकर्तालाई महाधिवेशनमा आउन नसक्ने बनायो भन्दै आलोचना पनि गरेका थिए । तर, बन्दसत्रको उद्घाटन गर्दै सभापति लामिछानेले आफ्नो विशेषाधिकार प्रयोग गरेर एउटा अनपेक्षित र सरप्राइज निर्णय सुनाए । उनले ५ हजार रुपैयाँको शुल्कलाई पूर्ण रूपमा ऐच्छिक बनाइदिएका छन् ।

अर्थात्, जसले तिर्न सक्छ, उसले तिर्ने, जसले सक्दैन, उसले तिर्नु नपर्ने । यति मात्र होइन, उनले अझ अगाडि बढेर भने– ‘महाधिवेशन धेरै दिन चल्दा प्रतिनिधिको खर्च बढेको छ । आर्थिक भारकै कारण कोही पनि मतदानबाट वञ्चित भएर फर्किनु हुँदैन । जसले शुल्क तिरिसक्नुभएको छ, उहाँहरूले चाहेमा रकम फिर्ता लिन सक्नुहुन्छ र शुल्क तिर्न नसक्नेहरूका लागि पार्टीले नै वैकल्पिक स्रोतको व्यवस्था गर्नेछ।’

रविको यो कदमलाई राजनीतिक विश्लेषकहरूले निकै स्मार्ट मुभका रूपमा हेरेका छन् । यसले एकातिर तल्लो तहका कार्यकर्तामाझ रविको लोकप्रियता र सहानुभूति अझ बढाइदिएको छ भने अर्कोतिर पार्टी पैसावालहरूको मात्र होइन भन्ने सन्देश जनतामाझ प्रवाह गर्न रास्वपा सफल भएको छ ।

आर्थिक अभावकै कारण कोही प्रतिनिधि मतदान प्रक्रियाबाट नछुटोस् भन्ने सुनिश्चित गरेर रविले पार्टीभित्र अभिभावकत्वको भूमिका देखाउन खोजेका छन् । रवि लामिछानेको सम्बोधनको सबैभन्दा शक्तिशाली र दार्शनिक अंश यो थियो, जहाँ उनले प्रतिनिधिहरूलाई आफ्नो विवेक बन्धकी नराख्न आग्रह गरे ।

नेपालका पुराना पार्टीहरूमा के हुन्छ? शीर्ष नेताले जसलाई भन्यो, कार्यकर्ताले आँखा चिम्लेर उसैलाई भोट हाल्छन्। यसलाई ’ह्विप’ वा ’उर्दी’ भनिन्छ । तर रविले कडा शब्दमा भनेः “कसैले सदस्य बनाइदिएका भरमा वा यहाँसम्म ल्याइदिएका भरमा लालमोहर वा औँठाछाप लगाएर आफ्नो इमान बन्धकी राखेर आउनु हुँदैन ।

गलत तरिकाले कसैले हलसम्म ल्याइपु¥याएको भए पनि देश र पार्टीप्रति उत्तरदायी भएर सक्षम व्यक्तिलाई मात्र मतदान गर्नुहोस् ।” यो भनाइले रास्वपाभित्रका ती नेताहरूलाई सिधै प्रहार गरेको छ, जसले आफ्ना मान्छेहरूलाई प्रतिनिधि बनाएर हलसम्म ल्याएका छन् ताकि चुनाव जित्न सकियोस् ।

रविले प्रतिनिधिहरूलाई स्वतन्त्रता दिएका छन्– तिमीहरूलाई यहाँ जसले ल्याएको भए पनि, भोट हाल्ने बेला आफ्नो विवेक प्रयोग गर । किनकि, रविकै शब्दमा– ‘गलत पात्र र प्रवृत्तिको एउटा सानो बिउ मात्र रोपिए पनि त्यसले कालान्तरमा दुर्घटना निम्त्याउँछ।’ रास्वपालाई भविष्यको ठूलो दुर्घटनाबाट जोगाउन यो विवेकको मत निकै निर्णायक हुने देखिन्छ ।

महाधिवेशनको मुखमा रास्वपाभित्र विभिन्न अफवाहहरू पनि फैलिएका थिए । जस्तैः जो पहिले नै सांसद वा मन्त्री भइसकेका छन्, उनीहरूलाई फेरि केन्द्रीय समितिमा उम्मेदवार बन्न नदिइने, वा पुराना संस्थापक र नयाँ आएका नेताहरूबीच विभेद गरिने जस्ता कुराहरू बजारमा सुन्निएका थिए ।

रविले बन्दसत्रबाटै यी सबै अफवाहको औपचारिक खण्डन गरिदिएका छन् । उनले स्पष्ट पारे कि पार्टीले यस्तो कुनै पनि विभेदकारी निर्णय गरेको छैन र गर्ने पनि छैन । जसले पनि निर्बाध रूपमा उम्मेदवारी दिन पाउनेछ । कसलाई भोट दिने र कसलाई नदिने भनेर पार्टीले कुनै उर्दी जारी गर्नेछैन ।

यसका साथै, नेपालको राजनीतिमा स्थापित एकअर्काको खुट्टा तान्ने प्रवृत्तिको कडा आलोचना गर्दै उनले रास्वपामा नयाँ संस्कृति स्थापित गर्न आह्वान गरे । उनले भने– ‘राजनीतिमा खुट्टा तान्ने धेरै छन्, तर रास्वपामा सक्नेले नसक्नेको हात समातेर माथि तान्ने संस्कार बसाल्नुपर्छ।’

यो भनाइले पार्टीभित्र सिनियर र जुनियर नेताहरूबीच हुनसक्ने सम्भावित टकरावलाई साम्य पार्ने काम गरेको छ । पार्टी भनेपछि मतभेद हुनु, विचार नमिल्नु एकदमै स्वाभाविक प्रक्रिया हो । लोकतन्त्रमा असहमति नै सुन्दरता हो । रास्वपाभित्र पनि पछिल्लो समय नीति, विचार र कार्यशैलीलाई लिएर फरक मतहरू सतहमा आउने गरेका छन् ।

यस विषयमा रविले निकै परिपक्वता देखाउँदै प्रतिनिधिहरूलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएका छन् । उनले भने कि मतभेद वा समस्या आउनु स्वाभाविक हो, तर त्यसलाई समाधान कसरी गरिन्छ भन्ने कुराले दल कति परिपक्व छ भन्ने देखाउँछ ।

उनले चेतावनीयुक्त शैलीमा भने– ‘पार्टीभित्रका कुनै पनि असन्तुष्टि र मनमुटाबलाई कोठाभित्रै बसेर छलफलमार्फत टुङ्ग्याउनुपर्छ, यसलाई सडक वा मैदानमा लगेर तमासा बनाउनु हुँदैन ।’ यो सन्देश विशेष गरी ती नेता–कार्यकर्ताहरूका लागि हो, जो पार्टीका आन्तरिक कुराहरू सिधै सामाजिक सञ्जाल फेसबुक वा मिडियामा लगेर पोख्ने गर्छन्, जसले गर्दा पार्टीको छविमा धक्का लाग्छ । रविले विना विवाद, स्वस्थ र स्वच्छ तरिकाले महाधिवेशन सम्पन्न गरेर इतिहास रच्न सबैलाई आह्वान गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top