११ असार, काठमाण्डौ ।
अमेरिकी आक्रमणका कारण सत्ता परिवर्तनसहित गहिरो राजनीतिक संकटमा परेको भेनेजुएला अहिले प्रकृतिको पनि प्रकोपमा परेको छ । त्यहाँ केही सेकेन्डको अन्तरालमा आएको दुई शक्तिशाली भूकम्प र त्यसपछिको पराकम्पले सिंगो देश हल्लिरहेको छ । पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प गएका छन्, जसका कारण सर्वसाधारणहरू रातभर खुला सडकमा बस्न बाध्य भएका छन् ।
अहिलेसम्म मानविय क्षतिको यकिन विवरण आउन सकेको छैन तर १० हजारदेखि १ लाखसम्म मानिसहरुको ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । देशको उत्तरी तटीय क्षेत्र ला गुइरा, अरागुआ, काराबोबो र फाल्कोन भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।
राजधानी काराकास र आसपासका क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार साँझ एकाएक दुईवटा शक्तिशाली भूकम्प गएका थिए । केही सेकेन्डको अन्तरालमा गएका ७.२ र ७.५ म्याग्निच्युडका यी भूकम्पका कारण राजधानीका थुप्रै आवासीय भवन भत्किएका छन् भने ठूलो संख्यामा मानवीय क्षति भएको आशंका गरिएको छ ।
१० हजारबढी मानिसको ज्यान गएको हुन सक्ने ठानिएको छ । भूकम्पीय गतिविधिको निगरानी गर्ने अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) ले भने मृतकको संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने अनुमान गरेको छ । क्यालिफोर्निया विश्वविद्यालय, सान डिएगोका भूभौतिकशास्त्री वाशान राइटका अनुसार यो अनुमान ‘पेजर’ –प्रम्ट एसेसमेन्ट अफ ग्लोवल अर्थक्विक रेस्पोन्स) नामक उन्नत मोडेलिङ प्रणालीको प्रयोगबाट गरिएको हो ।
उनका अनुसार, ‘यसले भूकम्पको तीव्रता, गहिराइ, स्थान, जनघनत्व, ऐतिहासिक भूकम्पीय तथ्यांक र भवनहरूको अवस्थासम्बन्धी उपलब्ध जानकारीलाई विश्लेषण गरेर सम्भावित क्षतिको पूर्वानुमान गर्छ ।’ उनले थपे, ‘धेरै अवस्थामा पेजरको अनुमान वास्तविक क्षतिसँग निकै नजिक हुने गर्छ ।’
जम्मा ३९ सेकेण्डको अन्तरालमा दुईवटा शक्तिशाली भूकम्पका धक्का महसुस गरिएका हुन् । अमेरिकी सुनामी चेतावनी केन्द्रका अनुसार यो शृङ्खलाबद्ध भूकम्पीय गतिविधिमा ७.५ म्याग्निच्युडको मुख्य भुइँचालो गएको हो । भेनेजुएला सरकारले अहिलेसम्म मृत्युको कुनै आधिकारिक संख्या जारी गरिसकेको छैन ।
दुवै भूकम्प राजधानी कराकासबाट लगभग २९० किलोमिटर पश्चिममा गएका हुन् । कराकाससहित धेरै सहरमा भवन भत्किएका छन् । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रिय आपत्काल घोषणा गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार कराकास विमानस्थलको छतको एक भाग भत्किएको छ ।
यो १२६ वर्षयताकै ठुलो भूकम्प हो । यसअघि सन् १९०० मा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै भेनेजुएलाको भूकम्पलाई विनाशकारी भन्दै दुःख व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘भेनेजुएलामा गएका दुईवटा ठूला भूकम्पले ठूलो विनाश निम्त्याएको छ र ठूलो संख्यामा मानिसको ज्यान गएको छ । अमेरिका हाम्रा यी नयाँ र महान् साथीहरूलाई तत्काल सहयोग गर्न तयार र सक्षम छ र मैले सरकारी निकायलाई छिटो कदम चाल्न निर्देशन दिइसकेको छु ।
यता भूकम्पलगत्तै भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर संकटकाल घोषणा गरेकी छन् । भूकम्पका कारण देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर क्षति पुगेपछि विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भूकम्पका कारण व्यापक क्षति भएको र हताहत हुनेको संख्या निकै उच्च हुन सक्ने चेतावनी दिएको छ ।
भेनेजुएलामा राष्ट्रिय बिदाको दिन परेकाले स्थानीय समयअनुसार साँझ भूकम्प जाँदा अधिकांश मानिस आफ्नै घरभित्र थिए । भूकम्पको धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटा र ब्राजिलसम्म समेत महसुस गरिएको थियो । कार्यवाहक राष्ट्रपति रोड्रिगेजले मृतकहरूको संख्या यकिन नगरे पनि ठूलो क्षति भएको स्वीकार्दै पीडित परिवारप्रति गम्भीर समवेदना प्रकट गरेकी छन् ।
भत्किएका भवनका भग्नावशेषभित्र पुरिएका मानिसको जीवितै उद्धारका लागि सुरक्षाकर्मी र उद्धार टोलीहरू तीव्र रूपमा परिचालन गरिएका छन् । लगातारका गएका भूकम्पका कारण थुप्रै भवनहरू भत्किएका छन् भने त्रसित नागरिकहरू ज्यान जोगाउन सडकमा निस्किएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) ले यी लगातारका भूकम्पका कारण हजारौँ मानिस हताहत हुन सक्ने र व्यापक क्षति पुगेको हुन सक्ने चेतावनी दिएको छ। यद्यपि क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ। भूकम्प लगत्तै सरकारले देशैभर संकटकाल घोषणा गरेर उद्धारकर्मी र सुरक्षाकर्मी परिचालन गरेको छ ।
यो विपद् भेनेजुएलाका लागि निकै कठिन समयमा आएको छ। अमेरिकी फौजले राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि हाल त्यहाँ अन्तरिम सरकार क्रियाशील छ । लामो समयदेखिको चरम आर्थिक र राजनीतिक सङ्कट झेलिरहेको देशमा यो अर्को ठुलो बज्रपात बनेको छ ।
विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार पहिलो ७.२ म्याग्निच्युडको धक्का याराकुई राज्यको राजधानी सान फेलिप नजिकै स्थानीय समय अनुसार साँझ ६ः०४ बजे गएको थियो। त्यसको ठिक ४० सेकेन्ड पछि सोही राज्यको युमारे सहरभन्दा २३ किलोमिटर दक्षिणपूर्वलाई केन्द्रबिन्दु बनाएर ७.५ म्याग्निच्युडको अर्को ठुलो भूकम्प गयो। युमारे क्षेत्र भेनेजुएलाका ठुला तेल प्रशोधन केन्द्रहरू रहेको क्षेत्र पनि हो ।
बुधबार त्यहाँ सेन्ट जोन द ब्याप्टिस्ट र स्पेनबाट देश स्वतन्त्र भएको उत्सव मनाउने सार्वजनिक बिदा परेकाले धेरैजसो मानिसहरू घरमै वा सार्वजनिक कार्यक्रममा व्यस्त थिए । केन्द्रबिन्दुभन्दा करिब ३०० किलोमिटर टाढा रहेको राजधानी काराकासको धनाढ्य बस्ती अलटामिरा स्क्वायर नजिकै कम्तीमा तीनवटा भवन आंशिक रूपमा भत्किएका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा काराकास र तटीय सहर कातिया ला मारका पहाडी क्षेत्रमा घरहरू भत्किएको र पूर्वाधारमा व्यापक क्षति पुगेको देखिन्छ। घरबाट भागेका एक स्थानीयले ‘दृश्य कुनै हरर फिल्म जस्तै भयानक रहेको’ बताए । सुरुमा पुएर्टो रिको र भर्जिन टापु लगायतका क्षेत्रमा सुनामीको चेतावनी दिइए पनि पछि अमेरिकी सुनामी चेतावनी केन्द्रले सुनामीको खतरा नरहेको स्पष्ट पारेको छ ।
यूएसजिएसले आफ्नो पेजर प्रणाली मार्फत यो भूकम्पका लागि ‘रेड अलर्ट’ जारी गरेको छ, जुन इतिहासमा वर्षमा एक वा दुई पटक मात्र जारी गरिन्छ। यूएसजिएसका अनुसार यस क्षेत्रका अधिकांश भवनहरू भूकम्पको धक्का थेग्न नसक्ने खालका भएकाले ठुलो मानवीय र आर्थिक क्षति हुन सक्ने सम्भावना छ ।
विपद् व्यवस्थापनका लागि सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। देशैभरका विद्यालयहरू एक हप्ताका लागि बन्द गरिएको छ भने रेल सेवा र अत्यावश्यक बाहेकका अन्य गतिविधि रोकिइसकेका छन्। थप संरचनाहरू भत्किन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा बल परिचालन गरिएको छ भने सम्भावित आगलागी रोक्न केही भवनहरूमा ग्याँस आपूर्ति बन्द गरिएको छ ।
भूकम्पका कारण बिजुली र दूरसञ्चार पूर्वाधारमा क्षति पुग्दा धेरै क्षेत्रमा इन्टरनेट सेवा ठप्प भएको छ । यसैबिच मेक्सिको, ब्राजिल, बोलिभिया र एल साल्भादोर लगायतका लेटिन अमेरिकी देशहरूले भेनेजुएलाप्रति ऐक्यबद्धता र समवेदना प्रकट गरेका छन् ।




