१ चैत , काठमाण्डौ।
उपभोक्ता अधिकार संरक्षण, सम्बद्र्धन तथा जनचेतना अभिवृद्धिमा सञ्चार माध्यममार्फत पु¥याएको योगदानको कदर गर्दै नेपाल टाइम्स मिडिया नेटवर्क प्रा.लि.की पत्रकार संचिता श्रेष्ठलाई सम्मान गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता अधिकार संरक्षण, सम्बद्र्धन तथा जनचेतना अभिवृद्धिमा सञ्चार माध्यममार्फत पु¥याएको योगदानको कदर गर्दै नेपाल टाइम्सकर्मी श्रेष्ठलाई आज प्रशंसा–पत्रसहित सम्मान गरेको हो ।

विश्व उपभोक्ता अधिकार दिवस २०२६ को अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले प्रशंसा पत्र हस्तान्तरण गरे ।

कार्यक्रममा संचितासँगै राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल मर्हजन, उपभोक्ता संरक्षणमञ्चका प्रतिनिधि ज्योति बानिया, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधि माधव तिम्सिना ,नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण मञ्चकी अप्सरा कोइराला , कन्जुमर आई नेपाल, उपभोक्ता जागरण नेपाल , सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, उपभोक्ता जागरण तथा हित संरक्षण मञ्च लगायतलाई पनि उपभोक्ता सचेतना क्षेत्रमा पुर्याएको योगदानका लागि प्रशंसापत्र,खादा र मायाको चिनो सहित सम्मानित गरिएको छ ।

विभागले सञ्चार माध्यमको सक्रियताले उपभोक्ता अधिकार संरक्षण र जनचेतना विस्तारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रयासलाई निरन्तरता दिने अपेक्षा गरेको जनाएको छ। कार्यक्रममा ग्यास आपूर्तिमा आएको समस्या तथा वर्तमान समयमा आम उपभोक्ताहरुले भोग्नु परेको समस्याको बारेमा पनि चर्चा गरिएको थियो ।

अधिकारकर्मी वक्ताहरुले व्यापारीहरुलाई भन्दा पनि उपभोक्ता अधिकारकर्मीहरुलाई पछाडि राखिएको भन्दै छाँयामा पारिने प्रवृतिको अन्त्य गर्नुपर्ने माग गरेका थिए । मुल्यवृद्धि नियन्त्रण गर्न थप पहल गरी आमनागरिकहरुले ग्यास , पेट्रोल जस्ता दैनिक उपभोग्य वस्तुहरु खरिद गर्न घण्टौ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न उपभोक्ता अधिकारकर्मी माधव तिम्सिनाले सरकार समक्ष माग गरे ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सिन्हाले छोटो समयको आफनो कार्यकालमा आफुले उपभोक्ता हकहितका निम्ति न्याय हुने कार्य गरेको बताए । कार्यक्रममा हरेक वर्ष झै यसपटक पनि “स्वच्छ बजार” नामक पुस्तिका (वर्ष ४ अङक १) बिमोचन गरिएको छ । “सुरक्षित उत्पादन, सचेत उपभोक्ता र जिम्मेवार प्रशासन“ भन्ने नारा सहित विश्व उपभोक्ता अधिकार दिवस, २०२६ आज नेपालसहित विश्वभर मनाइदै छ।