३ चैत , काठमाण्डौ ।
इरान र इजरायल–अमेरिका गठबन्धनबीच चलिरहेको युद्धलाई तीन हप्ता पूरा भएको छ। यस युद्धमा दुवै पक्षलाई ठूलो क्षति पुगेको छ, विशेषगरी इरानमा ठूलो नोक्सानी भएको बताइएको छ। यसको प्रतिकारमा इरानले खाडी राष्ट्रहरुलाई निशाना बनाएको छ । यसबीच तेहरानले मुस्लिम विश्वसँग ६ प्रश्न उठाएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले विश्वभरका मुस्लिम र इस्लामिक देशका सरकारसँग समर्थन मागेका छन्। उनले छ बुँदे खुला पत्र सार्वजनिक गर्दै खाडी क्षेत्रका इस्लामिक सरकारहरूको आलोचना गरेका छन् र इरानी जनताले उनीहरूबाट सहयोग नपाएको बताएका छन्।
लारिजानीले पत्रमा लेखेका छन् कि वार्ता चलिरहेको समयमा इरानमाथि अमेरिका–इजरायल गठबन्धनले धोकेपूर्ण आक्रमण गरेको थियो, जसको उद्देश्य इरानलाई कमजोर बनाउनु थियो। उनका अनुसार यस आक्रमणमा इस्लामिक क्रान्तिका महान नेतासहित धेरै सर्वसाधारण नागरिक र सैन्य कमाण्डरको मृत्यु भयो। तर त्यसको जवाफमा इरानी जनताले राष्ट्रिय र इस्लामिक प्रतिरोध देखाएको उनले बताएका छन्।
उनले भनेका छन् कि केही अपवाद बाहेक कुनै पनि इस्लामिक सरकारले इरानलाई सहयोग नगरेको बताए पनि इरानी जनताले दृढ संकल्पका साथ शत्रुलाई सामना गरेको बताएका छन्। इरानी जनताको साहसका कारण शत्रु अहिले रणनीतिक गतिरोधबाट कसरी बाहिर निस्कने भन्नेमा अन्योलमा परेको उनले उल्लेख गरेका छन्।
लारिजानीले इरान अमेरिका र इजरायलविरुद्धको प्रतिरोधको मार्गमा निरन्तर अघि बढिरहने बताएका छन्। उनले चुप बसेका इस्लामिक सरकारहरूलाई प्रश्न गर्दै यदि एक मुसलमानले अर्को मुसलमानको पुकार सुनेर पनि साथ नदिए त्यो कस्तो इस्लाम हो भन्ने प्रश्न उठाएका छन्।
उनले केही देशहरूले आफ्ना भूमिमा रहेका अमेरिकी सैन्य अड्डालाई इरानले निशाना बनाएको भन्दै तेहरानलाई शत्रु ठहर गरेको आरोप पनि लगाएका छन्। उनले प्रश्न गर्दै भनेका छन् कि यदि ती अड्डाबाट इरानमाथि आक्रमण भइरहेको छ भने इरान चुप बसेर हेर्नुपर्छ र?
उनका अनुसार यो संघर्षमा एकतर्फ अमेरिका र इजरायल छन् भने अर्को तर्फ इरान र प्रतिरोधका शक्तिहरू रहेका छन्, त्यसैले इस्लामिक देशहरूले आफू कुन पक्षमा छन् भन्ने स्पष्ट गर्नुपर्ने बताएका छन्। लारिजानीले इस्लामिक विश्वको भविष्यबारे सोच्न आग्रह गर्दै अमेरिका कुनै पनि इस्लामिक देशप्रति वफादार नहुने र इजरायल इस्लामिक विश्वको शत्रु भएको दाबी गरेका छन्।
उनले इरानले अन्य इस्लामिक देशहरूमाथि प्रभुत्व जमाउने उद्देश्य नभई उनीहरूको हित चाहेको बताएका छन्। लारिजानीले पत्रमा भनेका छन्, “के इरानले यो स्वीकार गर्नुपर्छ कि तपाईंका देशहरूमा रहेका अमेरिकी अड्डाबाट इरानमाथि आक्रमण होस् ?” उनले इस्लामिक देशहरूलाई स्पष्ट सन्देश दिँदै लेखेका छन्, “इरान तपाईंहरूको सहयोगी हो र तपाईंमाथि प्रभुत्व जमाउने कुनै उद्देश्य छैन। तर अन्ततः तपाईंहरू कसको पक्षमा हुनुहुन्छ?”
पत्रको अन्तिम बुँदामा उनले इस्लामिक उम्माहको एकताले सबै राष्ट्रका लागि सुरक्षा, प्रगति र स्वतन्त्रता सुनिश्चित गर्न सक्ने बताएका छन्। इरानका पूर्व सर्वोच्च नेता अली खामेनीको मृत्युपछि अमेरिका र इजरायलको निशानामा देखिएका नेतामध्ये अली लारिजानी पनि प्रमुख नाम मानिन्छन्। अमेरिकी विदेश मन्त्रालयले उनको जानकारी दिने व्यक्तिलाई १० लाख डलर इनाम दिने घोषणा गरेको छ।
लारिजानी अहिले तेहरानको सत्तामा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिका रूपमा चिनिन्छन्। अर्काेतर्फ होर्मुज जलडमरूमध्य वरिपरि उत्पन्न तनावले विश्वभरि ऊर्जा संकट बढाएको छ। सुरक्षा विश्लेषकहरूले चेतावनी दिएका छन् कि ईरान र अमेरिकी नौसेना बीच कुनै पनि द्वन्द्वले विश्वव्यापी व्यापार र ऊर्जा बजारका लागि महँगो र विनाशकारी संघर्ष सिर्जना गर्न सक्छ।
ईरानले अब होर्मुज जलडमरूमध्य खोल्न अमेरिकी पक्षमा केही शर्तहरू राखेको छ, जसमा उसमाथि लागेको प्रतिबन्ध हटाउने, अमेरिकी सेनाको फिर्ती, जफत गरिएका सम्पत्तिहरूको फिर्ता र गैर–डलर कारोबारलाई अनुमती दिने कुरा समावेश छ।
तस्लीम न्यूज एजेन्सीका अनुसार, ईरानद्वारा होर्मुज जलडमरूमध्य खोल्ने सम्भावित शर्तहरू यस प्रकार छन्ः
- प्रतिबन्ध हटाउने सुनिश्चितता
2. अमेरिकी सैन्य अड्डाहरूको फिर्ता
3. जफत गरिएका सम्पत्तिहरूको फिर्ता
4. गैर–डलर व्यापारको विकास
5. अन्तिम उद्देश्यः मध्यपूर्वमा नयाँ व्यवस्था स्थापना गर्नु हो।
पश्चिम एशियामा ईरान र अमेरिका–इजरायल बीच १७ दिनदेखि युद्ध जारी रहदा खाडी राष्ट्र निशानमा पर्ने क्रम भने जारी छ। संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित शाह तेल तथा ग्यास क्षेत्रमा ड्रोन आक्रमणपछि आगलागी भएको छ। अबुधाबी मिडियाका अनुसार सोमबार भएको उक्त घटनामा अहिलेसम्म कुनै मानवीय क्षति नभएको जानकारी दिइएको छ।
आगलागी नियन्त्रणमा लिन सम्बन्धित निकायहरू परिचालन गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। शाह तेल तथा ग्यास क्षेत्र विश्वकै ठूला ग्यास क्षेत्रहरूमध्ये एक मानिन्छ। यो क्षेत्र अबुधाबी शहरबाट करिब १८० किलोमिटर दक्षिण–पश्चिममा अवस्थित रहेको बताइएको छ।
संयुक्त अरब इमिरेट्स (युएई)ले इरानी क्षेप्यास्त्र र ड्रोनहरूको जवाफ दिइरहेको बताएको छ । युएईको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोनहरूको प्रतिकार गरिरहेको बताएको हो । अधिकारीहरूका अनुसार इरानबाट आउने क्षेप्यास्त्र र ड्रोनहरूलाई रोक्न वायु रक्षा प्रणाली सक्रिय पारिएको छ ।
साथै, शहरका विभिन्न क्षेत्रहरूमा सुनिएका ठूला विस्फोट जस्ता आवाजहरू वायु प्रतिरक्षाले मिसाइल र ड्रोनहरूलाई सफलतापूर्वक खसालेको परिणाम रहेको मन्त्रालयले जनाएको छ । मध्यपूर्वमा जारी तनावमा इरानले धेरै खाडी देशहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेको छ ।
