१५ असार , काठमाण्डौ।
बढी फल्ने, बढी चल्ने र बढी कमाइने लोभमा स्थानीय रैथाने जातको धानको खेती छाडेर उन्तत अर्थात हाइब्रिड जातको धानको खेतीमा लागेका किसानहरु पुनः रैथाने धानको खेतीतर्फ नै फर्किन थालेका छन् । आफ्नै माटोसँगको सम्बन्ध, आफ्नै हावापानीसँगको आत्मीयता,मिठास, स्वास्थ्यवद्र्धक र गुनिलो मात्र नभइ जलवायु परिवर्तनको असरले पनि प्रभाव पार्न नसक्ने देखिएपछि विर्सिएका पुराना जातका धानको बीउ खोज्दै किसानहरु राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) पुग्न थालेका छन् ।
देशैभरबाट स्थानीय अर्थात रैथाने जातका धानको खेती लगभग लोप हुने अवस्थामा पुगेको थियो । विक्रम सम्वत २०७० को सुरुवातदेखि मौलाएको हाइब्रिड जातको धानको हमला नेपाली खेतीहरुमा अब आएर घटन थालेको छ । पूर्वी नेपालका झापा, मोरङ,सुनसरी र मध्य तराईका अधिकांश जिल्लामा अझै पनि हाइब्रिड जातको धानको खेती बढी हुने गरेपनि पश्चिम तराईदेखि मध्य पहाडी हुँदै उच्च पहाडी क्षेत्रमा रैथाने जातको धानको खेती नै फर्किएको छ ।
कालानमक, गौरिया, आपभुक्ते, झिनुवा, रातो अनदी, थापाचिनी र स्यामजिरा, जोराइली, मोटो जर्नेली लगायतका स्थानीय जातका धान संकट नजिक पुगे पनि अहिले भने नेपाली खेतहरु देखिन थालेको छ । यस बर्षमात्र राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) मा ८ सय भन्दा बढी किसान रैथाने जातको धानको विउ खोज्दै आइपुगेको जिन बैंकका सूचना अधिकारी डा.मुकुन्द भट्टराईले नेपाल टाइम्सलाई बताए ।
रैथाने जातको धानको विउ खोज्दै आउनेमा अहिले स्थानीय तहका जनप्रतिनिधिहरु पनि उल्लेख्य रहेको जानकारी दिदै भट्टराईले केही बर्ष भित्र देशमा पुनः आफ्नै जातको धानको बाला झुल्ने अवस्था देखिएको बताए । यति मात्र नभइ जलवायु परिवर्तनको असर हाइब्रिड जातको धानमा बढी देखिएको तर स्थानीय जातका धानमा असर कम परेको पाइएको पनि भट्टराईको भनाइ छ ।
पछिल्लो समय किसानहरु रैथाने जातको धानमा आकर्षित हुनुको महत्वपूर्ण कारण पनि यही हो । सरकारले पनि यसपटकको २३ औं राष्ट्रिय धान दिवस एवं रोपाईँ महोत्सव २०८३ को मुख्य नारा ‘जलवायुमैत्री प्रविधि,धानमा आत्मनिर्भरता र समृद्धि’ तय गरेको छ । जलवायु परिवर्तनको असरले नेपालको हरेक क्षेत्रमा चौपट असर पार्दै गर्दा मुलुकको मुख्य बाली धान खेतीको सुरक्षा पनि उत्तिकै चासो बढेको छ ।
जलवायु परिवर्तनको असरकै कारण सरकारले अहिले आकाशे पानीमा निर्भर अर्थात सुख्खा क्षेत्रमा हुने गरी सुख्खा १, सुख्खा २ देखि सुख्खा ६ का साथै अध्याधिक सुख्खा सहन सक्ने राधा ४ जस्ता उन्नत जातका विभिन्न हाइब्रिड धानखेती गर्न सिफारिस गरेको छ । तर जलवायु परिवर्तनको असरले अति बढी प्रभाव पारे धान खेती छाडेर कोदो खेती गर्न पनि सरकारले सुझाएको छ ।
जस अनुसार कोदोको विउ पनि सरकारले नै उपलब्ध गराउन थालेको छ । जसको कारण अहिले तराईका कतिपय ठाउँमा पनि कोदो खेती सुरु गरिएको छ । जलवायु परिवर्तनले विश्वव्यापीरुपमा असर पार्दा पनि संसारभरका कोदो खेतीमा भने कुनै असर पार्न सकेको छैन ।
त्यसमाथि कोदोमा रहेका पौष्टिक तत्वको प्रभावको चर्चा अहिलेको विश्व भर बढ्न थालेपछि संयुक्त राष्ट्रसंघकै पहलमा जुलाई ६ का दिन विश्व कोदो दिवस मनाउने चलन पनि सुरु भएको छ । अहिले जिन बैंकमा नेपालका बिभिन्न परम्परागत बालीका १८ हजार बढी रैथाने जातको विउ संरक्षित छन् ।

जहाँ धानको मात्र रैथाने जातको विउको संख्या २ हजार ८ सय ५० छन् । जिन बैंकमा संग्रहित बिभिन्न बालीका विउले नेपालको परम्परागत कृषिलाई बचाएर मात्र राखेको छैन । हरेक बर्ष उत्पादन, प्रभाव र असरमा पनि उत्तिकै ध्यान पुर्याउँदै अध्ययन गर्दैै आएको छ ।
थारु समुदाय बहुल रहेको पश्चिम नेपालको तराईमा अनदी जातका धानको खेती पुनः सुरु गरिएको छ । थारु समुदायको संस्कृति र संस्कारमा पनि यही जातको धान र यस्को चामलको प्रयोग हुने गरेकोले पनि यस्को खेती फर्किएको हो । केही समय कम भूभागमा मात्र सीमित भएको अनदी धानको खेती अहिले बाँके,बर्दियादेखि पश्चिम तराईमा पुनः पुरानै शैलीमा फर्किएको छ ।
जनसंख्या बढे पछि बजारको माग धान्न, धान बेचेर राम्रो आम्दानी गर्न, उही मेहनतमा बढी फलाउन र बढ्दो आयातलाई प्रतिस्थापन गर्न सकिने कारण पनि किसानहरूले रैथाने जातका धानको खेती छाडेर हाइब्रिड जातका धानखेती गर्न थालेका थिए । त्यसमाथि रैथाने जातको धानको बजार मूल्य अन्य धानको तुलनामा धेरै बढी छ ।
तर उत्पादन कम हुने भएकाले विभिन्न जिल्लाका किसानले स्थानीय जातका धानको खेती गर्न छाडेका थिए । रैथाने जातका धानहरू प्रति हेक्टर ३ मेट्रिक टनसम्म उत्पादन हुँदा उन्नत एवं हाइब्रिड जातका धानहरू प्रति हेक्टर ५ मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ ।
यद्धपि स्थानीय जातको धानको स्वाद हाइब्रिडमा नपाइएपछि घरमा खानका लागि मात्र भएपनि रैथाने जातको धानको खेती हुन थालेको थियो । रैथाने जातको धान मसिनो, बास्नादार र स्वादिलो भएका कारण झिनुवा, रातोअनदी, थापाचिनी, स्यामजिरा, कालानमक र मसिनो बासमती जस्ता स्थानीय जातको चामल उपभोक्ताबीच निकै लोकप्रिय छ ।
यतिमात्र नभइ कर्णालीका हिमाली जिल्लामा हुने मार्सी जातको धानको चामल अहिले मुलुकमा लोकप्रिय छन् । विक्रम सम्वत २०७० देखि नेपालमा उन्नत जातको धानको खेती गर्न चलन ह्वात्तै बढेको थियो । जसको कारण तराई भेगमा करबि ७४, मध्य पहाडी क्षेत्रमा ३० र उच्च पहाडी क्षेत्रमा १० प्रतिशत उन्नत जातका धानको खेती हुन थालेको थियो ।
वर्षेनी नयाँ र उन्नत जातका धानखेती गर्ने क्रम बढ्दै गएपछि धानका रैथाने जातहरू संकटमा पर्ने खतरा बढ्दै गएको थियो । तर अवस्था अहिले आएर त्यस्तो नरहेको जिन बैंकका सूचना अधिकारी मुकुन्द भट्टराईले नेपाल टाइम्सलाई बताए । उत्पादनमा देखिएको बढोत्तरी र बजारका कारण यसले केही समय राम्रो प्रभाव पारेपनि रैनाथे जाताको धानमा पाइने गुण नभेटेपछि उन्नत जातको धानको खेती विस्तारै कम हुँदै गएको भट्टराईको दाबी छ ।
यस्तै सुदूरपश्चिमको वैतडीदेखि अन्य भेगिय क्षेत्रमा शालीधान जातको खेती फेरि फर्कदै गर्दा रुपन्देहीलगायतको तराई क्षेत्रमा परम्परागत धान कालानमकको खेतीले गति लिएको छ । कालानमक भगवान बुद्धकालीन समयको धान खेती मानिन्छ । जुन नेपालको रुपन्देही, कपिलवस्तुलगायतको क्षेत्रमा २५ सय बर्ष अघिदेखि हुँदै आएको हो ।
मध्य पहाडी र उच्च पहाडी क्षेत्रमा लगभग अधिकांश जिल्लाहरुमा अहिले रैथाने जातको धानको खेती नै बढी हुन थाल्दा काठमाडौं उपत्यकामा भने सरकारी निकायद्धारा सिफारिस गरिएको खुमलटार १, खुमलटार २ र चिउराका लागि ताइचीन जातको धानको खेती बढी हुँदै आएको छ ।
त्यसमाथि मसिनो बासमती, कालानमक र स्यामजिरा जस्ता धानका लागि अन्य जातका धानको तुलनामा धेरै पानी चाहिने र पश्चिम तराईका अधिकांश जिल्लामा पर्याप्त सिँचाइको सुविधा नहुँदा पनि किसानहरु उन्नत जातको धान खेतीतर्फ आकर्षित भएका थिए । तर स्थानीय तहको समेत सक्रियता र संघीय सरकारको पहलमा सिँचाई सुविधाले गति लिन थालेपछि रैथाने जातको धानको खेती फेरि फर्किएको छ ।
स्थानीय जातका रैथाने धानखेतीलाई प्रबद्र्धन गर्नुपर्नेमा कृषि बैज्ञानिकदेखि सरोकारवाला क्षेत्र सबै सहमत छन् । रैथाने स्थानीय जातको धानको चामलको बजारमा माग पनि अहिले अत्यधिक बढेको छ । रैथाने जातका धानमा आफ्नै किसिमका विशेषता रहने भएकोले पनि यसको संरक्षणमा अहिले स्थानीय तहहरु पनि सक्रिय बनेका छन् ।
तर यसको संरक्षण र प्रवद्र्धनका लागि राज्यले ठोस नीति ल्याएर किसानलाई रैथानै धानको उत्पादनमा प्रोत्साहन र अनुदानको पनि व्यवस्था गरिए लोपोन्मुख अवस्थामा पुगेको यो धानको संरक्षणमा बल पुग्छ । जसले माटोसँग जोडिएको मौलिकतालाई मात्र मर्न दिने छैन, परम्परागत बालीको इतिहास पनि सुरक्षित गर्नेछ । ०००




