१४ असोज , काठमाण्डौ।
यही असोज ८ गतेयता देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा परेर ३५ जनाको मृत्यु भएको छ । यसअवधिमा विपद्मा परेर १२ जनाभन्दा धेरै हराइरहेका प्रहरीले जनाएको छ । मनाङमा हिमपहिरोमा परेर १२ जना हराइरहेका छन् ।
अविरल वर्षापछिको बाढी, पहिरोमा परेर चार दिनमै ३५ जनाले ज्यान गुमाएका हुन् । यस अवधिमा बागलुङमा सबैभन्दा धेरै १२ को मृत्यु भएको छ । त्यसैगरी म्याग्दीमा सात, पाल्पामा पाँच, मनाङमा चार, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक–एक जनाको मृत्यु भएको छ ।

विपद्का घटनामा परेर १५ जना घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता अविरल वर्षापछि घट्टेखोलाको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मस्र्याङ्दी नदी अझै पनि पुलको दायाँ र बायाँबाट बगिरहेको छ ।
नदीले पुलको माथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बगे पनि हालसम्म तालकै रूपमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने, “एक्साभेटरले दुवैतर्फबाट काम गरिरहेको छ, इन्धन ल्याउन सहज छैन । नेपाली सेनाको हेलिकप्टरमार्फत इन्धन ल्याएर काम भइरहेको छ ।”
हाल त्यस क्षेत्रमा विज्ञहरुको परामर्शमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारको समन्वयमा काम भइरहेको उनले जानकारी दिए । स्थानीय तहमा उपलब्ध एक्साभेटरलगायतका सामग्री प्रयोग गरी तालको बहवलाई सञ्चालन गर्न कोसिस भइरहेको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।
“नदीको बहाव र जोखिमलाई ध्यानमा राखेर छेउको भागबाट काम गरिरहेका छौँ”, अध्यक्ष घलेले भने, “आम नागरिकको हितका लागि दिनरात नभनी काम गरिरहेका छौँ ।” उनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेपछि त्यस क्षेत्र वरपरका केही घर डुबानमा परेका छन् ।
लमजुङ हिमालबाट उत्पत्ति हुने घट्टेखोलाको बाढी र पहिरोका कारण त्यसमा विद्युत् र खानेपानी आपूर्ति, टेलिफोन, इन्टरनेट र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध छ । यसैबीच मस्र्याङ्दीको बाढीले नासोँ गाउँपालिका–८ र ९ वडा जोड्ने पुल बगाएपछि स्थानीयलाई आवतजावतमै समस्या परेको छ ।
स्थानीयका अनुसार ताचैबासी सडक सञ्चालबाट अहिले अलग भएको अवस्था छ । विगतमा तीनतिरबाट त्यहाँ आवतजावत गर्न मिल्थ्यो । पछिल्ला दिनमा त्यस क्षेत्रका घोडेटो, गोरेटो र मोटरबाटो बाढी पहिरोले क्षति पुर्याएको छ । गाउँमा कसैलाई आकस्मिक रूपमा कहीँकतै जानुपर्यो भने अहिले त्यो सम्भव छैन ।
नासोँ–८ का वडाध्यक्ष याद घले भने, “गाउँबाट आवतजावत गर्ने सबै बाटो बाढी र पहिरोले बगाएपछि अन्य गाउँसँगको सडक सम्पर्क टुटेको छ । म आफैँ पनि वडाकै नेतृत्वमा छु । तर, आवश्यक स्रोतसाधन अभावले केही काम नै गर्न सकिएको छैन ।”
उता महाकाली नदीको बाढीले आज बिहान कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने झोलुङ्गे पुल भत्काएको छ। नदीको बीच भागमा रहेको एक पिलर भत्किएपछि पुलको भाग पनि नदीमा बगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुलको दोधारा–चाँदनीतर्फको तेस्रो स्पानमा क्षति देखिएको हो ।
करिब डेढ किलोमिटर लामो यो झोलुङ्गे पुल दोधारा–चाँदनीका बासिन्दाका लागि लामो समयदेखि आवागमनको महत्वपूर्ण माध्यम रहँदै आएको छ। महाकाली नदीमाथि बनेको यो पुल एसियाकै दोस्रो लामो पुल हो। यसको लम्बाइ १ हजार ४५२ दशमलव ९६ मिटर रहेको छ ।
दोधारा चाँदनी नगरपालिका–४ स्थितमा महाकाली नदिमा रहेको झोलुङ्गे पुलको दोधारा तर्फको ५–६ मिटर बिचको भाग माथी उठेर बिहान आवतजावतमा समस्या भएको थियो। लगत्तै पुलको पिल्लर समेत भत्किएर पुल भाँचिएको प्रहरीले जनाएको छ। पुल चुँडिएपछि आवातजावत ठप्प भएको छ ।
यो झोलुङे दोधारा चाँदनीलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्ने पुल हो। हाल महाकालीमा पक्की पुल पनि निर्माण भएको छ। विगतको तुलनामा झोलुङे पुल भन्दा पक्की भएर नै आवतजावत गर्ने गरिएको छ। वर्षौँअघि निर्माण भएको झोलुङे पुल जीर्ण बन्दै गएको थियो ।
यता रसुवा बाढीमा घाइते भएकामध्ये पाँच जना अझै अस्पतालमा उपचाररत छन् । बाढीमा परेर घाइते भएकामध्ये ३०३ जना उपचारपछि डिस्चार्ज गरिएको र अझै पाँच जनाको उपचार भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।
उनीहरूमध्ये तीन जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा र दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाढीमा घाइते भएका ३४४ जनाको रसुवा, नुवाकोटसहित काठमाडौंका गरी विभिन्न १९ वटा अस्पतालमा उपचार गरिएको थियो ।
रसुवा बाढीमा परेर अहिलेसम्म १ हजार ४५३ जनाको ज्यान गएको छ, जसमध्ये चार जनाको अस्पतालमा ल्याइसकेपछि मृत्यु भएको हो । बाढीमा परेका ५ हजार २८५ जना बेपत्ता छन् ।


