१९ असार , काठमाण्डौ।
अमेरिकी सेनामा प्रमोसन पाएपछि नयाँ जिम्मेवारी सुरु गरेका एक नेपाली युवाको केही दिनमै गोली लागेर मृत्यु भएको छ। परिवारले दुर्घटना भएको जानकारी पाएको छ, तर आधिकारिकता अझै सार्वजनिक भएको छैन। प्रमोसनको खुसी मनाएर केही दिनअघि मात्रै परिवारसँग घुमेका २४ वर्षीय नेपाली युवा सैन्य क्याम्पमा फर्किएकामा गोली लागेर मृत्यु भएको छ।

नेपालको ताप्लेजुङमा घर भएका २४ वर्षिय सुशील थापाको दुई दिनअघि निधन भएको हो । उनी अमेरिका निवासी समाजसेवी हेम थापा र माया थापाका कान्छा छोरा हुन् । उनको हालैमात्र अमेरिकाकी सेनामा पदोन्नति भएका थिए । थप तालिमका क्रममा दुर्घटनाबस चलेको गोली टाउकोमा लागेको पारिवारिक स्रोतले बताए पनि आधिकारिक पुष्टि भएको छैन ।
घटनाका विषयमा परिवारका सदस्यसँग कुराकानी गरेका पत्रकार एचबी ताम्राकारले परिवारले शव प्राप्त नगरिसकेको बताएका छन् । उनले थापालाई उदृत गर्दै भने, ‘जागीरमा प्रमोसन भएकाहरूलाई नयाँ हतियार दिइएको रहेछ । त्यसको तालिमका क्रममा साथीको बन्दूकबाट चलेको गोली छोरोको कन्चटमा लागेको भन्ने जानकारी पाएका छौँ । अहिलेसम्म हामीलाई शव दिइएको छैन ।’

उनले कानूनी प्रक्रिया पूरा नभएकाले शव प्राप्त नभएको पनि बताएका छन् । प्रमोसनपछि केही दिन बिदा लिएर सुशीलले परिवारसँग घूमघाम गरेका थिए । छुट्टी सकिएर फेरि जागीर सुरु गरेको केही दिनमा नै यस्तो घटना भएको हो ।
छोराको निधनपछि हिजो हेम थापाले फेसबुकमार्फत आफूभित्रको वेदना पोखेका छन् । उनले लेखेका छन्, ‘जीवनको सबैभन्दा दुखद घडी‘। मेरो जीबनमा नसोचेको भयो । मेरो र मेरा परीवारको खुसी शत्रुले मात्र हैन भगवानले सम्म देख्न सकेन् ‘। कति मार्नुछ मार भगवान‘ जिउँदो लास भएर बाचेकै हो ।। अझै बाँचुला।। सहुँला।। ’ ‘छोरोको कसैसित दुस्मनी थिएन, जानजान गोली हानिएको हो जस्तो लाग्दैन, घटनाको छानबिनपछि सत्यतथ्य बाहिर आउला,’ हेमको भनाइ उदृत गर्दै उनले थपे ।

हेम थापाको परिवार २२ वर्षअघि अमेरिका गएको हो । माओवादी जनयुद्धका बेला तीनपटक अपहरण परेका थापा भागेर इजरायल गएका थिए । त्यहाँ दुई वर्ष बिताएपछि अमेरिका गएका हुन् । अमेरिकामा शरणार्थीका रूपमा बसेका उनी उबर चलाउने गर्थे । उनकी पत्नी माया व्यवसाय गर्छिन् ।

थापा दम्पतीले अमेरिकामा कमाएको पैसाको ठूलो हिस्सा नेपालमा समाजसेवामा खर्च गर्ने गरेको छ । अहिलेसम्म २० करोडभन्दा बढी विभिन्न सेवामुलक कामका लागि नेपाल पठाइसकेको उनीहरूले बताउने गरेका छन् । थापा दम्पतीका दुई छोरा र एक छोरी छन् । जेठा छोरा सुशील र छोरी तुलसा डाक्टर हुन् ।





