१९ चैत , काठमाण्डौ।
चन्द्रमाको सतहमा मानव पाइला परेको झन्डै ५४ वर्षपछि मानिस पुनः चन्द्रमाको यात्रामा निस्किएका छन् । सन् १९७२ को ‘अपोलो १७’ मिसनपछि मानिस पहिलोपटक पृथ्वीको तल्लो कक्षभन्दा धेरै टाढा गहिरो अन्तरिक्षमा निस्किएका हुन् । अर्थात ५४ वर्षपछि फेरि एकपटक चन्द्रमा मानव मिसनको दिशामा नयाँ अध्याय सुरु भएको छ ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पहिलो मानव मिसन आर्टेमिस–२ नेपाली समयअनुसार बिहीबार बिहान ३ः५० बजे फ्लोरिडाबाट सफलतापूर्वक लन्च भएको हो । यो मिसनमा क्रिस्टीना कोच, भिक्टर ग्लोभर, रिड वाइसम्यान र जेरेमी हेन्सेन सवार छन्, जसलाई एसएलएस रकेटमार्फत अन्तरिक्षमा पठाइएको छ ।
यो १० दिनको यात्राले अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीबाट करिब ४.०६ लाख किलोमिटर टाढासम्म लैजानेछ, जुन हालसम्मकै सबैभन्दा लामो मानव अन्तरिक्ष यात्रा मानिएको छ । आर्टेमिस–२ मिसनअन्तर्गत अन्तरिक्ष यात्रीहरू चन्द्रमाको नजिकसम्म जानेछन्, तर त्यहाँ अवतरण गर्ने छैनन् । यो एउटा परीक्षण मिसन हो, जसको उद्देश्य भविष्यका चन्द्र अभियानहरूका लागि आवश्यक प्रविधि र क्षमताहरूको परीक्षण गर्नु हो ।
पूरा मिसन करिब १० दिनमा सम्पन्न हुनेछ र अन्तरिक्ष यात्रीहरू चन्द्रमाको परिक्रमा गरी सुरक्षित रूपमा पृथ्वीमा फर्किनेछन् । नासाले सामाजिक सञ्जालमार्फत मानिसहरूलाई यस ऐतिहासिक क्षणको साक्षी बन्न निम्तो दिएको थियो । एजेन्सीले यो मिसन मानिसलाई चन्द्रमा र अझ अगाडि मंगल ग्रहसम्म बसाल्ने दिशामा एउटा ठूलो कदम भएको जनाएको छ ।
नासाको आर्टेमिस–२ मिसन चन्द्रमाको परिक्रमाभन्दा धेरै अगाडिको कथा हो । यसले पहिलोपटक ‘डिप स्पेस’मा मानव शरीरको वास्तविक परीक्षा लिन गइरहेको छ । चार अन्तरिक्षयात्री पृथ्वीको सुरक्षा सीमा बाहिर गएर कश्मिक रेडिएसन र अन्तरिक्षीय चरम परिस्थितिहरूको सामना गर्नेछन्, जहाँ उनीहरूको शरीरमा हुने हरेक परिवर्तनलाई रेकर्ड गरिनेछ ।
१९७२ पछि पहिलोपटक मानिस पृथ्वीको ‘म्याग्नेटिक फिल्ड’ बाहिर जानेछ र यो दुरी हालसम्मको कुनै पनि मानव अन्तरिक्ष यात्राभन्दा बढी हुन सक्छ । यो मिसन आर्टेमिस कार्यक्रमको एउटा महत्त्वपूर्ण हिस्सा हो, जसको दीर्घकालीन लक्ष्य चन्द्रमामा स्थायी मानव उपस्थिति स्थापना गर्नु हो ।
यस मिसनको सबैभन्दा उन्नत प्रयोग ‘अर्गन अन–ए–चिप’ प्रविधि हो । प्रत्येक अन्तरिक्षयात्रीको रगतबाट प्राप्त कोशिकाहरूलाई माइक्रोचिपमा विकसित गरिनेछ । एउटा चिप अन्तरिक्षमा जानेछ र अर्को पृथ्वीमा रहनेछ । मिसनपछि दुवैको तुलना गरेर डीएनए ड्यामेज, टेलोमियरको लम्बाइ र अन्य जैविक सूचकहरूमा कति अन्तर आयो भनेर अध्ययन गरिनेछ ।
यो पहिलोपटक हुनेछ जब यस्तो प्रयोग ‘लो–अर्थ अर्बिट’भन्दा बाहिर गरिँदैछ । यसले भविष्यमा अन्तरिक्ष यात्राको जोखिम पूर्वानुमान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । आर्टेमिस–२ मिसनको लन्चिङ समय हालै केही पटक सारिएको थियो ।
प्रारम्भिक रूपमा यसलाई फेब्रुअरी २०२६ मा लन्च गर्ने योजना थियो, तर प्राविधिक समस्याका कारण ढिलाइ भएको थियो । पछि मार्चका विभिन्न मितिहरूमा ‘लन्च विन्डो’ तय गरिए पनि उडान सम्भव हुन सकेन । अन्ततः निरन्तर परीक्षण र तयारीपछि नासाले अप्रिल १, २०२६ मा लन्च गर्ने तयारी पूरा गरेको हो । यो मिसन अमेरिकाको केनेडी स्पेस सेन्टर बाट प्रक्षेपण गरिएको हो, जुन नेपालमा अप्रिल २ को बिहान परेको छ ।
यदि मौसम वा प्राविधिक कारणले उडान प्रभावित भएको भए, अप्रिल ३ देखि ६ र अप्रिल ३० सम्म वैकल्पिक तालिकाहरू पनि तय गरिएको थियो । मिशन सफल भएपछि ह्यान्सन चन्द्रमा आसपास पुग्ने पहिलो क्यानेडेली बन्नेछन् । यो यान आगामी २४ घण्टासम्म पृथ्वीको कक्ष आसपास नै रहनेछ ।
यसक्रममा वैज्ञानिकहरुले चन्द्रमाको अवस्था नियाल्नेछन् र जानु ठिक भएपछि मात्रै जाने छन् । मिशनका सदस्य सुरक्षित र उच्च मनोबलमा रहेको नासाले जनाएको छ । यस यात्राको पूर्ण अवधि १० दिनको छ । यसक्रममा सुरुमा उनीहरू पृथ्वीको नजिकै घुम्छन् र अवस्था नियाल्छन् । अवस्था ठिक देखिएपछि ठूलो इन्जिन चलाएर चन्द्रमातिर जान्छन् ।
यसलाई “ट्रान्स–लुनार इन्जेक्सन” भनिन्छ, जसले यानलाई ठूलो धक्कासहित पृथ्वीबाट टाढा धकेल्छ । केही मिनेटसम्म यान धेरै छिटो अगाडि बढ्छ । त्यसपछि पृथ्वी र चन्द्रमाको गुरुत्वाकर्षणले यानलाई घुमाएर फेरि पृथ्वीमै फर्काउनुपर्ने अवस्था पनि आउनसक्छ । यदि बीचमा समस्या आयो भने, उनीहरू त्यही बाटो हुँदै सुरक्षित रूपमा फर्किन सक्छन् ।
चन्द्रमाको कक्ष पुग्न करिब ४ दिन लाग्छ । त्यो समयमा अन्तरिक्ष यात्रीहरूले अभ्यास गर्छन्, सुरक्षा अभ्यास गर्छन् । यसमा सूर्यबाट खतरनाक विकिरण आयो भने कसरी जोगिने भन्नेजस्ता विषय छन् । पृथ्वीबाट सबैभन्दा टाढा जाँदा उनीहरू पृथ्वीबाट करिब २३०,००० माइल टाढा पुग्छन् र चन्द्रमालाई यानमार्फत नजिकबाट अवलोकन गर्छन् ।
त्यसपछि यानले सानो–सानो इन्जिन चलाएर फर्कने बाटो मिलाउँछ । फेरि करिब ४ दिनपछि यान पृथ्वीमा फर्किन्छ । फर्कने क्रममा पृथ्वीको वायुमण्डलमा छिर्दा यान धेरै तातो हुन्छ । पछि प्यारासुट खुल्छ र यान बिस्तारै समुद्रमा झर्छ । जहाँ अमेरिकी जलसेनाका सदस्यले यात्रुहरुलाई स्वागत गर्छन् ।
यसअघि पछिल्लोपटक १९७२ चन्द्रमामा एपोलो मिशन १७ यान पुगेको थियो । यस यानमा रहेकामध्ये युजिन कोर्नान र ह्यारिसन समिटले चन्द्रमाको सतहमै पाइला टेकेको थिए । रोनाल्ड इभान्सले यानबाटै चन्द्रमालाई नियाले । चन्द्रमामा अहिलेसम्म १२ जना वैज्ञानिकले मात्रै पाइला टेकेका छन् ।
जुन १९६९ मा पहिलोपटक निल आर्मस्ट्रंगले पाइला राखेका थिए । अहिलेको मिशन चन्द्रमाको कक्ष आसपास नजिकबाट घुम्नेछ । तर वैज्ञानिकहरुले पाइला राख्नेछैनन् । अहिलेको सुरक्षा परीक्षण मिशन सफल भएमा नासाले अर्टेमस थर्ड मिशन गर्नेछ । यसका सदस्यले चन्द्रमामा पाइला राख्ने अवसर पाउनेछन् ।

